अक्सिजन अभावमा कोभिडका बिरामीको मृत्यु ‘नरसंहार’भन्दा कम छैन : भारतीय अदालत
नयाँ दिल्ली : भारतको अदालतले मंगलबार अक्सिजनको अभावमा कोभिड बिरामीको मृत्यु एक आपराधिक कार्य भएको बताएको छ। उत्तर प्रदेशको अल्लाहवाद उच्च अदालतले अक्सिजनको आपूर्ति नगर्नु अपराध भएको र अक्सिजन अभावमा बिरामीको मृत्यु ‘नरसंहार’ भएको बताएको हो।
‘अस्पतालहरूमा अक्सिजन आपूर्ति नगर्दा कोभिडका बिरामीले ज्यान गुमाउनु भनेको एक आपराधिक कार्य हो र त्यो कुनै नरसंहारभन्दा कम छैन’, अदालतले भनेको छ।
दुई जना न्यायाधीशको इजलासले कोभिड–१९ सँग सम्बन्धित बहसहरू सुनिसकेपछि यस्तो बताएको हो।
अदालतले एक भिडियो क्लिपको आधार लिएको बताइएको छ। सो भिडियोमा गरिब व्यक्तिले अक्सिजन सिलिन्डर मागिरहेको र उसमाथि दुव्र्यव्यवहार गरिएको छ। आलोचकहरूका अनुसार भिडियो प्रदेश सरकार कोभिड महामारी नियन्त्रणमा उदासीन रहेको देखाउँछ। अदालतले सरकारलाई त्यसबारे जवाफ दिन आदेश दिएको छ।
तर हालसम्म सरकारले कुनै जवाफ नदिएको समाचारमा उल्लेख छ।
उत्तर प्रदेश भारतमा फैलिरहेको कोरोनाको दोस्रो लहरले आक्रान्त बनाएका राज्यहरूमध्ये एक हो।
हाल प्रदेशमा २ लाख ८६ हजार बराबर सक्रिय संक्रमित रहेका छन्। मंगलबार मात्र ९ हजार ९२० नयाँ संक्रमित थपिएका छन्। त्यस्तै २८५ जनाको ज्यान गएको छ। योसँगै प्रदेशभर ज्यान गुमाउने संख्या १३ हजार ४४७ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।