अक्सिजनको कालोबजारी रोकौं
सेती प्रादेशिक अस्पतालमा अक्सिजन ग्यासको चरम अभाव छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल नेतृत्वको अनुगमन टोलीले कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा बुधबार धनगढीको अमित मेडिसिन डिस्टिब्युटर्सबाट ६१ थान अक्सिजन ग्यासका सिलिन्डर फेला पार्यो। डिस्टिब्युटर्सका सञ्चालकले २ सय ५० थान सिलिन्डर २५ हजारका दरले किनेर ४० हजार रुपैयाँमा बिक्री गरेको अनुगमन टोली सामु स्वीकारेका छन्। सेती अस्पतालमा अक्सिजन प्लान्ट पनि छ। त्यहाँबाट उत्पादन गरिने अक्सिजनबाहेक अस्पताललाई दैनिक एक सय थान सिलिन्डर अक्सिजन आवश्यक पर्छ। त्यो प्लान्ट अस्पतालका आईसीयू, सर्जिकल, प्रसूति, एनआईसीयूसहितका वार्ड, कोभिडको आईसीयू वार्डमा पाइपबाट जडान गरिएको छ। बिरामीका लागि पर्याप्त अक्सिजन छैन। अस्पतालमा अक्सिजन ग्यासको अभावमा बिरामी छट्पटाइरहेको अवस्थामा व्यापारी कालोबजारीमा लागेका छन्।
केही दिनअघि मात्र अक्सिजन ग्यासका सिलिन्डर भारत तस्करी गरेको आरोपमा महोत्तरी प्रहरीले तीन जनालाई पक्राउ गर्यो। प्रहरी गस्ती टोलीले जलेश्वर नगरपालिका–३ स्थित नेपालबाट भारततर्फ लैजाने प्रयोजनका लागि राखेको तीन थान भरिएको अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्ट फेरि जलेश्वर–१२ मा भारततर्फ लैजान जिपमा तयारी अवस्थामा राखिएका दुई थान भरिएको अक्सिजन ग्यासका सिलिन्डर बरामद गर्न प्रहरी सफल भएको थियो।
श्वासप्रश्वासमा समस्या पार्ने कोरोना संक्रमणमा अक्सिजन अत्यावश्यक वस्तु हो। जटिल खालका संक्रमित बढेसँगै अस्पतालमा अक्सिजन अपुग भइरहेको छ। सरकारले केन्द्रीय स्तरका सबै सरकारी अस्पतालमा अक्सिजन ग्यास प्लान्ट जडान गर्नुपथ्र्यो। यो काम गर्न ढिलोे भइसक्यो। अहिले सम्भव छैन। त्यसको विकल्पमा लिक्विड अक्सिजन प्लान्ट जडान गर्न सकिन्छ। नेपालगन्जको भेरी अस्पताललगायतका देशका केही अस्पतालमा यो प्रविधि जडानको प्रक्रियामा छ। लिक्विड अक्सिजनको कच्चा पदार्थ भारतबाट ल्याउनु पर्ने भएकाले यो प्रविधि पनि तत्काल कार्यान्वयन गर्न कठिन छ। अहिले भारतमै कच्चा पदार्थको अभाव छ। अक्सिजनका लागि अक्सिजन कन्सेन्ट्रेटर पनि एउटा विधि हो। विद्युत्मा प्लग जोडेर प्रयोग गरिने यो प्रविधिबाट एकदेखि दुई जनालाई अक्सिजन दिन सकिन्छ। सुरुमा किन्दा महँगो पर्छ। तर, एक पटक किनेपछि सधैंका लागि हुन्छ। अहिले धेरै वटा किन्दा आर्थिक भार पर्नेछ। ठूला अस्पतालमा अक्सिजनको अभाव पूर्ति गर्ने पीएसए प्लान्ट पनि दिगो उपाय हो। अहिले प्लान्ट बनाउन कति सम्भव होला ? त्यसैले अहिलेको सबैभन्दा उपयुक्त विधि भनेकै अक्सिजन ग्यास उत्पादक कम्पनीलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने नै हो।
सामान्य अवस्थाका बिरामीभन्दा कोरोना संक्रमितलाई चार गुना बढी अक्सिजन चाहिन्छ। अस्पतालमा भर्ना भएका संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढीलाई अक्सिजनको आवश्यकता छ। जटिल संक्रमितलाई चौबिसैघण्टा अक्सिजन चाहिन्छ। त्यसैले अक्सिजन ग्यासको प्रयोग स्वास्थ्य संस्थामा मात्र केन्द्रित गरिएको छ। अक्सिजन ग्यासको प्रयोग गर्ने कागज, सिसा, फर्मास्युटिकल्स, सिमेन्ट, चिनी मिल, आइरन कटिङ, ग्रिल उद्योगलगायत क्षेत्रको खपत रोकिएको छ। तस्करी र कालोबजारीकै कारण अस्पतालमा अक्सिजन ग्यासको अभाव छ। पानीबिनाको माछाजस्तै बिरामी अस्पतालमा अक्सिजन बिना छट्पटाइरहेको बेला कालोबजारी र तस्करी गर्नेहरू सल्बलाइरहेका छन्। भविष्यका लागि भन्दै धेरैले घरघरमा अक्सिजनका सिलिन्डर जुटाएर राखेका छन्। यो पनि अभाव बढाउने कार्य हो। अझ पछिल्लो समय स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन बनाएर अक्सिजन थुपारेर राखेका छन्। यी सबै गतिविधिले बजारमा अक्सिजन ग्यासको अभाव बढाएकोे छ। त्यसैले कोरोना महामारीमा अस्पताल र आइसोलेसनबाहेकको अक्सिजन भण्डारणमा रोक लगाउनुपर्छ। जसरी हुन्छ ग्यास उत्पादक उद्योगको क्षमता विस्तार गर्न र पूूर्ण क्षमतामा सञ्चालन गर्न सघाउनु पर्छ। त्यसका लागि सरकारले विद्युत् र कर छुट दिन सक्छ। कालोबजारी र तस्करी रोक्न जिल्ला र पालिकास्तरको अनुगमन समितिको सक्रियता खाँचो छ। कालोबजारी र तस्करी गर्ने व्यक्तिलाई कानुनमा भएको हदैसम्मको कारबाही गर्र्न जरुरी छ।