निफमा अनुरागका कथा
काठमाडौं : कोभिडका कारण पटकपटक सर्दै आएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्ना अनुभव बाँड्ने भएका छन्।
निफका अध्यक्ष केपी पाठकले एक विज्ञप्ति जारी गर्दै भारतीय निर्देशक कश्यपले उद्घाटनको दिन अर्थात् २३ गते दिउँसो ३.३० बाट ४.३० सम्म फिल्मका विभिन्न पक्षबारे जानकारी दिने बताए। उनले सिनेमासम्बन्धी आफ्ना अनुभवहरू पनि नेपाली चलचित्रकर्मीमाझ सेयर गर्नेछन्।
‘तयारी त हाम्रो भौतिक रूपमै गर्ने गरी भइरहेको हो, भौतिक रूपमै गर्नका लागि नै हामीले नियमित सेड्युलबाट सारेर वैशाखमा ल्याएका थियौं, तर परिस्थिति सहज नभएकाले यसपटक हाइब्रिड गर्न बाध्य भयौं। तर यसले हामीलाई अझ धेरै दर्शकसम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ’, फेस्टिभलका अध्यक्ष केपी पाठकले बताए। चौथो संस्करणमा आयोजना हुन लागेको निफ यसअघि हरेक वर्ष फेब्रुअरीमा हुने गरेको थियो।
अध्यक्ष पाठकले फिल्मको प्रदर्शन तथा अन्तक्र्रियाहरू नेट टीभीसँगै फेस्टिभलको पेजबाट लाइभ गरिने बताए। लेखककारूपमा बलिउडमा करिअर सुरु गरेकाकश्यपले ‘सत्या’, ‘शूल’, ‘युवा’ जस्ता फिल्मको पटकथा तथ संवाद लेखेका थिए। उनको डेब्यु निर्देशन गरेको ‘पाँच’ले हलको मुख देख्न नपाए पनि सन् २०१२ मा रिलिज भएको ‘ग्याङ्स अफ वासेपुर’का दुई सिरिजबाट उनले चर्चा पाएका थिए।
यसपछि उनले ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता फिल्मको निर्देशन गरेका थिए। निर्माणमा पनि उत्तिकै सक्रिय उनले नेटफ्लिक्समा रिलिज भएका ‘सेक्रेड गेम्स’, ‘लस्ट स्टोरिज’ आदि फिल्म तथा सिरिजको निर्माण गरेका थिए। फेस्टिभल २७ गतेसम्म चल्नेछ।