सलाम सत्कर्मी

सलाम सत्कर्मी

विपद् बाजा बजाएर आउँदैन। कोरोना कुनै एउटा सानो क्षेत्र, जिल्ला र प्रदेशमा मात्र होइन, देशैभरि र विश्वव्यापी महामारी हो। यसविरुद्ध सचेतना, रोकथाम, नियन्त्रण, संक्रमितको उपचार एवं खोप लगाउने सम्पूर्ण दायित्व सरकारको हो। नागरिकलाई सुरक्षित बनाउन सरकारले हरसम्भव प्रयास गर्नुपर्छ।

तर, एकैपटक त्यो पनि देशैभरी महामारीको प्रभाव परेकाले राज्यका निकायलाई काम गर्न हम्मेहम्मे परेको छ। संक्रमण समुदाय स्तरमा फैलिसकेको छ। दिनदिनै मृत्युदर बढेको बढ्यै छ। स्थानीय, प्रदेश र केन्द्र सरकारका साझा प्रयासका कारण विगतमा क्षति न्युनीकरण भएको थियो। दोस्रो चरणको कोरोना संक्रमण तीव्ररूपमा बढिरहेको बेला देशमा राजनीतिक अस्थिरता छ। दल टुटफुटको अवस्थामा छन्। सत्ताधारी र प्र्रतिपक्षी दल प्रदेश र केन्द्रमा सत्ताको खिचातानीमा जुटेका छन्। सत्ता टिकाउने र गिराउने खेलमा लाग्दा राज्य संयन्त्रले कोरोना महामारीलाई प्राथमिकता दिन नसकेको नागरिकमा आभास भएको छ। कोरोनाले पहिला राजनीतिक किचलो टुंगिन दिउँ भन्दैन।

राज्य सञ्चालनका अगुवा राजनीतिक नेताहरूले बरु पहिला कोरोना रोकथाम सकौं अनि सत्ताका लडाइँमा उत्रौंला भन्नुपर्ने हो। तर, त्यसको छनक पाइँदैन। त्यसैकारण बाध्य भएर यस महाव्याधिबाट कुशलतापूर्वक पार पाउने दायित्व हामी नागरिक समुदायकै काँधमा आएको छ। यतिबेला अस्पतालका शैया बिरामीले भरिएका छन्। अस्पताल नपुग्दै बाटोमै बिरामीको मृत्यु भइरहेको छ। अस्पताल पुगेका संक्रमितले शैया पाएका छैनन्। शैयामा हुनेहरू अक्सिजनको अभावमा छटपटाइरहेका छन्। कतिका घरभरि बिरामी छन्। पकाएर दिने कोही छैन। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ज्यानको बाजी लगाएर दिनरात संक्रमितको सेवामा खटेका छन्।

तैपनि स्थिति नियन्त्रणबाहिर जाँदैछ। यस्तो अवस्थामा सच्चा सत्कर्मी राज्यले अपेक्षा गरेको छ। त्यस्ता सत्कर्मी, जो पैसा उठाएर बाँड्ने, आधा आफूले राख्ने र फेसबुकमा फोटो छापेर प्रशंसा बटुल्ने नहुन्। त्यस्ता सत्कर्मी, जो स्वदेशी÷विदेशी दाताको सहयोगमा कोरोनालाई मलिलो ‘प्रोजेक्ट’ बनाउने नहुन्। देशले त त्यस्ता सत्कर्मी खोजेको छ, जो आफ्नै खर्च र श्रमले सेवा गर्न अग्रसर होऊन्। ठूलो होस् वा सानो मनको सहयोग गर्न तत्पर होऊन्। यो महामारीमा सानै सहयोग किन नहोस्, अँध्यारोमा दियो बलेझैं हुनेछ। र, ससानो सहयोग जुटाएर ठूलो गर्जो टर्नेछ। देशले खोजेको सत्कार्य त्यही हो।

कोरोनाको संक्रमण भयावह बिस्तारका माध्यम हामी स्वयं हौं। त्यसैले यसलाई रोक्ने जिम्मेवारी पनि हाम्रै हो। यसको रोकथामको जचेतना जगाउन हुन सक्छ वा अप्ठ्यारोमा परेकालाई राहत मिलाउन अनि उपचार नपाएर छट्पटिएकालाई उपचार दिलाउन सक्नु अहिलेको आवश्यकता हो। यसमा केही सहृदयी स्वःस्फूर्त अघि सर्न थालेको पाइएको छ। तिनीहरूको प्रशंसा मात्र होइन, तिनीहरूबाट समुदाले प्रेरणा लिन सक्नुपर्छ। राज्यको सम्पूर्ण पहुँच नभएको अवस्थामा रोगको रोकथाम र नियन्त्रणमा नागरिकस्तरबाट होस्टेमा हैंसे गर्न जरुरी छ।

विश्वव्यापी महाविपत्तिका बेलामा एकले अर्कोलाई तन, मन र धनले सहयोग गर्र्न अग्रसर हुनुपर्छ। यस्तो अवस्थामा जसले जे सहयोग गर्न सक्छ, बिनाकञ्जुस्याइँ गर्नुपर्छ। कोरोना संक्रमणबाट निको भएकाले अनुभव बाँडेर संक्रमितलाई सघाउन सक्छन्। विज्ञहरूले सम्भावित खतराबारे जानकारी गराएर थप क्षतिबाट जोगाउन सक्छन्। स्वास्थ्य, सुरक्षा र सञ्चारजस्ता सेवाको क्षेत्रमा लाग्नेहरूले संक्रमितको मनोबल उच्च बनाउने गरी काम गर्नुपर्छ। मिडियाले निराशावादी र समाजमा कोरोना आतंक फैलाउने भन्दा पनि कोरोनासँग कसरी जुध्न सकिन्छ ? कसरी बाँच्न सकिन्छ ? भन्ने सामग्रीलाई प्राथमिकतामा राख्नुपर्छ।

हामी नागरिक बर्दीबिनाका सिपाही हौं। यो महाविपत्तिसँग लड्ने सिपाही अब हामी स्वयं हौं। हरेकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नैपर्छ। र, निस्वार्थ रूपमा देशको सेवा गर्न हामी अग्रसर हुनैपर्छ। संकटको बेला आफू, परिवार, समाज, देश र विश्वलाई महामारीबाट जोगाइदिने अब अरू कोही छैन। हामी नै हौं। त्यो अनुभूत गरेर पवित्र मनले सत्कर्ममा उत्रनेलाई सलाम छ, जसले खनेको गोरेटोमा धेरै नेपालीले हिँड्न सकून्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.