यो मन त मेरो नेपाली हो !
काठमाडौं : वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. वीरेन्द्र झाको ६ जनाको परिवारै कोरोना लागेर घरमै आइसोलेसनमा थियो। बाहिरबाट मान्छे बोलाउन नमिल्ने। आफन्त, छरछिमेकी आउने कुरा पनि भएन। खाना बनाउनै असहज अवस्था थियो। त्यही बेला डा. झालाई फोन आयो। रवि सिंहले फोन गरेका रहेछन्।
सिंहले ललितपुरमा मित्रां दा ढावा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। ५० जनालाई एकैपटक खाना खुवाउने क्षमता रहेको उक्त रेस्टुरेन्ट ग्राहकलाई अहिले बन्द छ। तर, कोरोना भाइरसबाट संक्रमितहरूका लागि भान्साघर बनिरहेको छ। सिंहले निषेधाज्ञा अवधिमा समस्यामा परेका मजदुर मात्रै होइन, अरुलाई पनि साँझ–बिहान आफ्नै गाडीमा राखेर खाना पुर्याउने गरेका छन्। निःशुल्क।
रविका बाबु–आमा राजा महेन्द्रका पालामा भारतबाट नेपाल आए। काठमाडौंमा व्यापार गरे। रेस्टुरेन्ट चलाए। यताकै रैथाने भए। रवि यतै रमाए। ढिला नेपाली नागरिकता पाए। परिवारका आधाजसो सदस्य भने अझै नेपाली बन्न सकेका छैनन्।
कोरोना संक्रमणले अप्ठ्यारो परेका ढोकामा अचेल उनै रविको गाडी हर्न बजाउँदै पुग्छ। खाना छाड्छ। र, अर्का संक्रमितकहाँ खाना पुर्याउन हतारिएर हुइँकिन्छ। भारतीय मूलका भए पनि उनलाई अब नेपालै आफ्नो लाग्छ। भन्छन्, ‘मलाई यही देशले माया दियो। यहींको माटोमा कर्म गरें। फल पाएँ। जे–जति छ, यहींको छ।’
सिंहले कामदारलाई रेस्टुरेन्टमै आइसोलेसनमा राखेका छन्। सामान्य अवस्थामा ११ जना स्टाफ राखेर सञ्चालन भइरहेको ढावा अहिले चार जनाले चलाएका छन्। टिम मिलाएर पालैपालो काम गर्छन्। उनीहरूसँगै मिलेर आफैं खाना बनाउने गर्छन् सिंह।
सिंह खाना बनाउनुअघि बिरामीलाई मेनु ह्वाट्सएपमा पठाउँछन्। मधुमेह, उच्च रक्तचाप, अन्य रोगका बिरामीले रोजेअनुसारको खाना मात्रै पुर्याउने गर्छन्। मासु चल्नेलाई त्यहीअनुसार, शाकाहारीलाई त्यहीअनुसार तयार पार्छन्। कोही खाना खान नसक्ने हुन्छन् उनीहरू सुप मगाउँछन्। उनीहरूलाई सुप मात्रै प्याक गरेर पुराइदिन्छन्।
‘ठूलो रकम सहयोग गर्ने र धेरैलाई सेवा पुराउने सक्ने ठुलो व्यापारी हैन म। तर, आफुसंग भएको खाना भोका मानिसहरूलाई बाड्न त सक्छु नि’, उनी भन्छन्। उनी कोही समस्यामा परेको थाहा पाउनासाथ तुरुन्तै पुगिहाल्छन्।
सामाजिक सेवाभाव अरूले सिकाउने कुरा नभएको उनको बुझाइ छ। थोरै भए पनि अरुका लागि सहयोग गर्न पाउदा आनन्द र सन्तुष्टि मिल्ने उनी सुनाउँछन्।
उनले करोडौं सम्पत्ति हुनेहरूलाई पनि अहिले सहयोगविहीन बन्नुपरेको अवस्थामा देखेका छन्। भन्छन्, ‘छोराछोरी विदेशमा, बुढाबुढी यहाँ ओछ्यान परेका हुन्छन्। स्याहार गर्ने कोही हुँदैन। यस्तै अवस्थामा चाहिने हो अपनत्व र माया। थोरै पनि हेरचाहको आवश्यकता।’
समस्या परेका परिवार तथा व्यक्तिले उनलाई सामाजिक सञ्जाल तथा फोनबाट जानकारी गराउँछन्। उनको रेस्टुरेन्टको पेजमा ५० हजारभन्दा बढी सक्रिय फलोअर्स छन्। यसकै आधारमा उनीकहाँ निःशुल्क खानाको अर्डर आउने गरेको छ।
उनको आफ्नै नामको फेसबुक पेज पनि छ। त्यसमार्फत उनी आफ्ना गतिविधि अपडेट गरिरहन्छन्। सामाजिक सञ्जाल र एक कान दुई कान हुँदै त्यही आधारमा उनीसँग खाना अर्डर गर्नेहरू आइपुग्छन्। उनको घर रहेको ठाउँका जनप्रतिनिधिले खाना सहयोगका लागि फोन गर्छन्। एउटै परिवारमा कैयौं दिन खाना पुर्याइरहन्छन् उनी। उनले काठमाडौं मेडिकल कलेजका २५ जनाका लागि नियमित खाना पुर्याएका छन्। दैनिक २ सयदेखी २ सय ५० जना कोभिड सक्रमित, आइसोलेसनमा बसेका व्यक्तिलाई साँझ–बिहान खाना खुवाउँछन्।
उनले भूकम्पका बेला पनि सामाजिक कार्य गरेका थिए। धादिङको चेपाङ बस्तीमा केही घर पुनर्निर्माण गरिदिएका थिए। अघिल्लो लकडाउनमा सयौं मजदुरलाई खाना तथा रासन उपलव्ध गराए। उनले अहिले पनि अत्यावश्यकहरूलाई रासन पनि उपलब्ध गराउँदै आएका छन्।
प्लाज्मा दानका लागि उनले समन्वय गरिदिन्छन््। प्लाज्मा अभावमा आईसीयूमा छट्पटाएका बिरामीका आफन्तले उनलाई फोन गर्छन्। उनले चिनजान, तथा साथी सर्कलमा समन्वय गरिदिने गरेका छन्। यसपटक तीन जना बिरामीलाई प्लाज्मा दान गर्न सकिएकोे उनी सुनाउँछन्। कोरोना संक्रमित भएका साथीहरूलाई प्लाज्मा दान गर्न अनुरोध गर्ने गर्छन्। भन्छन्, ‘कुनै पनि प्रकारको सहयोग चाहिए मलाई खवर गर्नुहोला। सकेको सहयोग सदैव गरिरहनेछु। त्यसका लागि मेरो फेसवुक पेजमा म्यासेज गर्नुभए पनि हुन्छ। या फोनमा सिधै खबर गर्नुभए पनि हुन्छ।’