कोरोना संक्रमणमा ‘बिजनेस’ होमस्टे !

कोरोना संक्रमणमा ‘बिजनेस’ होमस्टे !

नेपालमा अहिले होमस्टे विकासको रहर र लहर उर्लिँदो छ अझ भन्ने हो भने कतिपय जिल्लामा त चुलिँदो छ


यतिबेला हामी ‘कोरोना–कहर’को दोस्रो लहरले गाँजिएका छौं। महामारी नियन्त्रण र जनस्वास्थ्यका सवालले उच्च प्राथमिकता पाउनुपर्ने अवस्था छ। अहिले दैनिकजसो दर्जनौंले ज्यान गुमाउनुपर्ने र हजारौं संक्रमित हुनुपर्ने अवस्था आएको छ। कोरोनाले पूर्वराजा–रानीदेखि मन्त्रीहरू, सांसद, डाक्टर, नर्स, प्राध्यापक, अध्यापक, सेना, प्रहरी, साहित्यकार, पत्रकार, वकिल, इन्जिनियर, ठुला व्यापारी, साना व्यापारी, उद्योगी, मजदुर, किसान, ठेकेदार, पाइलट, ड्राइभर, परिचारक, वृद्धवृद्धा, युवा, बालबालिका आदि कसैलाई छाडेको छैन। पद, उमेर, प्रतिष्ठा, धन, प्रतिभा, योगदान आदि केही भनेको छैन कोरोनाले।

कोरोनाले विश्व नै आक्रान्त छ, भयभीत र त्रसित छ। यो ‘महामरक’ (प्यान्डेमिक) कोरोनाले संसारभर नै आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक आदि विविध क्षेत्रहरू तीव्र ढंगले ध्वस्त बनाएको छ। वातावरणीय हिसाबले कोरोनाले केही ‘सकारात्मक’ प्रभाव पारेको भए पनि अन्य बहुआयामिक क्षेत्रमा अपूरणीय र अभरणीय क्षति पुगेको छ। विश्वबाट कोरोना निमिट्यान्न कहिल्यै होला कि नहोला ? यो संशय र प्रश्न यतिबेला विश्वका सात अर्ब मानिसमा नै रहेको छ। जवाफ दिन सक्ने हालतमा कोही छैन। किनकि पहिलो, दोस्रो, तेस्रो लहर गर्दै यसले अनेक लहर र ‘भेरियन्ट’का रूप धारण गर्दै कहिले कुन गोलाद्र्ध र कहिले कुन गोलाद्र्धमा सताइरहेको छ।

अहिले दक्षिण एसियाली देश (भारत, नेपाल आदि) र दक्षिण अमेरिकी देश (ब्राजिल, मेक्सिको आदि) मा यसले ताण्डव नृत्य देखाइरहेको छ। भारत विश्वमै यतिबेला महापीडामा छ। भारतसँगै नेपालको पीडा पनि कम छैन। दैनिक तीन दर्जनसम्म मानिस मर्ने र सात–आठ हजार जना संक्रमित हुँदै गएको भयावह अवस्थाले हामीलाई भोलिका दिन कस्ता हुने हुन् भन्ने कुराको आँकलन गर्न गाह्रो भएको छ। हामी अनिश्चयको भुमरी र डरको गहिरो पोखरीमा डुबुल्की मार्दैछौं।
नेपाली डाक्टरहरू भनिरहेका छन्, ‘यस्तै (लापर्वाह) स्थिति रहिरहने हो भने अबका एक दुई महिनामा हाम्रो स्थिति पनि भारत, ब्राजिल, मेक्सिको र अमेरिकाको भन्दा फरक हुने छैन।’ हुन पनि हो गएको एक दुई हप्तामा नै कोरोना संक्रमण र मृत्युको ‘ग्राफ’ ह्वात्तै बढेको छ। हेर्दाहेर्दै करिब साढे तीन हजार नेपाली–जनले ज्यान गुमाइसके, संक्रमण हुनेको संख्या पनि साढे तीन लाख पुगिसक्यो। यो ‘ग्राफ’ हरेक दिन अनपेक्षित ढंगले बढ्दै छ। 

कोरोनाका लहरबिचको पर्यटन र होमस्टे
यो डर र लहरबिच पर्यटन र होमस्टेको कुरा गर्नु त्यति ‘सान्दर्भिक’ नहुने पो हो कि भन्ने लाग्दालाग्दै पनि लेख्न मन लाग्यो। यो विषय शीर्षकले मेरो मनमा डेरा जमाएको धेरै हप्ता भइसकेको थियो। कोरोनाको पहिलो लहर सुस्ताएको बेला २०७७ माघ–फागुनदेखि वैशाख पहिलो हप्तासम्म पर्यटनमा देखिएको ‘हरियो बत्ती’ (हरित–दीप) ले सर्वत्र हौसला बढाएको थियो।

