दैलेखमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
दैलेखः काफल खान गएको मौका छोपी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको दुल्लु नगरपालिका–९ रोकायबाँडाका २८ वर्षीय तेजबहादुर रोकाय पक्राउ परेका हुन् । गत बिहीबार बालिकालाई बलात्कार गरेको आरोपमा रोकायलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।
डिएसपी श्रेष्ठका अनुसार घरबाट पाँच मिनेटको दूरीमा रहेको जंगलमा काफल खान गएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा रोकायलाई पक्राउ गरिएको हो ।
रोकायले कोही नभएको मौका छोपी बालिकालाई भाग्न नदिइ हातले मुख थुनेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
पीडितको तर्फबाट बालिकाकी आमाले शनिबार नै जहेरी दिएकी छन् । पक्राउ परेका रोकायलाई दैलेख जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी थप अनुसन्धान थालेको डिएसपी श्रेष्ठले जानकारी दिए ।