भक्तपुरमा कोरोना संक्रमण : निको हुने दर २० प्रतिशत, संक्रमण १३५ प्रतिशत
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमण भएर डिस्चार्ज हुने दर न्यून रहेको छ तर संक्रमणदर भने बढी रहेको छ । पछिल्लो समय १३५ प्रतिशतले संक्रमित वृद्धि हुँदा यहाँ २० प्रतिशत संक्रमितमात्रै उपचारपछि डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार गएको २४ घन्टाभित्र यहाँका ८९ जना संक्रमितमात्रै उपचारपछि डिस्चार्ज भएका छन् । जबकि त्यहीं समयमा ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।
गएको २४ घन्टामा थप एक संक्रमितको मृत्युसमेत भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजार बताउँछन् । उनका अनुसार बुधबार मध्यपुर थिमि नपाका संक्रमित पुरुषको मृत्यु भएको हो ।
यससँगै भक्तपुरका मृत्यु हुने संक्रमितको संख्या एकसय ४० पुगेको छ । जसमा पुरुष ९० जना र महिला ५० जना रहेका छन् ।भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि र भक्तपुर नपाका समान ४९–४९ संक्रमितको मृत्यु भएको छ । मध्यपुर थिमिका ३३ पुरुष र १६ महिला संक्रमितको मृत्यु हुँदा भक्तपुर नपाका ३१ पुरुष र १८ महिला संक्रमितले ज्यान गुमाएका छन् ।
सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ जना र चाँगुनारायण नपाका ८ पुरुष र ३ महिला गरी ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार समग्रमा भक्तपुरका ७६.९७ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै भक्तपुरमा डिस्चार्ज हुनेको संख्यामा भारी गिरावट आएको हो ।
दोस्रो लहर सुरु नहुँदासम्म भक्तपुरमा ९४ प्रतिशत संक्रमित उपचारपछि डिस्चार्ज भएका थिए तर दोस्रो लहरको संक्रमण तीव्ररुपमा बढेपछि संक्रमित डिस्चार्ज हुने प्रतिशतमै कमी आएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
बुधबारसम्म कूल १२ हजार ९ सय १५ जनालाई संक्रमण पुष्टि हुँदा ९ हजार ९ सय ४१ जनामात्रै डिस्चार्ज भएको उनले बताए ।प्रमुख मिजारले दोस्रो लहरको संक्रमण पहिलोको तुलनामा तीव्र फैलिनुका साथै यसले उपचारमा जटिलता बढेकाले डिस्चार्ज हुने संख्यामा कमी आएको स्पष्ट पारे ।‘संक्रमण हुने संख्या ह्वात्तै बढेकाले डिस्चार्ज हुने कम भएको हो’, प्रमुख मिजारले भने ।
बुधबारसम्म भक्तपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ३४ जना पुगेका छन् । जसमा एकहजार ५ सय ४३ पुरुष र एकहजार २ सय ९१ जना महिला रहेका छन् । सक्रिय संक्रमितमध्ये ८४ जना पुरुष र ७१ जना महिला गरी एकसय ५५ जना अस्पतालको आइसोलेसनमा रहेका छन् । एकहजार ४ सय ५९ जना पुरुष र एकहजार २ सय २० जना महिला होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ५ सय ६३ पुरुष र ५ सय ३ महिला गरी एकहजार ६६ जना रहेका छन् । सूर्यविनायक नपामा ४ सय ४२ पुरुष र ३ सय ५९ महिला गरी ८ सय एकजना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भक्तपुर नपामा २ सय ४२ पुरुष र २ सय २७ महिला गरी ४ सय ६९ र चाँगुनारायण नपामा एकसय ८१ पुरुष र एकसय २१ महिला गरी ३ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।