कोरोनाले वडा अध्यक्षको मृत्यु
बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको कोरानाका कारण मृत्यु भएको छ।
अत्याधिक ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले जिल्ला अस्पताल बाजुरामा पुर्याएका थिए। अस्पतालमा कोरोना चेक गर्दा पोजेटिभ देखिएको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल पर्सन चुडामणि पन्तले जानकारी दिएका छन्।
जिल्ला अस्पताल बाजुरामा उपचार असम्भव भएपछि शनिबार दिउँसो डडेलधुरा रिफर गरिएको थियो। रिफर गरिएका विक बाटोमा लाँदै गर्दा अछामको साफेबगरमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
विकलाई जिल्ला अस्पताल पुर्याउदा नै गाह्रो थियो। अक्सिजनसहित भ्यान्टिलेर आईयु आवस्यक थियो। त्यो बाजुरामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले जानकारी दिए।
जिल्ला अस्पताल बाजुरामा दुई भ्यान्टिलेर बेड र दुई आईसीयू बेड रहेका छन्। तर प्रर्याप्त अक्सिजन र भ्यान्टिलेरट संचालनका लागि जनशक्ति अभावका कारण संचालनमा छैन। भ्यान्टिलेटर संचालनका लागि बाजुरामा मौजाद रहेको अक्सिजन एक दिनलाई पनि प्रर्याप्त छैन कसरी संचालन हुन्छ स्वास्थ्यकर्मीले बताए।
घर घरमा बिरामी छन् सामान्य हुँदा कोही परीक्षण गर्न आउँदैन। अन्तिम समयमामात्र आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । वडा अध्यक्ष विक बिगत एक हप्तादेखि बिरामी भएर घरमै थिए । शनिबार अन्तिम अवस्थामा पुगेर जिल्ला अस्पताल ल्याइएको कोरोना फोकल पर्सन चुडामणि पन्तले बताए।
बाजुरामा दोस्रो भेरिएन्ट सहितको कोराना गाउँगाउँमा फैलिएको छ। बाजुरामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ। भने २ जनाको मृत्यु भएको छ।