शताब्दी पुरुषका तीन आयाम
सत्यमोहन जोशी, नरकान्त अधिकारी र म, हामी तीन जना एकदमै मिल्ने पुराना साथी हौं। पहिलादेखि नै चिनजान छ। उमेर पनि उस्तै उस्तै, केही महिनाको फरक छ। उनी मेरो डेरामा पनि आइरहन्थे र वसन्ततिलका छन्दमा कविता सुनाउँथे।
भन्नुपर्दा, जोशीलाई हेर्नुपर्ने तीन आयाम छन्। एउटा सांस्कृतिक आयाम हो, दोस्रो साहित्यिक आयाम र तेस्रो प्रशासनिक आयाम। उनलाई संस्कृतिविद् भनेर चर्चा गर्ने चलन छ, अरू दुई पक्षका बारेमा खासै चर्चा भएको छैन। त्यतातिरबाट अरूले हेरेका छैनन्। म त साहित्यिक मान्छे। पहिले म उनको साहित्यिक व्यक्तित्वकै कुरा गर्छु। जोशीले नेपाली र नेवारी भाषामा कविता, नाटक र महाकाव्य लखेका छन् तर तिनको यथोचित चर्चा भएको छैन। मैले कुरा मात्र उठाएको, कृति खोजेर पढ्ने र समालोचना गर्ने काम समालोचकको हो।
सत्यमोहन जोशी काठमाडौंका मानिस भएर पनि मेरो गाउँ, मेरो जिल्ला लमजुङमा आई लोकसंस्कृतिको अध्ययन गरे। लोकसंस्कृतिका क्षेत्रमा काम गर्ने सम्भवत: उनी नै पहिलो व्यक्ति हुन्।
दोस्रो आयाम हो प्रशासनिक कामको। उनीसँग कुशल प्रशासनिक क्षमता थियो। उनी नाचघर तथा पुरातŒव विभागको निर्देशक पनि भए। त्यतिबेला कांग्रेसको सरकार थियो। उनले त्यही प्रशासन र अनुसन्धानको अनुभव गर्नु, संस्कृतिको अनुसन्धानको काम गरे। अरू खालको होइन, उनी ललितपक्षकै प्रशासक थिए। साहित्य कला सांस्कृतिक क्षेत्रका प्रशासक। अरू कामका प्रशासक होइन। उनले प्रज्ञा प्रतिष्ठानका सदस्यसचिवमा रहँदा उत्तम पशासकको भूमिका निर्वाह गरे। त्यो उत्तम र आधारभूत प्रशासनिक काम थियो। त्यही प्रशासनको जगमा प्रज्ञा प्रतिष्ठान अहिले पनि चलिरहेको छ। उनको त्यो कार्य नै प्रज्ञाको प्रशासनिक आधारशीला बन्न सक्यो।
अर्को हो, उनको सांस्कृतिक आयाम। उनी काठमाडौंका मानिस भएर पनि मेरो गाउँ, मेरो जिल्ला लमजुङमा आई लोकसंस्कृतिको अध्ययन गरे। उहाँको त्यो अनुसन्धान ‘शारदा’मा छापिएको थियो। यसरी लोकसंस्कृतिका क्षेत्रमा काम गर्ने सम्भवत: उनी नै पहिलो व्यक्ति हुन्। मेरो गाउँको लोकसंस्कृतिबारे उनी मभन्दा बढी परिचित छन्। प्रज्ञामा रहँदा उनले जुम्ला संस्कृतिको अध्ययन पनि गरे। टुचीले पनि त्यस क्षेत्रको संस्कृतिबारे अध्ययन र बयान गरेका छन्। रवीन्द्रनाथ टैगोरले पनि त्यो सुनेर बयान गरेका छन्। उनले यसरी प्रज्ञामा हुँदा विद्वान्को टोली लिएर कर्णाली गई त्यसको सबै पक्षका बारेमा अध्ययन गर्न पनि भ्याए। टोलीले त्यहाँको सांस्कृतिक वैभवको पूर्ण अध्ययन भयो। अध्ययनको किताब प्रकाशित भयो र ती सबैले मदन पुरस्कार पाए।