विश्वभरि नै चर्चा गर्ने गरिएको ‘न्यू नर्मल’ (नयाँ सामान्य) अवस्था नेपालमा पनि आइसकेको राम्रै भान र अनुभव भइरहेको थियो। अझ भन्ने हो भने कतिपय सन्दर्भमा त ‘कोरोना–सोरोनालाई जितिसक्यौं’ भन्ने पनि लागिरहेको थियो। तर ‘सोचेझैं रैन’छ कोरोना’ भन्ने गीत फेरि घन्किन लाग्यो, हाम्रा मनमा भय र त्रासको हुरी चल्न थाल्यो। यो हुरी चलिरहने छ। बिचबिचमा सेलाउने छ, फेरि पर्यटन जाग्ने छ, केही कमाइ हुनेछ, जीविका चल्ने बाटो खुल्दै जानेछ। यिनै आशा र आकांक्षाबिच हामी पर्यटनकर्मीले भोलिका लागि योजना र कामको तर्जुमा र तारतम्य मिलाउन पनि छोड्नु भएन। विपद्देखि भागेर होइन, व्यवस्थापन गर्दै, भोग्दै र सिक्दै गएर नै भावी पुस्तामा अभिलाशा र भरोसाको पाठ पढाउन सक्नेछौं। यस छोटो आलेखमा नेपालमा लहरको रूपमा फैलिँदै गएको होमस्टे पर्यटनका बारेमा केही कुरा र सवाल उठाउन खोजिरहेको छु।

‘होमस्टे’ पर्यटन अब नेपाली जनजिब्रोमा भिजिसकेको छ। पैसा लिएर घरघरमा पाहुना राख्ने व्यवस्था नै होमस्टे रहेछ भनेर अब गाउँठाउँमा बस्ने सामान्य घरपरिवारले पनि बुझिसकेको अवस्था छ। चेपाङ क्षेत्र, लेप्चा क्षेत्र, मुसहर क्षेत्र, धिमाल क्षेत्र, माझी–दरै क्षेत्रमा समेत अब होमस्टे व्यवसाय नौलो रहेन। ती क्षेत्रमा होमस्टे फैलिन थालेको पनि डेढ दशक भइसकेको छ। होमस्टेलाई ‘घरबास’ पनि भन्ने चलन छ। तर चेपाङ क्षेत्रमा अनुसन्धानरत यस पंक्तिकारले के पायो भने त्यहाँ पनि समान्यभन्दा सामान्य जनले समेत ‘घरबास’को सट्टा ‘होमस्टे’ नै भन्न सहज ठानेको पाइयो। एक कान, दुई कान, मैदान हुँदै केही वर्षमा यो शब्दले सबैका दिमागमा डेरा जमाइसकेको रहेछ। कम्प्युटर, मोबाइल, बस, रेल, टावर, कोट, पाइन्ट, ग्यास, डिजेल, पेट्रोल, रिचार्ज, चार्ज आदि सयौँ शब्दका नेपाली शब्द खोज्ने र चलाउने जाँगर कसैले नदेखाएजस्तै होमस्टे शब्दको नेपालीपन खोज्ने र चलाउने जाँगर र रहर पनि कसैमा भएको देखिएन। विश्वव्यापीकरणको प्रभाव यसलाई पनि मान्नुपर्ला !

होमस्टेका लागि कम्तिमा एउटा अलग कोठा भएको, छाना र भित्ता राम्रो भएको, शौचालय सुविधा भएको, स्नानघर भएको, धुवाँ नआउने भान्सा भएको, गाईडिँगा बाँध्ने गोठ अलग्गै भएको, अलिकति आँगन र फूलबारी भएको, पानीको सुविधा भएको, सुत्ने कोठामा खाट भएको, त्यसका अतिरिक्त कुर्सी, टेबल, तौलिया, चप्पल, बाल्टिन, डस्टबिन आदि भएको हुनुपर्ने नियम ‘होमस्टे सञ्चालनसम्बन्धी कार्यविधि (२०६७)’ मा उल्लेख छ।

