कैलालीमा पाँच सय बेडको आईसोलेशनको तयारी

कैलालीमा पाँच सय बेडको आईसोलेशनको तयारी

धनगढी : दोस्रो भेरियन्टको कोरोनाले सुदूरपश्चिमका अस्पतालहरु भरिएपछि, कैलालीमा पाँच सय शैयाको आईसोलेशन बनाउने तयारी थालिएको छ। कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजको भवन नवनिर्मित भवनमा ५ सय शैयाको आईसोलेशनको तयारी सुरु गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।

संघीय सरकारले वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिमको महामारीका फोकल पर्सन तोकेपछि, सोमबारदेखि नै आईसोलेशनका लागि तयारी थालिएको हो। मन्त्री लेखराज भट्ट सोमबार बिहान धनगढी आएका छन। 

उनले गेटा मेडिकल कलेजको नवनिर्मित भवनको निरीक्षण गरी त्यहाँ तुरुन्तै पाँच सय शैयाको आईसोलेशन सेन्टर स्थापना गरिने बताए। जिल्ला कोभीड संकट व्यवस्थापन समिति (डीसिसिएमसी) को मातहत रहने गरी पाँच सय शैयाको आईसोलेशन निर्माण हुन लागेको हो।

गेटा मेडिकल कलेजमा तीन सय शैयाको अस्पताल र कलेज भवनको निर्माण अन्तिम चरणमा छ। त्यहाँ खानेपानी र विद्युतको आपुर्ति गर्ने बित्तिकै त्यसलाई आईसोलेशनका रुपमा सञ्चालनमा ल्याउन सकिने देखेर सरकारले मेडिकल कलेजको भवन रोजेको हो। 

कैलालीको गोदावरी नगरपालिकामा पर्ने उक्त मेडिकल कलेजमा स्थापना हुने आईसोलेशनको व्यवस्थापनको जिम्मा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई दिइनेछ। ‘त्यहाँको सबै ब्यवस्थापन धनगढी र गोदावरीले गर्ने गरी छलफल भएको छ, दुबै स्थानीय तहका मेयर सापहरु पनि त्यसका लागि तयार छन्, सोमबारको छलफलमा उनीहरुले युद्धस्तरमा काममा खटिने जनाएका छन्’ वाणिज्य तथा आपुर्ति मन्त्रीका स्वकीय सचिव हितेश ओझाले भने।

मन्त्री भट्टले नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई सोमबार बोलाएर त्यहाँ तुरुन्त विद्युत आपुर्तिका लागि निर्देशन दिए। खानेपानी लागि पनि नजिकै पुगेको अत्तरिया खानपानीको पाइपलाइन जोडिने भएको छ। आईसोलेशन सेन्टरका लागि चाहिने आईसीयु, भेन्टीलेटर, शैयाहरु, अक्सिजन जस्ता सामाग्रीको तुरुन्त सप्लाईका लागि एक्सन टीम बनाएर काम गरिने स्वकिय सचिव ओझाले बताए। ‘मंगलबारसम्म यी सबै उपकरणको ईष्टीमेट आउँछ, त्यसमध्ये नेपालमा उपलब्ध भएका र बाहिरबाट मगाउने उपकरणहरुका बारेमा पनि पहल हुन्छ’ ओझाले भने।

मन्त्री लेखराज भट्टले संघीय अर्थमन्त्री, शिक्षा तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग यसबारेमा छलफल भइसकेको बताए। शिक्षा मन्त्रालयले डीसिसिएमसीलाई आईसोलेशन अवधिका लागि मेडिकल कलेजको भवन प्रयोग गर्ने स्वकृति दिई सकेकोछ।‘स्वास्थ्य मन्त्रालयले आईसोलेशनमा चाहिने चिकित्सकहरुको व्यवस्थापन गर्छ, त्यहाँका लागि छुट्टै स्वास्थ्यकर्मीको टीम हुन्छ, स्टाप नर्ससहितका प्यारामेडिक स्टापका लागि गोदावरी नगरपालिका र धनगढी उपममहानगरपालिकाले करार सेवामा लिने गरी तयारी गरेका छन्’ मन्त्री भट्टले भने। 

