धनगढीमा कोरोना बिरामी बोक्न निशुल्क गाडी
धनगढी : कोरोनाका बिरामीलाई अस्पतालसम्म लैजान सवारी साधन नपाएपछि धनगढी नेत्रालयले आफ्नो विंगर गाडीलाई निशुल्क रुपमा बिरामी बोक्ने बनाएको छ । धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले नेत्रालयसँग रहेको विंगर गाडीलाई कोरोनाका बिरामी बोक्ने बनाएको बताए । उनले चालकको सीट एयर प्रुफ बनाएको र पछाडि बिरामीसहित पाँचजनासम्म बस्ने गरी गाडी तयार गरिएको बताए ।
सुदूरपश्चिमका पछिल्ला दिनमा कोरोनाका बिरामी दैनिक अनुपातमा तीन चार सयका दरले बढिरहेका छन् । स्वासप्रश्वासमा समस्या भएका तुरुन्तै अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स नपाएर ज्यान गुमाउनु परेको छ।
'बिरामीले एम्बुलेन्स नपाएर समयमै अस्पताल पुग्न नसक्दा ज्यान गुमाएको समाचार आउन थाले, त्यही देखेर नेत्रालयले आफ्नै सम्पूर्ण खर्चमा विंगरलाई बिरामी बोक्ने साधन बनाएको हो,’ अध्यक्ष चन्दले भने ।
नेत्रालयले उक्त गाडीमा आफ्नै चालक, आफ्नै इन्धनसहित सेवा दिने जनाएको छ । सुदूरपश्चिमका विभिन्न अस्पतालमा १५० भन्दा बढी एम्बुलेन्स छन् । केही स्थानीय तहले आफ्नो तहभन्दा बाहिरका बिरामी नबोक्ने नियम बनाएका छन् । जसले गर्दा एक जिल्लाबाट अर्को जिल्लामा रेफर गरिएका बिरामी एम्बुलेन्स नपाएर हैरान हुने गरेका छन् ।
कैलालीको धनगढी र महेन्द्रनगर आसपासमा पनि कोरोनाका बिरामीलाई एम्बुलेन्सले समेत बोक्न नमान्ने गरेको गुनासो आएको छ । ‘एम्बुलेन्सले नै कोरोनाका बिरामी बोक्न नमानेको खबरपछि, चिन्ता लाग्यो । त्यसपछि यो सेवा गर्ने सोच बनाएका हौं,’ अध्यक्ष चन्दले भने।
उनले कैलाली र कञ्चनपुरका कोरोना बिरामीले अस्पतालसम्म आउनका लागि नेत्रालयका अध्यक्ष गजेन्द्र चन्दको फोन नम्बर ९८५८४२०४२२, चालकको ९८६८४५५५९८ र नेत्रालयको लेन्डलाइन ०९१-४१०२२ मा फोन गर्न आग्रह गरे ।
यस्तै च्यारिटि हेल्थ फाउन्डेशनले आफूसँग रहेको शव बाहन पनि कोरोनाका कारण ज्यान गुमाएका बिरामीको शव व्यवस्थापनमा दिने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष डाक्टर विद्याप्रसाद पन्तले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई कोरोनाबाट ज्यान गुमाएकाको शव व्यवस्थापनका लागि शव बाहन दिने
निर्णय भएको बताए ।
‘कोरोनाको महामारीसम्म मात्रै शव व्यवस्थापनमा सहज होस् भनेर हामीसँग भएको शवबाहन महामारी रोकिएपछि फिर्ता हुने गरी प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेका छौं,'’ डाक्टर पन्तले भने ।
उनले कोरोना बाहेकका शवका लागि साधन पाउने भएकाले पनि फाउन्डेशनसँग रहेको शव बाहन कोभिडका लागि दिने निर्णय गरिएको बताए । कोरोनाका बिरामी बढिरहेका बेला सामाजिक कार्यमा खटिएका व्यक्तिहरु यसरी सहयोग गर्न थालेका छन् । शुक्रबार मात्रै दार्चुलाका प्रमुख जिल्ला अधिकारीले आफूले चढने गाडीमा कोरोनाका बिरामी बोक्नका लागि प्रयोग गर्ने घोषणा गरेका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका, नवगुर्गा गाउपालिकाका अध्यक्षले पनि आफूले प्रयोग गर्दै आएको गाडी कोरोनाका बिरामी बोक्न प्रयोग गर्ने बताएका छन्।