नेपालमा अहिले होमस्टे विकासको रहर र लहर उर्लिँदो छ। अझ भन्ने हो भने कतिपय जिल्लामा त चुलिँदो पनि छ। एउटा समुदाय वा गाउँले होमस्टे स्थापना गर्नासाथ अर्को समुदाय वा गाउँले पनि होमस्टे खोल्ने रहर देखाउँछ। केही व्यक्तिको सक्रियतामा होमस्टे खुल्छ पनि। तर खोल्नासाथ सबै ठाउँमा होमस्टे चल्छ भन्ने छैन। होमस्टे पर्यटन समुदायमा स्थापित हुन र व्यावसायिक ढंगले अघि बढ्न केही समय अवश्य लाग्छ। उदाहरणका लागि, रसुवाको बृद्धिम गाउँमा तत्कालीन ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टीआरपीएपी) र जिल्ला विकास समितिको संयुक्त सहजीकरणमा सन् २००३ मा आरम्भ भएको ‘बृद्धिम सामुदायिक होमस्टे’ सन्तोषजनकरूपमा अघि बढ्न करिब तीन वर्ष लागेको थियो।

ठाउँको प्रख्यातिसँगै व्यावसायिक बन्दै गरेको होमस्टे व्यवसायमा भने सन् २०१५ (२०७२ साल) को भूकम्पले ठूलो चोट पुर्‍यायो। एक किसिमले ध्वस्त नै बनायो। पुनर्निर्माणपछि फेरि जाग्ने क्रममा रहेको पर्यटनमा पनि कोरोनाका अनेक लहरहरूले बाधा पुर्‍याइरहेको छ। पर्यटनबाट राम्रो आम्दानी गर्न थालेका घरपरिवारलाई अहिले नराम्रोसँग घाटा परिरहेको छ। कतिपय सन्दर्भमा निराश पनि बनाइदिएको छ। तर यो बृद्धिमको मात्र कुरा होइन, रसुवाको मात्र कुरा होइन, बागमती प्रदेशको मात्र कुरा होइन, र नेपालमो मात्र पनि कुरा होइन। विश्व नै केही निराश छ। तर निराशाबिच सधैं र सबै ठाउँमा आशाका दीपहरू पनि निरन्तर बलिरहेकै छन्। काम गर्न कसैले छाडेको छैन। यही नै रहेछ जीवन, जीजिविषा र सकारात्मकताको यथार्थ ! 

होमस्टे सन्दर्भ पनि यस्तै हो। एउटा कुरा के सत्य छ भने, होमस्टे पर्यटन व्यवसाय सञ्चालन गर्ने घरपरिवारको जीविकाको आधार खेती–किसानी पनि हुन्छ। पर्यटनको व्यापार कम हुनेबित्तिकै खेती–किसानीका काममा बढी समय दिएर जीजिविषा सहज बनाउने काम हुन्छ। एउटा ‘अतिरिक्त आय’को बाटो रोकिएपछि अर्को अतिरिक्त आयको बाटो स्वभावतः खुल्छ भनिन्छ। वास्तवमा ग्रामीण क्षेत्रमा होमस्टे पर्यटनमा लाग्ने घरपरिवार भनेकै मध्यम परिवारका व्यक्ति हुन्। होमस्टेका लागि कम्तिमा एउटा अलग कोठा भएको, छाना र भित्ता राम्रो भएको, शौचालय सुविधा भएको, स्नानघर भएको, धुवाँ नआउने भान्सा भएको, गाईडिँगा बाँध्ने गोठ अलग्गै भएको, अलिकति आँगन र फूलबारी भएको, पानीको सुविधा भएको, सुत्ने कोठामा खाट भएको, त्यसका अतिरिक्त कुर्सी, टेबल, तौलिया, चप्पल, बाल्टिन, डस्टबिन आदि भएको हुनुपर्ने नियम ‘होमस्टे सञ्चालनसम्बन्धी कार्यविधि (२०६७)’ मा उल्लेख छ।

अहिले विभिन्न प्रदेश र पालिका सरकारहरूले आआफ्ना खालका होमस्टे कार्यविधि बनाए पनि होमस्टे पर्यटनका लागि चाहिने मूल शर्तमा सबैका कार्यविधि र ढाँचाहरू मिल्छन्। माथि भनिएका आधारभूत शर्त पूरा नगर्ने घरपरिवारलाई होमस्टेमा दर्ता गर्न नहुने प्रावधान भएकाले त्यस्ता कुरा पूरा गर्न गाउँठाउँमा गरिब वर्गलाई धेरै गाह्रो पर्छ। गरिबसँग सानो घर, एकनाले घर वा टहरो÷छाप्रो मात्र हुन्छ। त्यस्तोमा अलग्गै कोठा नहुँदा होमस्टे सञ्चालन गर्न कठिन हुन्छ।