कैलालीको गेटा मेडिकल कलेजमा छलफलमा वाणिज्य तथा आपुर्ति मन्त्रीसहित स्थानीय तह, प्रशासन र सुरक्षा निकायका पदाधिकारी।

भारतमा कोरोनाको दोस्रो भेरियन्ट फैलिएसँगै सुदूरपश्चिममा पनि कोरोनाको संक्रमण तीब्र रुपमा फैलिएको छ। हरेक दिन अनुपातमा अढाई/तीन सय जनामा कोरोना पोजेटिभ देखिरहेको छ। 
सुदूरपश्चिममा सोमबारसम्म पीसिआर प्रविधि र एन्टीजेनबाट परीक्षण गरिएका झण्डै चार हजार सक्रिय संक्रमित छन्। सोमबारसम्म कोरोनाका कारण सुदूरपश्चिममा १२४ जनाको मृत्यु भइसकेको छ। आइतबार बेलुकीसम्म सुदूरपश्चिमका विभिन्न अस्पतालमा ३८१ जना भर्ना भएका छन। 

अहिले सेती प्रादेशीक अस्पताल, महाकाली अस्पताल, टीकापुर, डडेल्धुरा अस्पतालसहित प्रदेशभरीका जिल्ला अस्पतालहरुमा बिरामीहरुको चाप बढी छ। त्यहाँको जनशक्ति, उपलब्ध साधनस्रोतले बिरामीहरुले सहज रुपमा उपचार पाइरहेका छैनन्।

सबैजसो अस्पतालमा अक्सिजनको अभाव भएको छ। सेती प्रादेशीक अस्पताल र महाकाली अस्पतालमा महामारीबाहेकको बेला सामान्य अवस्थामा धान्ने मात्रै अक्सिजन प्लान्ट छन्। ती दुबै प्लान्टले अहिलको महामारीमा बढेको विरामीको चाप धानी रहेको छैन्।

ह्युमानिटि फाउन्डेशनको अक्सिजन सहयोग
सुदूरपश्चिममा सरकारी अस्पतालबाहेक अक्सिजनको एक मात्रै प्लान्ट छ। अहिले प्रदेशभरीका अस्पतालहरुमा कोरोनाका बिरामी भरिएकाले अक्सिजनको अत्यधिक माग छ। होम आईसोलेशनमा बसेका ब्यक्तिहरुले त झन अक्सिजन नै पाइरहेका छैनन्। अस्पतालहरुमा पनि अक्सिजन सकिएर बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ।
यही बेलामा धनगढीको मानवसेवामा कार्यरत ह्युमीनिटी फाउन्डेशनले सेती प्रादेशीक अस्पताललाई एक सय थान अक्सिजन सिलेन्डर विरतण गरेको छ। प्रदेश ५ को नेपालगञ्जमा भरेर फाउन्डेशनले अस्पतालाई अक्जिन दिएको हो।

फाउन्डेशनले महाकाली अस्पताललाई ४०, डडेल्धुरा अस्पताललाई १० सिलेन्डर दिन लागेको बताएको छ। भेरी अञ्चल अस्पतालमा पनि विरामीको थेगीनसक्नु भीडभाड भएपछि त्यहाँबाट पनि अक्सिन सप्लाईमा समस्या आएको छ। तर वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले, नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीलाई सुदूरपश्चिमका लागि दैनिक ढाई देखि तीनसय सिलेन्डर अक्सिजनको कोटा निर्धारण अनुरोध गरिएको बताए। 
सुदूरपश्चिममा अहिले दैनिक पाँच सय सिलेन्डर अक्सिजनको खपत छ। नेपालगञ्जबाट दैनिक ढाईसय देखि तीन सय सिलेन्डर अक्सिजन आएपनि बिरामीको चाप बढिरहेकाले त्यो दैनिक जसो कम परिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.