‘आमा खान्डो’ले बाजी मार्यो
काठमाडौं : ‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ आयोजित नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सकिएको छ।
महोत्सवमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धामा डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित भयो भने निर्देशनतर्फको अवार्ड पनि यही फिल्मले जित्यो। यो फिल्मले एक लाख नगद जितेको छ। अभिनेतातर्फ पुरुष र महिला दुवै अवार्ड ‘लाटोकोसेरो’ले जित्यो। यो फिल्मबाट नवीन शिल्पकार र सरिता गिरीले पुरस्कार पाए। निर्देशक शिरीश गुरुङ आफैंले छायांकन गरेको यो फिल्मले छायांकनको अवार्ड पनि जित्यो।
फिचरतर्फकै उत्कृष्ट पटकथाको अवार्ड भने ‘सरिता टेल मि हु आई एम’बाट सर्जियो बासोले जिते। अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले जित्यो। गौतमबुद्ध अवार्ड जितेको यो फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गर्यो। सर्ट फिल्म तथा डकुमेन्ट्रीअन्तर्गत दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ ले पाँच सय पुरस्कार राशि रहेको बागमती पुरस्कार जितेको छ। नेपालबाट राजेशप्रसाद खत्री निर्देशित ‘जुलुंगो’ उत्कृष्ट ठहरियो। यो फिल्मले ५ सय डलर प्राप्त गरेको छ। त्यसैगरी फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ एनिमेटेड विधामा उत्कृष्ट भएको छ। विजेता भएसँगै यो फिल्मले ७ सय ५० डलर पुरस्कार राशि रहेको मञ्जुश्री अवार्ड अवार्ड हात पारेको छ।
महोत्सवमा डकुमेन्ट्रतर्फको अवार्ड स्विट्जरल्यान्डको ‘रिटर्न टु द लस्ट इडेन’ले जितेको छ। यो फिल्मले एक हजार डलर पुरस्कार राशि रहेको माउन्ट एभरेस्ट अवार्ड जितेको छ। यो सालबाट थपिएको महामारीको वरिपरि रहेर बनाइएको फिल्मबाट गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट भएको छ। यसले ५ सय डलर पुरस्कार पायो।
कार्यक्रमको समापनमा निफका अध्यक्ष केपी पाठकले कार्यक्रमको सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। पाठकले पुरस्कार विजेतालाई बधाई दिँदै कोरोना महामारी शान्त भएपछि कार्यक्रम आयोजना गरी विजेतालाई पुरस्कार प्रदान गरिने जानकारी दिए।