कोरोनाभित्र कोकशास्त्र
अठोट गरें कि कोरोना उपन्यासलाई सकेसम्म यौनप्रधान बनाउने। अचेल यौवन र धनलाई सोपान बनाएर कतिले कति ठूलो पद पाइसकेका छन्। कतिवटा बंगला र गाडीका मालिक बनिसकेका छन्। यस्तो उपन्यास लेखेर कुनै ठूलो अपराध गर्दिनँ होला।
छिमेकी मुलुक चीनको बुहानको प्रयोगशालाबाट ग्यास चुहेर चुहान सहरभरि फैलियो। बुहानमा पढ्ने नेपाली विद्यार्थीलाई नेपाल वायुसेवाको चार्टर फ्लाइटबाट तिनीहरूलाई ल्याएर १५ दिनसम्म खरिपाटीमा सर्वपथ्रम निर्मित क्वारेन्टाइनमा राखियो। उनीहरूको पीसीआर नेगेटिभ प्रमाणित भएपछि आआफ्ना परिवारमा पठाइयो। हुनत बुहानको माछा–मासु पसलबाट फैलिएको भाइरस पनि भनियो।
वैज्ञानिक परीक्षणबाट मात्रै यो कुरो थाहा हुनुपर्ने भएकाले जनसाधारण रनभुल्लमा पर्नु पनि स्वाभाविक हो। चीनपछि छिमेकी राष्ट्र भारतमा यो भाइरस पुगेपछि चियोचर्चाको विषय हुनपुग्यो। जेसुकै होस्, यो कोरोना भाइरस साधारण किसिमको भाइरस थिएन। भारतमा भारतभर नारा गुन्जियो ‘कोही नही रोड पर’ तथा ‘कोरोनाको धोना है’। यो नारा जति सजिलोसित लगाइयो त्यो धेरै सुगम थिएन। यता २०७६ चैत ११ गतेदेखि काठमाडौंमै पनि लकडाउन सुरु भयो। कोरोनाको कोहोलोले कान पाक्न थाल्यो। लकडाउनमा बाहिर जाने कुरो पनि भएन। दिनरात कोरोनाको कहर र लहर कर्णगदरमा जबर्जस्ती धुस्न थाल्यो। यसले गर्दा आजित भइसकेको थिएँ। गर्ने के ? प्रश्न उठ्यो।
बिहान दैनिक पत्रपत्रिकाहरू पढ्ने। दिउँसो खाना खाने र आराम गर्ने बाहेकको काम थिएन। बेलुका टेलिभिजनको पर्दामा कोराना पीडितबाट मृतकहरूको लास हेरेपछि कहाली लाग्ने। भागेर जाने कहाँ ? धरातलीय यथार्थको कटु अनुभव गर्दा गर्दै कहिले ओछ्यानमा धरासायी हुने। सपनामा पनि कोरोनाको कहरले नछोड्ने। हे राम ! के गरेको यस सुन्दर सृष्टिमा ? एबोला भाइरसले सीमित क्षेत्रमा आफ्नो दुष्टता र क्रुरता देखाएको थियो तर यो कोरोनाले त सम्पूर्ण विश्वलाई निल्ने घृष्टता गरेको छ। यो धेरै विषालु भाइरस नयाँ किसिमको भएकाले वैज्ञानिकहरू पनि छक्क परेका थिए। न यसको कुनै दवाई, न कुनै टीका र न कुनै उपाय संसारको सामुन्ने थियो।
आफू त झन् ‘लिख लोदा पढ पत्थर’ अर्थात् अनाडी, अबुझ र अज्ञानी। एक दिन दिमागमा आयो किन यो कोरोनाको बारेमा एउटा उपन्यास नलेख्ने ? पाँच वर्षअघि हिन्दी भषामा एउटा उपन्यास ‘सुनीता को सुनें’ लेखिसकेको थिएँ। झन् अर्को उपन्यास मैथिली भाषामा किन न लेख्ने ? मैथिली भाषा साहित्यमा उपन्यास लेखनको अभाव नै रहेछ। मैथिली भाषा साहित्यमा पढ्ने संस्कृतिको सर्वथा अभाव पनि खटकिन्छ। मैले अठोट गरें कि मैथिली भाषामा नै कोरोना विषयक उपन्यास लेख्ने।
