उपचारमा दाउ छोपाइ

उपचारमा दाउ छोपाइ

जनकपुरधाम / वीरगन्ज : धनुषाको मिथिला नगरपालिका घर भई बटेश्वरमा बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मंगलबार मृत्यु भयो। ज्वरो, रुघाखोकीले थला परेका परियारलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, आइसोलेसनमा बेड खाली नभएपछि त्यहाँबाट फर्काइयो। अवस्था सिकिस्त हुँदै जाँदा जनकपुरका कुनै पनि निजी अस्पतालले भर्ना लिन मानेनन्। उनलाई बटेश्वर बजारस्थित आरपी मेडिकल हलमा लगियो। त्यहाँ पनि भर्ना नलिएपछि मेडिकल हलबाहिरै परियारले प्राण त्यागे।   

कोरोना आशंकाका कारण परियारलाई आफन्तले नै छाडेर गए। एम्बुलेन्स चालक रामबाबु महतोले उनलाई अन्तिम समयसम्म अस्पताल चहारेका थिए। एम्बुलेन्स चालक महतोले निजी अस्पतालमा भर्नाअघि पैसा ‘डिपोजिट’ गर्न भनेको र बिरामीसँग पैसा नभएकै कारण उनको मृत्यु भएको बताए।  ‘एम्बुलेन्समा रहेको अक्सिजन बिरामीलाई लगाइदिएर जनकपुरको सरकारीदेखि निजी अस्पतालमा भर्नाका लागि भौतारिएका थिए’, महतोले भने, ‘कसैले पनि उपचार गर्न नमानेपछि बिरामीको अकालमै ज्यान गयो।  ’ 

आफन्तले पनि परियारको शव मेडिकल हल अगाडि अलपत्र अवस्थामा छाडेर गएका थिए। सेनाले शव व्यवस्थापन गरेको थियो। निजी अस्पतालहरूको मनोमानी र विपद्का बेला संवेदनाहीन गतिविधिले बिरामी प्रताडित हुनुपर्ने अवस्था छ।   

वीरगन्ज—१० का ६५ वर्षीय संक्रमित वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि मंगलबार बेलुकी छोराले नेसनल मेडिकल कलेजको  कोरोना अस्थायी अस्पतालमा भर्ना गरे। क्याबिनमा राखिएका वृद्ध बिरामीसँग रातभर कुनै स्वास्थ्यकर्मीले भेट गरेनन्। बुधबार बिहान बिरामीको अक्सिजन लेभल कम भयो। उपचारै नपाएर बिरामीको ज्यान झन् जोखिममा परेपछि छोरोले बुुबालाई घरमै फिर्ता लगे।  ‘अस्पतालमा चरम लापरवाही देखें। अस्पतालमै राख्दा उपचार नपाएर मर्ने अवस्था भएपछि घरमा ल्याएर राखेको हुँ’, उनले भने, ‘अस्पतालमै राखेको भए त उपचार नपाएर बुवाको ज्यानै जान्थ्यो होला।  ’

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र पर्साले तीन साता साताअघि कोभिड अस्पतालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको थियो। कोरोना अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमितले औषधि, अक्सिजन, उपचारका साथै खानासमेत निःशुल्क उपलब्ध गराउने भनिएको छ। ती सबै खर्च मेडिकल कलेजले स्वास्थ्य मन्त्रालयबाट भुक्तानी लिनेछ। तर, मेडिकल कलेजको अस्पतालमा भर्ना भएका संक्रमितको उपचारमा चरम लापरवाही भएपछि त्यहाँबाट संक्रमितलाई आफन्तले घर लगेर होम आइसोलेसनमा वा अन्यत्रको अस्पतालमा लैजान थालेका छन्।   

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले मेडिकल  कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा संक्रमितको उपचारमा हेलचेक््रयाइँ भइरहेको गुनासो आफूसमक्ष आएको बताए। ‘मेडिकल कलेजको कोरोना अस्पतालबाट निस्किएर दैनिक २–३ जना संक्रमित नारायणी अस्पतालमा भर्ना भइरहेका छन्’, डा. ठाकुरले भने, ‘सरकारीभन्दा निजी अस्पतालमा उपचार झन राम्रो हुनुपर्ने हो। तर, त्यहाँबाट उल्टै संक्रमितहरू सरकारीमा आएर भर्ना भइरहेका छन्। यसको अर्थ पक्कै पनि त्यहाँ उपचारमा केही न केही समस्या छ भन्ने बुझिन्छ।  ’ 

नेसनल मेडिकल कलेजका मेडिकल निर्देशक डा. प्रमोद सर्राफले बाबा होटलमा मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा बुधबार अपरान्हसम्म ८९ जना संक्रमित उपचाररत रहेको बताए। तीमध्ये २२ जना संक्रमित आईसीयूमा भर्ना छन्। डा.सर्राफले भने संक्रमितको उपचारमा कुनै लापरवाही नगरिएको दबी गरे । उनका अनुसार मेडिकल कलेजले कोरोना अस्पतालमा ११ जना चिकित्सक, १६ जना स्टाफ नर्ससहितको स्वास्थ्यकर्मी खटाएको छ।   

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले मेडिकल कलेजले सञ्चालन गरिरहेको कोरोना अस्पतालमा संक्रमितको उपचार कसरी भइरहेको छ भनेर आफूले अनुगमन गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.