यसले गर्दा होमस्टे ‘बिजनेस’ मध्यमवर्गका घरपरिवारको ‘बिजनेस’ हो भनेर भन्ने गरिन्छ। ठूला वर्गले पनि होमस्टे खोलेर पाहुना राख्ने कामलाई ‘बेकारको झञ्झटिलो पेसा’ भनेर भन्ने गरेको पाइएको छ। आफैं पकाएर खाना ख्वाउने, सेवा गर्ने काम गरेर व्यर्थको दुःख किन गर्ने भन्ने मानसिकता बनाएर उनीहरू बस्ने गरेको देखिएको छ। बरु त्यस्ता ‘ठूला’ घरानाका व्यक्तिले होटेल नै खोलेर अरु कामदार राखेर चलाउने अभिप्राय र ल्याकत राख्दछन्। 

त्यसैले ‘अति गरिबसँग घर हुन्न, धनीमानीको मन हुन्न’ भनेर नै होमस्टे व्यवसाय धान्ने मूलतः मध्यमवर्गका घरपरिवार हुन् भनेर निष्कर्ष निस्केको हो। थुप्रै ठाउँको अवलोकन तथा अध्ययनको आधारमा यो भन्न सकिएको हो। धनीवर्ग र गरिबवर्गलाई होमस्टेले अप्रत्यक्ष लाभ भने प्रशस्त दिनसक्छ। तर होमस्टे विकास योजना वा कार्यक्रममा ती कुरा स्पष्ट नियोजित र समायोजित भने हुनुपर्छ। जस्तो कि मासु उत्पादनका लागि कुखुरापालन, खसीपालन, बंगुरपालन; दूध उत्पादनका लागि गाई, चौंरी तथा भैंसीपालन, तरकारी, फलफूल तथा मह उत्पादन, सांस्कृतिक समूहमा संलग्नता, गाइड तथा भरियामा रोजगारीजस्ता अनेक उद्यम–व्यवसायमा गाउँको गरिब वर्ग र धनी वर्ग संलग्न हुनसक्छ। 

यसरी समुदायमा रहेका मध्यमवर्ग, धनीवर्र्ग र गरिबवर्गबिच आपसी सहकार्य, समझदारी र समानुपातिक लाभ बाँडफाँट हुने वातावरण बन्यो भने मात्रै होमस्टे (वा सामुदायिक पर्यटन) दिगोरूपमा चल्न सक्ने हो। ‘होमस्टे मध्यमवर्गको व्यवसाय’ भने पनि लाभ सबै वर्गमा पुग्ने वातावरण मिलेको छ–छैन भनेर स्वयं संलग्न समूहहरू, वडापालिका, गाउँ÷नगरपालिका तथा जिल्लास्थित निकायहरू वा जिल्ला समन्वय समितिले निगरानी राख्ने र ‘वाचडग’को भूमिका खेल्ने गर्नुपर्छ।

नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, होमस्टे महासंघ, तारागाउँ (पर्यटन) विकास समिति, गाउँ पर्यटन मञ्च, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आदिजस्ता विशेष जिम्मेवार संस्थाहरूको नियमित अनुगमन, सहयोग र पृष्ठपोषणको झनै ठुलो भूमिका हुने कुरा पनि नकार्न सकिन्न।   

अन्त्यमा,
नेपालमा अहिले होमस्टेका लागि विशेष नाम कहलिएका सिरुबारी, घलेगाउँ, घनपोखरा, भुजुङ, काउलेपानी, राइनासकोट, बन्दीपुर, तनहुँसुर, हात्तीबाङ, श्रीअन्तु, नाम्जे, अमलटारी, डल्लागाउँ, भादागाउँ, गाबर–भ्यालीलगायतका विभिन्न ठाउँमा स्थापित होमस्टे कार्यक्रममा सहभागी घरपरिवारको आर्थिक अवस्था विश्लेषण गर्दा अधिकांश मध्यमवर्ग नै समेटिएको पाइएको छ। अतः होमस्टेको भविष्य अझ उज्ज्वल र प्रभावी बनाउनका लागि समुदायका सबै घरमा ‘लाभ’ कसरी पुगिरहेको छ भन्ने कुरा राम्ररी विचारौँ। शैली, उपाय र संयन्त्र अनेक छन्। यसका लागि विज्ञहरूको सल्लाह पनि लिने गरौँ। योजनाबद्ध ढंगले कम्तीमा १० वर्षे दूरदृष्टिका साथ होमस्टे पर्यटनलाई नेपालको विशेष पहिचानको मौलिक सांस्कृतिक पर्यटन भन्ने ब्राण्डीकरणसमेत गरेर अघि बढौँ। नेपाली पर्यटन, नेपाली होमस्टेको भविष्य साँच्चै अपार छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.