दैलेखमा कोरोनाबाट थप एकको मृत्यु, मंगलबारदेखि निषेधाज्ञा
दैलेखः कोरोनाभाइरसको संक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । सोमबार दैलेखको दुल्लु नगरपालिका–१२ लम्सुका ३५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार दुल्लु अस्पताल पुर्याइएको थियो । एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दुल्लु अस्पतालले दैलेख अस्पताल रिफर गरेको थियो । ‘दैलेखस्थित आइसोलेसनमा अक्सिजन सहित उपचार थालिएको थियो, ती पुरुषमा मानसिक समस्या समेत रहेका कारण उपचारमा कठिन भएपछि परिवारले घर लैजाने निधो गरेपछि घर पठाएका हौँ,’ दैलेख अस्पतालका डा. जगत थापाले भने । ती पुरुषमा सुगरको समस्या समेत रहेको डा. थापाले बताए ।
यससँगै दैलेखमा पछिल्लो चरण कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत बुधवार नारायण नगरपालिका–१ पुरानो बजारका ७५ वर्षीय पुरुष र शुक्रवार नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवति महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
यसअघि ६ जनाको मृत्यु भइसकेको थियो । स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण फैलिएसँगै बिरामी पनि बढ्न थालेका छन् । संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार सोमवारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६३ छ । संक्रमण पुष्टि भएका १ सय ७८ मध्ये १२ जना निको भएको र तीन जनाको मृत्यु भएको रेग्मीले बताए ।
जिल्लामा संक्रमणको दर बढ्न थालेपछि बैशाख २१ गते मंगलवार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । बैशाख २८ गते राति १२ सम्मका लागि एक साता निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो ।