समस्या एकातिर, राजनीति अर्कैतिर
प्रतिनिधिसभाका २५ सदस्य कोभिड पोजेटिभ भएर आईसोलेसनमा छन्। तिनलाई सम्भवतः एम्बुलेन्स वा विशेष सुरक्षित सवारीमा राखेर आज संसद् भवन लगिँदै छ। तर, कोभिडबाट देश र जनतालाई सुरक्षा गराउने कुनै कानुन पास गराउन होइन, राजनीतिक प्रदूषणको साक्षी बनाउन। अर्थात्, सत्ताच्युत खेलको छिनोफानो गराउन प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतका पक्ष वा विपक्षमा मतदान गराउन।
देश कोरोना महामारीमा खटपटिएका बेला, जनता उपचार र अक्सिजन नपाइरहेका बेला नेताहरू भने अत्यन्त फोहोरी राजनीतिक खेलमा अल्झिएका छन्। यो सरकार रहने वा अर्को बन्नेसँग अहिले सर्वसाधारणलाई चासो छैन। उनीहरूको चिन्ता सर्वसुलभ उपचारसँग छ। त्यसको दायित्व राज्यको हो। सबै सत्ताखेल बन्द गरेर लाग्नुपर्ने त्यता हो। तर, राजनीतिले बाटो बिराएको छ। नेताहरू व्यर्थ सत्ता–खेलमा बेला न कुबेला अल्झिएका छन्। कोरोना संक्रमणको दोस्रो कहर सुरु भएको केही दिनमै पहिलो लहरको उच्चतम बिन्दु पार भएको छ। संक्रमितले उपचारै पाउन नसक्ने परिस्थिति बनेको छ।
रोकथाम र संक्रमितको व्यवस्थापनमा गर्नुपर्ने अझै काम बाँकी नै छ। महामारी नियन्त्रण गर्न सरकार र राजनीतिक दलले सबै संयन्त्र परिचालन गर्ने समय पनि पर्याप्त नै हो। तर, बिडम्बना ध्यान यता छैन। राजनीतिक दलले त्यो पर्याप्त समय जोखिम बढाउन र महामारी फैलाउन मै खर्च गरे। पहिलोपटकको संक्रमणलाई बढार्ने समय सत्ता र विपक्षी दलबीच कार्यकर्ता सडकमा उतारेर शक्ति देखाउने होड नै चल्यो। त्यही कारण देशमा कोरोनाको दोस्रो लहर फैलियो। त्यससँगै अहिले शक्ति कसको हातमा पार्ने राजनीतिको अर्को लहर पुनः सुरु भएको छ। देशका कुनै राजनीतिक दलको ध्यान महामारी नियन्त्रणमा छैन। सत्तापक्षले महामारी नियन्त्रणको योजना बनाउने समय हो भने विपक्षी दलले सरकारलाई उसले गरेको काम समयअनुकूल नभए सचेत गराउनु पर्ने हो। तर, आआफ्नै भूमिका राजनीतिक दलले बिर्सिएका छन्।
सरकारले निषेधाज्ञालाई प्रमुख काम मानिरहँदा विपक्षीहरू प्रेस विज्ञप्तिमा सीमित छन्। महामारीमा ज्यान जोगाउन नागरिकले गरेका हारगुहारमा राजनीतिक दलको मन अमिलो नभएको प्रत्यक्ष अनुभूति हुन्छ। संकटको घडीमा कसरी जनताको सेवा गर्न सकिन्छ भनेर राजनीतिक दलले सोच्ने र योजना बनाउनु पर्ने हो। अरू देशको क्षतिबाट हामीले पाठ सिक्नु पर्ने हो र समयमा योजना बनाउनु पर्ने हो। आर्थिक रूपमा सबल हुन घस्रिएर अघि बढिरहेको समयमा देशको अर्थतन्त्र जोगाउने क्षेत्र र नागरिक नै महामारीले थला पर्न लाग्दा राजनीतिक किचलोको दलदलमा दलहरू फस्नु देशकै लागि दुर्भाग्य हो।
महामारीले जनताको शवको संख्या दैनिक बढ्दै छ। कोही शैया र अक्सिजन अभावमा छट्पटाइरहेका छन्। विज्ञहरूले समेत संक्रमण रोक्न सबै एकजुट नभए सम्भव नहुने चेतावनी दिएका छन्। महामारी नियन्त्रणमा स्वास्थ्यकर्मी मात्रै खटिनु पर्याप्त छैन। गाउँगाउँमा कोरोनाका बिरामी छन्। अस्पताल पुर्याउने जनशक्ति अभाव छ। राजनीति दलहरूका हरेक क्रान्तिमा साथ दिने तिनै जनताको हात समाउने समय दलहरू शक्ति प्रदर्शनको किचलोमा गिजोलिनु कदापि उचित होइन। हरेक समय ल्याएका एजेन्डामा साथ दिने जनताले संकटमा साथ नपाए समयमा यसको मूल्यांकन अवश्य गर्ने नै छन् भन्ने दलहरूले भुल्नु हुँदैन। देश र जनतालाई राजनीतिक पार्टी विशेषको शिकार बनाउने र महामारी संकटलाई भुल्ने परिपाटीको अन्त्य आजै हुनु जरुरी छ।
महामारी नियन्त्रणमा राजनीतिक दलको पनि रणनीतिक योजना आवश्यक छ। तिनले वडासम्म रहेका आफ्ना संगठनलाई परिचालन गर्नेदेखि नियन्त्रणको विकल्प खोज्ने र सरकारलाई सघाउने समय अहिले हो। विपद्मा खटिने जनशक्ति सबै दलसँग छन् र सरकारसँग कर्मचारी। उनीहरूको समन्वयमा महामारीसँग युद्ध गरे सबैको अस्तित्व जोगिन्छ। नेता र दलहरूले सचेत भई आफ्नो साख जोगाउने समय यही हो। कोरोना महामारीको चरम बिन्दुमा छौं। पहिले यो संकटलाई पराजित गरौं। बाँचियो भने मात्रै हो, शक्तिको हिसाब–किताब गर्ने।