कोरोनबाट बागलुङमा थप तीनजनाको मृत्यु
बागलुङ : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बागलुङमा बिहीबार एकैदिन तीनजनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत एक नेतासहित तीनजनाको केही घण्टाको अन्तरालमा ज्यान गएको अस्पतालले जनाएको छ ।
योसँगै जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको छ । कोरोना संक्रमित भइ गत वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय शेरमान घर्तीको उपचारकै क्रममा मृत्यु भएको हो । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् ।
ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका घर्तीले गत वर्ष भएको बागलुङ क्षेत्र नम्बर २ ख को उपनिर्वाचनमा पनि गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा अहिले गण्डकी प्रदेश सभा सदस्य रहेर चर्चामा रहेका राजमोका खिमबिक्रम शाहीलाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएका थिए ।
अस्पतालमै उपचाररत गल्कोट नगरपालिकाका–२ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका–४ बस्ने ७७ वर्षीया पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । गल्कोटका ५२ वर्षीय पुरुष बैशाख २२ गते अस्पताल आएका थिए भने ७७ वर्षिय वृद्ध भने मंगलबार मात्रै अस्पताल भर्ना भए थिए ।