‘मन भक्कानिन्छ तर सहनै पर्छ’
भक्तपुर : पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुको मृत्युदर बढिरहेको छ। अस्पतालमा उपचारको लागि भर्ना भएका संक्रमितहरुले अक्सिजनसमेत पाउन सकेका छैनन्। अस्पतालका भएभरका शय्या संक्रमितले भरिएन थालेका छन्। संक्रमितहरुले अस्पतालमा आफ्नो पालो कुर्नुपर्ने बाध्यता आइलागेको छ। जसले गर्दा नयाँ थपिएका संक्रमितहरुले अस्पतालको मुखै नहेरी ज्यान गुमाउनुपर्ने अवस्था आइरहेको छ।
संक्रमितहरुको उपचार जति असहज बन्दै आएको छ, कोरोना भाइरस संक्रमणले मृत्युवरण गरेकाहरुको शव व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण भएको छ। काठमाडौंको पशुपतिस्थित दुइटा विद्युतीय शवदाह गृह अपुग भएको छ। संक्रमण हुँदा अस्पतालमा उपचारको लागि लाम बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर मृत्युपछि अन्तिम संस्कारसहित सद्गद्को लागि समेत विद्युतीय शव दाहगृहमा पालो कुर्नुपर्ने भएको छ। विद्युतीय शवदाह गृहमा पालो पाउन धेरैसमय कुर्नुपरेपछि शव व्यवस्थापन टोलीले बागमती किनारमा संक्रमितको सदगद गर्न थालेको छ। बागमती किनारमै ठाउँ अभाव भएपछि खुला चौरमा संक्रमितहरुको सदगद हुन थालेको छ। जुन दृश्यले कोरोना भाइरस संक्रमण कति भयावह बन्दैछ भन्ने आँकलन गर्न गार्हो छैन तर स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गरी सडकमा आउने सर्वसाधारण घटेका छैनन्। उपत्यकाका सहरी क्षेत्रमा गुडेका सवारीसाधनको संख्या हेर्दा निषेधाज्ञा छ भन्ने अवस्था नभएको भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको इन्द्रबक्स गणका शव व्यवस्थापन टोलीका सदस्यहरु बताउँछन्।
सरकारले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको शव सदगद गर्न नेपाली सेनालाई जिम्मा दिएको छ। सोहीअनुसार भक्तपुर जिल्लामा मृत्यु हुने संक्रमितहरुको शवको व्यवस्थापन सूर्यविनायकस्थित नेपाली सेनाको इन्द्रबक्स गणले गर्दै आएको हो। इन्द्रबक्स गण ३ महिनाअघि मात्रै भक्तपुरको सूर्यविनायकमा आएको हो। सूर्यविनायकस्थित सैनिक व्यारेकमा इन्द्रबक्सअघि वीरदल गण रहेको थियो। वीरदलले गर्दै आएको शव व्यवस्थापन अहिले इन्द्रबक्स गणको जिम्मेवारीमा सरेको छ। इन्द्रबक्स गण आएको ३ महिनाभित्र ३७ जना संक्रमितको शव व्यवस्थापन गरिएको गणका सहायक सेनानी डम्बर बुढा बताउँछन्।
अहिले बुढासँगै सहायक सेनानीद्वय प्रदीप थापा र अम्बर सुवेदी, उपसेनानी सुनिल हेम्बा, दुर्गा महत्तो, जुनुराम महत्तो, सोमबहादुर मगर, सुरेश तिवारीलगायत शव व्यवस्थापनमा परिचालित छन्। उनीहरुलाई एकएकजना शव बाहन र एम्बुलेन्स चालकहरुले समेत साथ दिइरहेका छन्। त्यस्तै गणका प्रमुख प्रमुख सेनानी सामन्तध्वज खाँड र सेनानीहरुले प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउँदै आएका छन्। भक्तपुरमा हालसम्म एकसय ५४ जना संक्रमितहरुको मृत्यु भएको छ।
