आपत परे हेमराज छन्
धनगढी : कञ्चनपुरको बेलडाडी गाउँपालिकाका मीनबहादुर खत्री नोभा अस्पतालमा भर्ना भए। कोरोनाजस्तै लक्षण भएका खत्रीलाई चिकित्सकले अक्सिजनमा राख्नुपर्ने बताए। तर, अस्पतालमा त्यस्तै प्रकृतिका सयौं बिरामी उपचाररत रहेकाले अक्सिजन मिलेन। कसैले हेमराज ओझाको नम्बर उपलब्ध गराए।
खत्रीका छोरा खगेन्द्रले ओझालाई फोन लगाएर अक्सिजन चाहिएको बताए। ओझाले कता–कता प्रयास गरेर एक सिलिन्डर उपलब्ध गराए। यद्यपि, मीनबहादुरले शनिबार प्राण त्यागे। ‘मनले मान्दैन, अक्सिजन प्लान्टमै पुगेर जेनतेन जोहो गरियो’, ओझाले भने, ‘तर, बिहान नराम्रो खबर सुनें।’
कञ्चनपुरकै कृष्णपुर नगरपालिका–४ का वीरबहादुर सिंह धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूमा छन्। अस्पतालले शुक्रबार अक्सिजनको जोहो आफैं गर्न भन्यो। अस्पतालमा रहेको प्लान्टमा चाहिए जति अक्सिजन नआउन थालेपछि उनलाई आफैं खोज्न भनिएको हो। त्यहाँ पनि ओझाले एक सिलिन्डर पुर्याए। ‘वीरबहादुरको अवस्था ठीक छ भन्ने खबर पाएको छु’, ओझाले भने।
बैतडी घर बताउने जनकबहादुर धानुक कोरोना भई श्वास–प्रश्वासमा समस्या भएपछि शुक्रबार धनगढी आए। धनगढीका अस्पताल चहार्दा–चहार्दै धानुकले नवजीवन अस्पतालमा एउटा बेड पाए। तर, अक्सिजनकै समस्या थियो। उनका आफन्तले फोन गरेपछि फेरि अक्सिजन खोज्नमा जुटे ओझा। उनले बडो मुस्किलले एक सिलिन्डर जुटाए।
ओझाको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा हो। उनको अर्को घर धनगढी उपमहानगरपालिका–३ मा पनि छ। एमरेल्ड एकेडेमीका उनी संस्थापक अध्यक्ष हुन्। उनी एकाबिहानै उठेर बिरामीको सेवामा खटिन्छन्। बिहानको नित्यकर्म सक्यो कि उनी से.१च २४८० नम्बरको भ्यान लिएर बजारतिर जान्छन्। सरकारी र निजी अस्पताल, ग्यारेजहरू र अक्सिजन प्लान्ट आसपास भेटिने उनी जसले जे भन्यो त्यो सत्कर्मका लागि खटिहाल्छन्।
उनको त्यो भ्यान स्कुल चलेका बेला विद्यार्थी बोक्न प्रयोग हुन्छ। उनले त्यसमा चालक राखेका छन्। ‘यस्तो महामारीका बेला कसले चलाइदिन्छ भ्यान ? मलाई मनदेखि सेवा गर्न मन लाग्छ, अनि दिनभरि लागिरहन्छु’, उनले भने।
कृष्णपुरका वीरबहादुर चौधरीले शनिबार बिहानै फोन गरे। श्वास–प्रश्वासमा समस्या भयो, अस्पताल जान न एम्बुलेन्स पाइन्छ न त अटो नै। ओझा भ्यान लिएर चौधरीका घरमा पुगिहाले। चौधरीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
कोभिडका बिरामी हुन् वा अरू सामान्य बिरामी, अक्सिजन खोज्नुपर्यो, अस्पताल पुर्याउनुपर्यो, अस्पतालबाट घर पुर्याउनुपर्यो, कसैले समस्या राख्यो कि उनी त्यसको समाधानमा खटिहाल्छन्।
कृष्णपुर नगरपालिकामा घर भएकाले त्यहाँका बिरामीका बढी फोन आउने गरेको उनको भनाइ छ। कृष्णपुर–६ का गगने ओड र उनकी श्रीमती मन्दरीदेवी ओड चार दिनअघि बिरामी भए। हेमराजले उनलाई नजिकै अस्पताल पुर्याए भने उनका लागि अक्सिजनको पनि व्यवस्था गरे। दुवै जना सञ्चो भएर घर फर्किएका छन्।
ओझा अक्सिजन प्लान्टमा लाइन बसेर भए पनि बिरामीको सेवामा लागिरहेका छन्। दोस्रो चरणको निषेधाज्ञापछि मात्रै उनले २५ जनालाई अक्सिजन उपलब्ध गराएका छन्। उनले ३५ जनाभन्दा बढीलाई अस्पताल र अस्पतालबाट घर पुर्याउने काम गरेका छन्।
‘अस्पतालमा जान्छु, बिरामीका आफन्तका गुनासा सुनिन्छन्, अनि नरमाइलो लाग्छ’, उनले भने। उनी कतिपय बिरामीलाई खाना लिएर अस्पताल पुग्छन्। ‘मेरो विद्यालयको छात्रावास छ। त्यहाँ दैनिकजसो खाना बनिराख्छ। अस्पतालहरूमा जाँदा कसैले खाना नखाएको भन्छन्, दया लाग्छ, होस्टेलबाट खाना पुर्याएर पनि आउँछु’ उनले भने।
कैलालीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो। त्यसपछिका १० दिनमा ओझाले भ्यानको इन्धन, अक्सिजन फिलिङ, खानामा ९० हजार रकम खर्च भएको बताए। ‘मेरो खासै खर्च भएको छैन, कसैले अक्सिजनको रकम दिन्छन् पनि। तर, धेरैजसो पैसा छैन, त्यसैले अक्सिजन पाइएन भन्छन्। अनि कसरी रकम माग्नु, उनलाई त्यो सेवा गर्नुमै आनन्द आउँछ’ उनले भने।
उनले पहिलो चरणको लकडाउनमा सीमा नाकाबाट कैलाली र कञ्चनपुरका लागि आफ्नै भ्यानमा नेपालीलाई निःशुल्क सेवा दिएका थिए। घर जान साधन नपाएर अलपत्र रहेकाहरूलाई उनले निःशुल्क घर पुर्याएका हुन्। ‘पहिलो चरणको लकडाउनमा कैलाली र कञ्चनपुरमा मात्रै मेरो भ्यान १४ हजार किलोमिटर चलेको छ, अब यो मानवीय सेवा हो,’ उनले भने।
उनले, कसैका लागि सामान्य कुरा पनि ठूलो हुने बताए। ‘मसँग भ्यान छ, तर कुनै बिरामीलाई अस्पताल जान गाडी नपाएको बेला त्यही भ्यानको सेवा ठूलो हुनसक्छ,’ उनले भने, ‘मेरो गाडीले बडीमा २–३ सयको तेल खाला। तर, कुनै बिरामी मेरो त्यत्ति लगानीमा समयमै अस्पताल पुगेर निको भयो भने योभन्दा ठूलो सत्कर्म अरू के हुनसक्छ,’ उनले भने।