वास्तवमा काठमाडौं बाहिरका सांस्कृतिक सम्पदा बेस्याहार रूपमा रहेका छन्। काठमाडौंमा चाहिँ अझै संरक्षित नै भएको छ। सत्यमोहन जोशी त काठमाडौं उपत्यकानिवासी। नेवारहरू हिन्दू र बौद्धमा दुवै छन्। दुवैथरी आआफ्ना संस्कृति रक्षामा लागिपरेकै छन्। उनीहरू मन्दिरमा देवीदेवताको मूर्ति स्थापना गरी पूजा गर्ने जाति, समुदायको रूपमा परिचित छन्। काठमाडौं यस हिसाबले सांस्कृतिक वैभवले सम्पन्न छ। यही बसेर सत्यमोहनले नेपाली संस्कृतिका विभिन्न पक्षबारेमा प्रशस्त अध्ययन गरेका छन्। अरू विद्वान्हरूले पनि उपत्यकाको संस्कृतिको अध्ययन गरिरहेका छन्। कसको तुलनामा कसले कति काम गरेका छन् त्यो त मलाई थाहा छैन।
नेपाल कलाहरूको स्वर्ण क्षेत्र हो। सत्यमोहन त्यसका अध्येता हुन्। त्यसैकारण पनि उनी सांस्कृतिक विद्वान्का रूपमा चर्चित भएको हुनुपर्छ। विशेषगरी आफ्नो संस्कृतिको अध्ययन आफैंले गर्नुपर्छ। आन्तरिक रूपमा नेपालका विशेषताहरू चिनाउने काम नेपाली विद्वान्हरूकै हो। विदेशीको खोजीले मात्र हाम्रा सबै सूक्ष्म कुरा बाहिर आउन सक्दैनन्। उनीहरू सायद ल्याउन पनि चाहँदैनन्। झल्याकझुलुक बढी हुन्छ, भद्दा कुरा बाहिर ल्याउँछन्। सत्यमोहनले गरेको दुई संस्थाको प्रशासनिक काम बिर्सिन नसक्ने खालका छन्। संस्कृतिबारे हामीले आफ्ना संस्कृतिले संरक्षण गरेका दैवी गुणहरूको पनि अध्ययन गर्नुपर्छ।
हाम्रा संस्कृतिका जरा धेरै पुरानो छन्। हामी वेदकालीन, त्यसभन्दा पनि अघिको र बुद्धकालीन तन्त्रमन्त्र सहितका संस्कृति चिन्तनले सम्पन्न छौं। आठ दस हजार वर्ष अघिदेखि चलेर आएको हाम्रो संस्कृति र सभ्यताको दैवी गुण चिन्ने चिनाउने काम हामीले गर्नुपर्छ। प्रसंगवश दसैंकै कुरा गरौं। त्यो मान्यजनबाट टीका ग्रहण, आशीर्वचन लिने पर्व हो। चण्डीको कथा सुन्दा त्यो काल्पनिक जस्तो लाग्छ। त्यहाँ देवीले महिषासुर दमन गर्ने कथा छ। र, त्यस कथाभित्र मनोविज्ञान छ। महिषासुरले हामीमा विद्यमान तीनवटा चेतनामध्ये अवचेतनको प्रतिनिधित्व गर्छ। चण्डीको प्रथम चरित्रको कानेगुजीबाट निस्केका मधु कैटभ अवचेतन मनका प्रतीक हुन्। उत्तम चरित्रमा वर्णित शुम्भ, निशुम्भ पनि अवचेतन शक्ति वा पक्ष वा मनका रूपमा आएका छन्।
देवी तथा असुरको कथा मिथकका रूपमा आएको छ। देख्दा, सुन्दा रमाइलो लाग्छ, घरघरै देवी आउने कुरा। देवीले राँगो चढेर आउने महिषासुरलाई दमन गर्ने कुरा। राँगोकै कुरा गरुँ : त्यो उन्मत्त अवचेतनाको प्रतीक हो। त्यो नबुझ्दा अरूले हामीलाई अन्धविश्वासी र आफूलाई राम्रो भन्छन्। तर हाम्रो संस्कृतिमा मानवीय मूल्य र उच्च आध्यात्मिक चेतना छ। यस्ता संस्कृतिक पक्षलाई अध्ययन चिन्तन गर्ने विद्वान्को कदर गर्ने संस्कृति व्यवहारमा ल्याउनु पर्छ। महात्मा गान्धीले संस्कृतिको एक अंगका रूपमा अहिंसालाई व्यवहारमा ल्याउँदा चमत्कार भयो। त्यो कुरा हामीले पनि गर्नुपर्छ। नेपालको कला संस्कृति बुझ्न र व्याख्या गर्न सत्यमोहनसँगै अरू विद्वान् पनि आउनुपर्छ। सबै मिलेर काम गर्नुपर्छ।
प्रस्तुति : वासुदेव अधिकारी (शतांक, शब्द संयोजन)