भक्तपुरमा मृत्यु भएका संक्रमितहरुको सदगद गर्न पशुपतिसम्म लानुपर्दा धेरै समय कुर्नुपर्ने बाध्यता रहेको सहायक सेनानी बुढा बताउँछन्।‘पशुपतिमा शव सदगद गर्न लामो समय पालो कुर्नुपर्छ’, उनले थपे, ‘त्यसैले भक्तपुरमै कतै सुरक्षित स्थानमा सदगद गर्न पाए हुन्थ्यो।’यसबारे भक्तपुरस्थित डीसीसीएमसी, नगरपालिकाहरुको ध्यानाकर्षण गरिएको उनको भनाइ थियो।
आफूहरुले ज्यान जोखिममा राखेर मृत्यु भएका संक्रमितहरुको शव सदगद गर्न जाँदा र फर्कँदा सडकमा देखिएका सर्वसाधारणको भीडले पीडा महसुस हुने उनीहरु बताउँछन्। अझ सहरका सडकमा गुडेका सवारीसाधनको संख्याले भित्री मनैदेखि दुःख लाग्ने उनीहरुको भनाइ छ।‘आफ्नै ज्यान जोखिममा राखेर मृत्यु भएका संक्रमितहरुको सदगद गरिरहेका छौं’, उनीहरु सबैले एकैस्वरमा भने, ‘तर निषेधाज्ञाकै बीच सडकभरि मान्छेको हुल देख्दा पीडा महसुस हुन्छ। सडकमा गुडेका गाडी देख्दा मनभित्रैदेखि दुःख लाग्छ।’
एकपटकमा ४ जना खटिँन्छौं : सहायक सेनानी
हामी संक्रमितको मृत्यु भएको खबर प्राप्त भएपछि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्छौं। यसबाहेक भक्तपुरका संक्रमित उपचार भइरहेका अस्पतालमा हाम्रो निरन्तर सम्पर्क भइरहन्छ। त्यस्तै डीसीसीएमसी, प्रहरी, नगरपालिकाहरुसँग पनि हामी अटुट सम्पर्कमा हुन्छौं। यी सबैबाट हामीकहाँ संक्रमितको मृत्यु भएको जानकारी संकलन गर्छौं। जसअनुसार अस्पतालमा उपचार रहँदै र होम आइसोलेसनमा बस्दाबस्दै मृत्यु भएका संक्रमितहरुको शव उठाएर व्यवस्थापन गर्छौं।
संक्रमितको मृत्यु भएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकपटकमा ४ जना खटिन्छौं। संक्रमितको शव उठाउन ४ वटा कागजात आवश्यक पर्छ। पहिलो, परिवारको मञ्जुरीनामा, दोस्रो कोरो भाइरस संक्रमण परीक्षण गरिएको पीसीआर रिपोर्ट, तेस्रो अस्पताल वा वडा कार्यालयले दिएको मृत्युको प्रमाणपत्र र चौथोमा सीसीएमसीको निर्णय आदेश। यी प्रक्रिया पूरा नभई शव व्यवस्थापन गर्ने टोली परिचालन हुँदैन। २ जनाले संक्रमितको शव पोको पार्ने र सुरक्षित रुपमा शवबाहनमा राख्ने गर्छन्। एकजनाले शव उठाइसकेपछि निःसंक्रमण गर्ने कार्य गर्छ। अर्को एकजनाले आवश्यक कागजात मिलाउने तथा सुपरभिजन गर्ने कार्य गर्छ। शवबाहनमा राखेको शव पशुपतिस्थित विद्युतीय शव दाहगृहमा लान्छौं। मृतकका परिवारलाई अन्तिम दाहसंस्कार गर्ने समय दिन्छौं। आफन्तले मृतकको अनुहार हेर्न मिल्दैन भनी सोध्छन्। त्यसबेला आफू पनि भावविह्वल भइन्छ। मन भित्रैदेखि भक्कानिन्छ तर सहनै पर्छ। रोगै यस्तो सुरक्षित रुपमा पोको पारिएको शव खोल्न मिल्दैन। आफन्तले अन्तिममा पनि मृतकको अनुहारै हेर्न नपाइने अवस्था आउँदा पनि सर्वसाधारण सचेत भएको देखिँदैन। निषेधाज्ञा घोषणा गरिएको छ तर सडकमा सर्वसाधारणको चहलपहल घटेको छैन। सडकमा सवारीसाधन उत्तिकै गुडेका छन्। यसले भित्री मनदेखि पीडा महसुस हुन्छ।
सबै सुरक्षा मापदण्ड पालना गरेका छौं : थापा
