मंगलको मंगल कार्य
बुटवल : गएको वर्ष यही समय छिमेकी दाइ बिरामी परे। दजर्नजति एम्बुलेन्सलाई फोन गरे। कसैले आउन मानेनन्। भैरहवा अञ्चलपुरका मंगल भण्डारीसँग गाडी थियो। छिमेकी चाहिने आपत्विपत्मा त हो भन्दै भण्डारीले घरभित्र राखेको गाडी निकाले। छिमेकीलाई बोकेर भैरहवाकै मेडिकल कलेज पुर्याए। बिरामीमा कोरोना देखियो। भण्डारीभन्दा पनि उनका परिवार आत्तिए।
‘मंगल यसरी नहिँड्, तँलाई कोरोना लाग्यो भने के हुन्छ ?’, बुवाले सम्झाए। ३८ वर्षीय भण्डारी पछि हटेनन्। बरु बुवाआमालाई सम्झाए। घरमा हजुरआमा, आमाबुवा, श्रीमती, दाजुभाइको संयुक्त परिवारमा रहेका उनी त्यसयता कैयौं बिरामीलाई बोकेर बुटवल–भैरहवाका सबै अस्पतालमा पुगे।
‘पोहोर २ सय जनालाई अस्पताल पुर्याएँ। अहिले ४५ जना भए होलान्’, शनिबार अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा उनले हिसाव लगाए। उनीसँग कुराकानी गरिरहँदा बेलहियाबाट बिरामीलाई अस्पताल लैजान सहयोग गर्नुपर्यो भन्ने फोन आइरहेको थियो।
‘बेलहियाबाट एक जना महिलाको फोन आयो। घरमा दुई महिला मात्रै छन् रे’, उनले भने, ‘अस्पतालमा बेड छैनभन्दा पनि पेटीमै लगेर भए पनि राखिदिनुस् भनेका छन्। अब उतै जान्छु।’
उनमा सहयोगको भावना एम्बुलेन्सको आनाकानीपछि आएको रहेछ। बिरामी बोक्नै बनेका एम्बुलेन्सले नबोकेपछि उनी गएको वर्षदेखि नै महामारीमा नामजस्तै मंगल काम गरेर हिँडिरहेका छन्। रुपन्देहीका जुनसुकै स्थानबाट फोन आए पनि उनी बिरामी लिन पुग्छन्।
ओमसतिया गाउँपालिका–२ अञ्चलपुर बस्ने उनलाई दिनमै कैयौं फोन आउँछ। जति भ्याउँछन् त्यति स्थानमा पुग्छन्। फेसबुकबाट उनको फोन नम्बर पाउनेहरू धेरै छन्। गाडीको पछिल्लो भागमा सिट छैनन्। त्यहाँ बिरामी सुताउँछन्। छेउमै अक्सिजन सिलिन्डर छ। अक्सिजन चाहिनेलाई सिलिन्डर लगाइदिन्छन्। कठिन अवस्थाका बिरामी बोक्न जाँदा स्वास्थ्यकर्मीको सहयोग पनि लिन्छन्।
आफैं ड्राइभरको सिटमा बस्छन्। मास्क लगाएका छन्। स्यानिटाइजरले हात सफा गरिरहन्छन्। मौका मिल्दा पञ्जा लगाउँछन्। उनलाई कुनै स्वार्थ छैन। सकेसम्म सेवा गर्छु भन्ने भावना उनमा छ।
‘यो नौलो रोग भयो, पहिला सबै मान्छे डराए, अहिले कम डराउँछन्। तर, अवस्था झन नाजुक छ’, उनले भने, ‘बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्छ भन्ने मेरो सोच छ। त्यसैले सहयोग गरिरहेको छु।’
गत वर्ष सिद्धार्थनगर नगरपालिका–५ का वडासदस्य सुवोध तुलाचनलाई आफ्नै गाडीमा बोकेर मेडिकल कलेज पुर्याए। उनको स्वास्थ्य अवस्था नाजुक थियो, तुलाचन बाँचेनन्।
‘गत वर्ष त मैले अस्पताल पुर्याएका धेरै बिरामी निको हुनुभयो। तीन जनाको मात्रै मृत्यु भएको थियो’, उनले भने, ‘यो वर्ष त पाँच जनाको ज्यान गइसक्यो।’ पछिल्लो महामारी भएपछि उनलाई बोलाउन थालेको २० दिन जति भएको छ।
अस्पतालमा बेड नपाउने गरेकामा उनलाई चिन्ता छ। बिरामीले फोन गर्छन् तर अस्पतालमा राख्ने ठाउँ छैन। भैरहवाको भीम अस्पतालका पेटीमा धेरै बिरामीलाई सुताएर फर्किएका छन्, उनी।
उनी बिरामी बोक्न जानुअघि डाक्टरलाई फोन गर्छन्। बेड उपलब्ध हुन्छ कि नाई भन्दै सोध्छन्। बेड नभएपछि बिरामीको मागअनुसार अस्पतालको पेटीसम्म छाडेर फर्किन्छन्। सरकारले छात्रवृत्ति दिएर धेरै डाक्टर उत्पादन गरेको उनलाई थाहा छ। ‘यो महामारीमा ती डाक्टरले स्वयम्सेवा गर्नुपर्दैन ? सरकारले काममा लगाउन बोलाउनुपर्छ’ उनको भनाइ छ।
अघिल्लो पटक त नयाँ रोग थियो। तयारी गर्न समय मिलेन। यो पटक तयारी गर्न सकिन्थ्यो। सरकारले तयारी नगरेका कारण भयावह स्थिति आएको उनको बुझाइ छ। अहिलेका बिरामीलाई अक्सिजन मात्रै दिन सक्ने हो भने पनि धेरै जनाको ज्यान बच्ने उनको विश्वास छ। धरै जना आत्तिएरै अन्तिम अवस्थामा पुग्ने गरेको उनले देखेका छन्। स्थानीय तहले गाउँमै अस्पताल बनाएर अक्सिजनको व्यवस्था गर्न सके धेरै नागरिकको ज्यान बच्ने उनको भनाइ छ।
संक्रमितलाई गाडी चढाउने, ओराल्ने, बोक्ने गर्ने उनी अहिलेसम्म संक्रमणमा परेका छैनन्। ‘यस्तो महामारीले जसले जे सक्छ, त्यही सहयोग गर्नुपर्छ, सिद्धार्थनगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रहेका उनले भने, ‘सबैको सहयोग हुने हो भने महामारीबाट बच्न सकिन्छ।’
उनीसँग कुराकानी भइरहँदा उनको मोबाइलमा घण्टी बजिरहेको थियो। ‘हेल्लो, म हिँडिहाले है’, उनले फोन उठाएर ती महिलालाई भने। आफ्नै प्रतीक्षामा रहेका बिरामी लिन उनी बेलहियातिर हुइँकिए।