पाँचथरमा एक हप्ता निषेधाज्ञा
फिदिम : सोमबार राति १२ बजेदेखि पाँचथरमा एक हप्ताका लागि निषेधाज्ञा लागू हुने भएको छ । जिल्लामा कोरोना संक्रमण बढेपछि सोमबार राति १२ बजेदेखि जेठ तीन गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्ला स्थित कोभिड– १९ जोखिम व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णय अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक यातायातसहित बजार पसल समेत बन्द रहने छन् ।
कोरोनाको जोखिम न्युनिकरणका लागि निषेधाज्ञा गर्नुपरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए । अत्यावश्यक सेवा बिहान ५ :३० देखि ९:३० बजेसम्म सञ्चालन गर्ने निर्णय भएको हो ।
निषेधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर विकास निर्माणका काम गर्न पाइने भएको छ । जिल्लामा सिमित संख्यामा परीक्षण भएपनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबार मात्र १७ जना संक्रमित थपिएका थिए ।
स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार फिदिम नगरपालिकामा आठ, याङवरक गाउँपालिकामा तीन, फालेलुङ गाउँपालिकामा पाँच र हिलिहाङ गाउँपालिकामा एकजनामा संक्रमण देखिएको हो । यसअघिको परीक्षणमा १७ जनामा संक्रमण देखिएको थियो।