थुनामा कोरोना त्रास : ६ जनाको पीसीआर गर्दा ५ संक्रमित
![थुनामा कोरोना त्रास : ६ जनाको पीसीआर गर्दा ५ संक्रमित](https://annapurnapost.prixacdn.net/media/albums/dhanusha_20210506103117_7jMcNuHGqO.jpg)
जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको थुनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको अनुमान गरिएको छ।
बुधबार थुनामा रहेका ६ जना आरोपितलाई पुर्पक्षका लागि कारागार पठाउने तयारी गरिएको थियो। कारागार लग्न लागिएका ६ जनाकै स्वास्थ्य परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो अनुमान गरिएको हो।
संक्रमितलाई जेल पठाउँदा संक्रमणको खतरा अझ बढ्ने हुँदा पाँचै जनालाई फेरि जिप्रकाकै थुनुवा कोठामध्ये एउटामा छुट्टै राखिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
जिप्रका धनुषामा अहिले विभिन्न मुद्दाका ६५ जना आरोपित थुनुवा छन्। ४ वटा थुनुवा कक्ष मात्रै रहेको र त्यसमध्येबाट पनि एउटा महिला थुनुवाकै लागि छुट्याइएको हुँदा तीनवटामा २०÷२० जनाभन्दा बढीलाई थुनिएको छ।
महामारीको बेला सामाजिक दुरी कायम गर्नु अति आवश्यक भए पनि थुनुवाको संख्या बढी भएकोले स्वास्थ्य मापदण्ड पुरा गर्न निकै कठिन भएको उपरीक्षक रानाभाट बताउँछन्।
‘थुना त कोभिड सार्ने केन्द्र बन्ने डर छ,’ रानाभाट भन्छन्, ‘हामीले सक्दो सबैलाई तातोपानी र मास्क सेनिटाइजरहरु उपलब्ध गराएका छौं तर, कोभिड संक्रमित थुनुवाहरु मध्येबाट नै भेटिएपछि जोखिम झनै बढेको छ।’
महामारीको विकराल परिस्थितिमा जघन्य अपराधबाहेक अन्यलाई थुनामा राख्ने वा नराख्ने विषयमा पनि बहस चलाउनु पर्ने सुरक्षाकर्मीको तर्क छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)