आमा ! आमा ! आमा !
३६४ दिन सम्हालेका पीडा¸
कतै लाग्दो होला आज जिस्काए जस्तो !
फेसबुकको वालमा पोतिएका अक्षर¸
भाषण र प्रवचनमा रटिएका शब्द¸
कतै लाग्दो होला जिस्काए जस्तो !
तरपनि स्विकार्छिन् आमा ।
जीवनसँग गाँसिएका कथा र व्यथा¸
एकदिनमा कर्जा चुकाउँदा¸
कतै लाग्दो होला जिस्काए जस्तो !
तरपनि स्विकार्छिन् आमा ।
विश्वास लाग्दैन होला देखावटी मायामा
डराउँदै भाग्दै आफ्नै छायाँमा¸
कतै लाग्दो होला जिस्काए जस्तो !
तरपनि स्विकार्छिन् आमा ।
सहारै सहाराबिच बेसाहारा जीवनमा¸
कसैले आमा भनी बोलाउँदा¸
कतै लाग्दो होला जिस्काए जस्तो !
तरपनि स्विकार्छिन् आमा ।
सोध्छिन् अनि भन्छिन् आफूले आफैंलाई—
मायाको बदलामा¸ माया कहिलै खोजिनँ¸
आफू चर्को घाममा रमाएँ¸ सन्तानको शीतलता खोसिनँ ।
पीडाहरूमा आफूलाई कसी लगाइरहेँ !
एक्लै पटकपटक रोइरहेँ¸ तर सन्तानलाई रुवाइनँ¸
त्यसैले आज लागिरहेछ कताकता जिस्काए जस्तो !
अनि एउटा प्रश्न सोध्न मन लागिरहेछ आज कस्तो !
३६५ दिनमा ३६४ दिन सँगै बस्न किन सुहाइन ?
तर आमा¸ आमा हुन् नै यस्ती !
आफ्ना दुःख बिर्सेर सन्तानको सुखमा रमाउने¸
जीवनका पाटो पाटोमा डोर्याउँदै औँला समाउने¸
निस्वार्थी स्वच्छ मायाकी खानी हुन् आमा¸
लिँदाभन्दा दिँदा रमाउने जननी हुन् आमा ।
त्यसैले¸ त्यसैले त !
सन्तानले एकै दिन सम्झिदिँदा पनि !
सन्तानको खुसीसँग रमाउँदै निरन्तर¸
आशीर्वाद वर्षाइरहन्छिन् आमा ।
आमा !! आमा !! आमा !!!