यो पनि छापामा पढेको थिएँ कि चीनमा लकडाउनको दौरान पति–पत्नीमा झगडा हुने। घरमा केही काम नहुने। सधैं घरमा बस्दा बस्दै बोर हुने। यहाँसम्म कि कतिपय दम्पत्तिमा तलाकसम्मको स्थितिको सृजना हुन गयो। अर्कोतिर पति–पत्नी केही काम नगरेर सेक्स मात्र गर्ने र बेबी बुमको खबर आउन थाले। यो हुनु पनि सर्वथा स्वाभाविक थियो। मैले अठोट गरें कि कोरोना कालमा रचित उपन्यास सेक्सप्रधान भए झन् मनोरञ्जनको साधन पनि हुन्छ। समय पनि सजिलोसित व्यतित हुन्छ। पाठकहरू रुचाउँछन् पनि किनभने अचेलको यौन कुण्ठा पीडित समाजमा यसको लोकप्रियता पनि बढ्छ।
कोकशास्त्र पढ्न थालें। यसका विभिन्न आसनको बारेमा ज्ञान हासिल गर्न थालें। त्यसपछि वात्स्यायनको कामशास्त्र पनि पढ्न थालें। अन्त्यमा निर्णय गरें कि म पनि प्रस्तावित उपन्यासलाई सेक्सै सेक्सले भरिएको यौन उत्तेजक, मौन भावना पूरित र यौनिक रसमा सराबोर गरेर लेख्छु। दिमागमा यस्तै कुरा सोच्दा सोच्दै सेक्सबाहेक केही कुरो नै आउँदैन थियो। हो, यौन र धनप्रति कसलाई आकर्षण हुँदैन ? सबैभन्दा बढी मानिसको ध्यान तान्ने यौन नै हुन्छ। यसैका लागि समाज र देशमा दिनहुँ विकराल एवं विभत्स घटना हुँदै गएको पाउँछौं। प्रेम पनि यौनमै परिणत भइसकेको छ। लोभ, लालच, आर्थिक प्रलोभनमा सम्पूर्ण दुनियाँ फस्दै गएको छ।
सबैभन्दा मसलादार विषय नै यौन हुन्छ भनेर कोरोना उपन्यासको रचनागर्भमा यौन भावना भर्ने कोशिस गरें। यौनको रंगीन र आकर्षक दुनियाँमा को रमाउँदैन ? कोही खुलमखुल्ला, कोही लुकीछिपी, कोही नाही–नाही माथिबाट गर्दै भित्रबाट यसैमा चुर्लुम्म डुबेर चरम आनन्द प्राप्तिको अनुभव गर्ने। सेक्सले नै दुनियाँमा कत्रो कत्रो घटना घटाइसकेको छ। यसका लागि राजपाट नि छोड्ने कति भइसके संसारको सबैभन्दा रहस्यमय कुरो यो भइसकेको छ। यसको रहस्योद्घाटन अहिलेसम्म भइसकेको छैन।
हाइस्कुल पढ्दा हिन्दीका प्रसिद्ध लेखक समवृक्ष बेनीपुरीको नाटक ‘नेत्रदान’ पढेको थिएँ। यसमा के लेखिएको पाइन्छ भने ‘बूढा भोग नहीँ सकता तो छोड भी नहीँ सकता’ यो सबै कुरा पढ्दा, सुन्दा र जान्दा मैले पनि अठोट गरें कि कोरोना उपन्यासलाई सकेसम्म यौनप्रधान नै बनाउने। अचेल यौवन र धनलाई सोपान बनाएर कति जनाले कति कति ठूलो पद पाइसकेका छन्। कतिवटा बंगला र गाडीका मालिक बनिसकेका छन्। यस्तो उपन्यास लेखेर मैले कुनै ठूलो अपराध गर्दिनँ होला।
यसै विषयवस्तुलाई केन्द्रमा राखेर मैले कोरोना उपन्यास लेख्न सुरु गरें। वैशाख १, २०७७ देखि सुरु गरेर मसान्तसम्म लेखिसिध्याएँ। मेरो दिनचर्या नै भइसकेको थियो बिहान अखबार पढ्ने, दिउँसो स्नानादि गरेर पूजापाठ गर्ने र त्यसपछि एक घण्टा सुत्ने। सुतेपछि नियमित एक घण्टा कोरोना उपन्यासको केन्द्रविन्दुमा केन्द्रित हुने। यो लेख्दा मलाई अपार आनन्दको अनुभूति हुन थाल्यो। सेक्स गर्नुभन्दा बढी मैले यसको लेखनमा सर आनन्द यौनिक सन्तुष्टि लिन