लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दो
बुटवल : कोरोना महामारीको दोस्रो चरणमा हटस्पट बनेको लुम्बिनी प्रदेशमा संक्रमण दर घट्दै गएको छ। पछिल्लो तीन दिनको तथ्यांकले संक्रमण दर घटेको देखाएको हो।
लुम्बिनी प्रदेशका बाँके र रुपन्देहीमा संक्रमण दर उच्च थियो। यी दुई जिल्लामा पनि संक्रमितको संख्या घट्दै गएको छ।
लुम्बिनी प्रदेशमा कोरोना परीक्षण गरेकामध्ये शनिबार ४८ प्रतिशत मात्रै पोजेटिभ देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शनिबार ४ हजार ८२ जनाले परीक्षण गरेमध्ये १९ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ।
यो तथ्यांक शुक्रबारको तुलनामा करिव १२ प्रतिशतले कमी हो। शुक्रबार परीक्षण गरिएका २५ सय ६५ जनामध्ये १५ सय ६२ जनामा पोजेटिभ देखिएको थियो। यो संक्रमित हुनेको संख्या ६० प्रतिशत हो।
बिहीबार परीक्षण गरिएकामध्ये ७१ प्रतिशतमा पोजेटिभ देखिएको थियो। २८ सय ९७ परीक्षण गर्दा २ हजार ६६ जनामा पोजेटिभ देखिएको थियो।
रुपन्देहीको तथ्यांकमा शनिबार केही कमी आएको हो। शुक्रबार परीक्षण गरिएकामध्ये ६४ प्रतिशतमा संक्रमण देखिएको थियो। शनिबार त्यो प्रतिशत ५६ मात्रै छ। शनिबार १२ सय ४१ जनाको परीक्षण गर्दा ६ सय ९८ जनामा पोजेटिभ देखिएको छ। रुपन्देहीमा शनिबार ९ जनाले ज्यान गुमाएका छन्।