सबै सुरक्षा मापदण्ड पालना गरेरमात्रै हामी परिचालित हुन्छौं। पीपीई सेट अनिवार्य लगाउँछौं। डबल सर्जिकल माक्स, केएन ९५ माक्स, गगल्स, फेस शिल्ड, हेड कभर, खुट्टामा गमबुट, गमबुटबाहिर अर्को कभर, हातमा पञ्जा लगाउँछौं। हाम्रो शरीरको कुनै पनि भाग खुला हुँदैन। जसले गर्दा कोरोना भाइरस हाम्रो शरीरको पहुँचमा जान पाउँदैन। शव व्यवस्थापनपछि लगाएको सम्पूर्ण सुरक्षा सामग्री जलाएर नष्ट गरिन्छ। साथै हामी आफ्नो स्वास्थ्य सुरक्षाप्रति त्यत्ति नै सचेत छौं। जसले गर्दा अहिलेसम्म शव व्यवस्थापनमा खटिएका हामीमध्ये कोही पनि संक्रमित भएका छैनौं। सबै सुरक्षित छौं। पशुपतिमा शवको लाइन लागेकाले सदगद गर्न भने बढी समय कुर्नुपर्ने समस्या आइलागेको छ।
विद्युतीय सवदाह गृहमा एउटा शव जलाउनको लागि एकघन्टाभन्दा बढी समय लाग्छ। अहिले बागमती किनारमा चिताको संख्या बढे पनि ठाउँ कम छ। त्यसैले भक्तपुरका मृतकहरुको शव भक्तपुरमै कतै सुरक्षित रुपमा व्यवस्थापन गर्न सकिए छिटो र सहज हुने थियो। यसबारेमा डीसीसीएमसीको ध्यानाकर्षण गरेका छौं। यहीं रफ्तारमा मृत्यु हुने संक्रमितको संख्या बढे भारतकै अवस्था आउन धेरै समय लाग्दैन। त्यसैले भक्तपुरमै संक्रमितको सशव व्यवस्थापन गर्नेतर्फ अहिल्यै तयारी अघि बढाउनुपर्ने देखिन्छ।
हामीलाई सुरुसुरुमा शव व्यवस्थापन गर्न स्वास्थ्य सामग्री अभाव थियो। संक्रमितको शव पोको पार्ने ब्याग नै अभाव थियो। हामीले लगाउने पीपीई सेट पनि कमै थियो। अहिले नगरपालिका, रेडक्रसलगायतले सहयोग गरेकाले समस्या छैन। तर संक्रमणदर तीव्र हुँदा पनि सर्वसाधारण सचेत भएको पाइँदैन। जसले गर्दा भोलि शव उठाउनै नभ्याउने अवस्था नआओस् भनी हामीले कामना गर्दै आएका छौं।
घरपरिवारले हौसला दिएका छन् : सुवेदी
संक्रमितको शव व्यवस्थापन गर्न हामी खटिएको घरपरिवारलाई जानकारी छ। घरपरिवारले सुरक्षित भएर काम गर्न हौसला दिँदै आएका छन्। उहाँहरुले जहाँ गएपनि जहाँ बसे पनि कामै गर्ने हो, काम गर्नुस्, आफू सुरक्षित भएर जिम्मेवारी पूरा गर्नुस् भन्नुभएको छ। यसले गर्दा कर्म क्षेत्रमा जिम्मेवारीपूर्वक लाग्न प्रेरित गरेको छ। नेपाली सेनामा रहेर महामारीको बीचमा काम गर्न पाउँदा हामी गौरवान्वित छौं। हामी भित्री मनदेखि सन्तुष्ट छौं। महामारीकै बीच अग्रपंक्ति बसेर काम गर्न पाइरहँदा हामीले गर्व महसुस गरिरहेका छौं।
नेपाली सेनाले आफ्नो ज्यानलाई यति जोखिममा राखेर पनि खटिएर काम गरिरहेको छ भनेर हामीले देखाउन पाएका छौं। यसैले हामीलाई गर्व महसुस गराउँछ। नेपाली सेनामा लागेर महामारीको बीच देश र जनताको सेवा गर्न पाएका छौं। महामारीको बेला हाम्रो कर्तव्य र परम धर्म नै सेवा गर्नु हो। मर्नु त सबैलाई एकदिन छँदैछ। हामीले गर्नुपर्ने काम खुसी भएर गरिरहेका छौं तर संक्रमितको मृत्यु बढेको देख्दा मनैदेखि दुःख पनि लाग्छ। अन्तिम समयमा आफन्त मृतकको शवलाई फूलमाला चढाउन आउँदा घरपरिवारको याद आउँछ। त्यसबेला कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न अझ गर्नुपर्ने धेरै काम बाँकी छ जस्तो लाग्छ र थप काम गर्न उत्साह पनि प्राप्त हुन्छ।
निषेधाज्ञा भए पनि अवस्था खुकुलो देखिन्छ। त्यसैले यसलाई कडाइ गर्न सकिए बढीभन्दा बढी जनता सुरक्षित हुन्छन् कि भन्ने लाग्छ। संक्रमित कम भए मृत्युवरण गर्नेहरु पनि न्यून हुन्छ कि भन्ने लाग्छ।