भक्तपुरमा कोरोना संक्रमण १३५ प्रतिशतले वृद्धि
भक्तपुर : भक्तपुरमा एकदिनको फरकमै १३५ प्रतिशतले कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएको छ । सोमबार २ सय १८ जनामात्रै संक्रमित थपिएकोमा मंगलबार यो संख्या बढेर एकैपटक ५ सय १२ पुगेको हो । जुन १३५ प्रतिशतले वृद्धि हो ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मंगलबार भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि नपामा मात्रै सबैभन्दा एकसय ९३ जना संक्रमित थपिए । जसमा ९९ जना पुरुष र ९४ जना महिला रहेका छन् ।
त्यस्तै सूर्यविनायक नपामा ६७ पुरुष र ५१ महिला गरी एकसय १८ जनालाई संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार भक्तपुर नपामा ४० महिला र ३८ पुरुष गरी ७८ जना र चाँगुनारायण नपामा ४६ पुरुष र २७ महिला गरी ७३ जना नयाँ संक्रमित थपिए ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलबार संक्रमण पुष्टि भएका भक्तपुर जिल्लाका ३२ पुरुष र १८ महिला गरी ५० जना संक्रमित सम्पर्कविहीन भए । उनीहरुमध्ये केहीले स्वास्थ्य कार्यालयले सम्पर्क गर्न गरेको फोन उठाएनन् । केहीको सम्पर्क नम्बर नै गलत भेटिएको कार्यालय प्रमुख मिजार बताउँछन् । केहीको मोबाइल स्वीच अफ रहेको उनको भनाइ थियो ।
भक्तपुरमा पीसीआर परीक्षण गराएकामध्ये ७५ प्रतिशतभन्दा बढीलाई संक्रमण पुष्टि हुँदै आएको छ । स्वास्थ्य कार्यालय प्रमुख मिजारले कोरोना भाइरस संक्रमण पछिल्लो समय भक्तपुरका ४ वटै नपामा समुदायस्तरमै फेलिइसकेको दावी गरे । त्यसैले भक्तपुरमा कोरोना भाइरस संक्रमण तीव्रगतिमा बढिरहेको उनले स्पष्ट पारे ।
उनले सर्वसाधारण आफै सचेत नहुँदासम्म संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण हुनेमा जोड दिए । ‘निषेधाज्ञाले मात्रै कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापन भएको देखिएन’, प्रमुख मिजारले थपे, ‘सहरी क्षेत्रमा हेर्दा निषेधाज्ञा भएको अनुभूति हुँदैन । त्यसैले सर्वसाधारण आफै सचेत नभई संक्रमण नियन्त्रण गर्न सजिलो छैन ।’
भक्तपुरमा हालसम्म कोरोना संक्रमणको कारण मर्नेको संख्या एकसय ३६ पुगेको छ । जसमा ८८ पुरुष र ४८ जना महिला रहेका छन् । जसअनुसार भक्तपुर नपाका ४८ जना र मध्यपुर थिमि नपाका ४६ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै सूर्यविनायक नपाका ३१ र चाँगुनारायण नपाका ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।भक्तपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ६१ जना पुगेका छन् । जसअनुसार एकहजार ४ सय एक पुरुष र एकहजार एक सय ६० जना महिला रहेका छन् ।