भक्तपुरमा २४ घन्टाभित्र ४ जना कोरोना संक्रमितको मृत्यु
भक्तपुर : भक्तपुरमा गएको २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यसअघि पनि एकैदिन ४ जना संक्रमितको मृत्यु भएको थियो । नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएपछि यहाँ मर्ने संक्रमितको संख्या ११ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिनुअघि भक्तपुरमा एकसय २८ जना संक्रमितको मृत्यु भएको थियो तर अहिले मर्नेको संख्या एकसय ३९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
भक्तपुरमा ८९ जना पुरुष र ५० जना महिला संक्रमितको मृत्यु भएको हो । उनका अनुसार गएको २४ घन्टामा एक पुरुष र ३ महिला संक्रमितको मृत्यु भएको हो । जसअनुसार मध्यपुर थिमि नपामा एक महिला र एक पुरुष गरी दुईजनाको मृत्यु भएको प्रमुख मिजार बताउँछन् ।‘भक्तपुर र चाँगुनारायण नपाका एकएक महिला संक्रमितको मृत्यु भएको छ’, उनले भने ।
भक्तपुरका ४ नपा भने सबैभन्दा बढी भक्तपुरका ३१ पुरुष र १८ महिला गरी ४९ जना संक्रमितले ज्यान गुमाएका छन् । भक्तपुरपछि मध्यपुर थिमि नपाका ३२ पुरुष र १६ महिला गरी ४८ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ जना र चाँगुनारायण नपाका ८ पुरुष र ३ महिला गरी ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यहाँ सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८४ जना पुगेका छन् । जसअनुसार एकहजार ३ सय ६२ पुरुष र एकहजार एक सय २२ जना महिला रहेका छन् ।