थालें। मेरो उद्देश्य थियो, मैथिलीका युवापिढीमा पठन संस्कृतिको संस्कार बसाल्ने। यसबाहेक यस उपन्यासलाई युवावर्गले लुकिछिपी पढ्ने कामशास्त्रजस्तो बनाउने। घरपरिवारमा पनि खुलमखुल्ला यसलाई नपढ्ने किनभने हाम्रो समाज खासगरेर मिथिला समाज अझ पनि धेरै शिक्षित भएको छैन। अझ पनि ढडियानुस विचार राख्दछ। सामाजिक मानमर्यादामा कति पनि आघात नपुर्याउने। सिर्फ मनोरञ्जन, मनोरञ्जन, मनोरञ्जन र कोरोनाको हर कुनै किनाराबाट, कुनै कोणबाट कोठामा प्रवेश नगरोस् भनेर गाउँको पात्रहरूलाई चयन गरेर यसमा प्रस्तुत गरें।
उपन्यासमा चित्रित गौरी यस्तै एउटा नारी पात्र छन् जुन सेक्सको प्रतिमूर्ति भइदिइन्। गाउँबाट आएको तर काठमाडौंको माहौलमा उनले आफूलाई कहीँ समायोजन गर्छिन् र नेताहरूको मनोरञ्जनको साधन बन्दै अन्त्यमा सांसद बनेर आफ्नो महत्वाकांक्षालाई पूरा गर्छिन्। आफ्नै शिक्षकसँग कथित विवाह गरेर अन्त–अनन्तसम्म उसप्रति तन, मन र धनले समर्पित हुन सकिनन् किनभने उनको दुनियाँ अन्त्यन्त रंगीन भइदियो। यस्तो रंगीन दुनियाँमा जो पनि रमाउन चाहन्छ तर सबैले यस्तो मौका पाउँदैन। अर्कोतिर चाँदनी पनि त्यसै गाउँकी नारी पात्र छन् जुन दिनरात मेहनत गरेर मेडिकल डाक्टर बनेर समाजको सेवामा समर्पित गर्छिन्। आफू र पतिलाई पनि त्यस्तै सेवा समर्पणको भावनाबाट आजीवन प्रेरित र प्रभावित गरिरहन्छिन्।
मैथिली भाषा साहित्यमा यो उपन्यास सर्वप्रथम अक्षरादि क्रममा लेखिएको छ। ‘क’ देखि सुरु गरेर ‘म’सम्ममा टुङ्ग्याउने प्रयास गरिएको छ। अन्तिम परिच्छेद ‘म’ अर्थात् मृगतृष्णामा आमूल परिवर्तन गरिएको छ किनभने शुभचिन्तक मित्रले सुझाव दिए कि यसलाई यसैरूपमा प्रकाशित गरिने हो भने महिला अधिकारकर्मीहरूलाई पच्दैन। उनीहरूको कडा प्रतिक्रिया आउन सक्छ। म पनि झस्कें।
राष्ट्रिय मानवअधिकार आयोगमा आयुक्त भएर काम गरिसकेको मानिस म पनि। अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ला भनेर यसलाई धेरै संयमित बनाउने सुरसारमा संलग्न हुनुपर्यो। जसले गर्दा एक महिनाभित्र लेखिएको उपन्यास एघार महिनापछि प्रकाशित भएर आयो। अन्त्यमा मिथिला लेखक मञ्च दरभंगाबाट यो प्रकाशित भएर लकडाउनमा नै जनकपुरसम्म आइपुग्यो।
कोरोनाको बारेमा नेपाली साहित्यमा पनि कुनै उपन्यास अहिलेसम्म लेखिएको छैन। हिन्दी भाषामा पनि अहिलेसम्म लेखिएको छैन। लाग्छ, सम्पूर्ण एसियामा नै यस विषयमा उपन्यास लेखिएको छैन। यूरोप अथवा अमेरिकामा कोरोनाको विषयमा लेखिएको उपन्यास पनि अहिलेसम्म प्रकाशित भएको छैन। निकट भविष्यमै यस उपन्यासको विमोचन हुनेवाला छ। जे भए पनि मैले अठोट गरेको र कोरोनाकालको दुःसाध्य समयको साहसको साथ सामना गर्दै एउटा औपन्यासिक कृति मैथिली साहित्यमा लेख्नाको आत्मसन्तुष्टिको अनुभव गरिरहेको छु।