ओत लागेको ढुङ्गाले च्यापेर युवकको मृत्यु
बेनी : आकाशे पानी छल्न ओत लागेको ढुङ्गाले च्यापेर म्याग्दीको बेनी–१ सारेमारेमा एक युवाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
ढुङ्गामा च्यापिएर सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) श्यामकुमार राइले बताए। सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी खसेर च्यापिएका थिए। उनीहरु बालुला लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनी बसेका थिए।
बोगटीको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए।