स्वास्थ्यकर्मीको अभाव झेल्दै स्थानीय तह
सुर्खेत : कोरोना महामारीसँग जुध्न स्थानीय तहले सक्रियता देखाएका छन्। तर आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहुँदा संक्रमितको उपचारमा समस्या भएको छ।
संक्रमितको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेसन संचालन गरे पनि स्वास्थ्यकर्मी र अक्सिजनको अभाव झेल्नु परेको हो।
दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेपछि कर्णालीका प्रायः स्थानीय तहले आइसोलेसन निर्माण गरेका छन्। तर आइसोलेसन संचालनका लागि आवश्यक पर्ने विशेषज्ञ चिकित्सक, पर्याप्त स्वास्थ्यकर्मी र अक्सिजन नहुँदा संक्रमितको उपचारमा समस्या भएको हो।
दुर्गममा स्थापना गरिएकाआइसोलेसनमा चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भिर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाम नै लैजानुपर्ने बाध्यता छ। यसले संक्रमण रोकथाम र संक्रमितको उपचारमा समस्या भएको गुनासो स्थानीय तहको छ।
सुर्खेतको चौकुने गाउँपालिकाले महामारी नियन्त्रणका लागि स्थानीय जीवनज्योति माविमा ५० बेडको आइसोलेसन स्थापना गरेको छ। तर त्यहाँ विशेषज्ञ चिकित्सक छैनन्।
दुईजना अनमी र स्वास्थ्य शाखाका कर्मचारीले नै सेवा दिनुपर्ने बाध्यता छ। ‘आइसोलेसन ५० बेडको हो, तर १२ वडा बेड मात्र संचालन गरेका छौं’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने,‘आइसोलेसनमा उपचारका लागि चिकित्सक छैनन्, केही स्वास्थ्यकर्मीबाटै उपचार गर्नुपर्ने बाध्यता छ।’ यस्तै गाउँपालिकाले जसोतसो ६ वटा अक्सिजनका सिलिण्डर किनेको छ। यसले अपुग हुने अध्यक्ष शाहीले बताए।
जिल्लाकै सिम्ता गाउँपालिकाको पीडा पनि उस्तै छ। स्थानीय बजेडीचौर स्वास्थ्य चौकीमा ५० बेडको आइसोलेसन स्थापना गरिएको छ। तर त्यहाँ पर्याप्त अक्सिजन र स्वास्थ्यकर्मी छैनन्। केही थान मात्र सिलिण्डर छन्। भारतबाट गाउँ फर्किनेहरु बढेको र संक्रमित पनि बढ्न थालेपछि अक्सिजनले धान्ने अवस्था छैन। यही समस्या टार्न विद्युतबाट संचालन हुने अक्सिजन मेसिन खरिद गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए। उनले भने,‘अक्सिजन मेसिन त जसोतसो जोहो गरेका छौं, तर हामीसँग चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ।’ अहेव र नर्सकै भरमा संक्रमितको उपचार गर्नुपर्ने बाध्यता छ।
प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले पनि यो समस्या भोगिरहेको छ। वीरेन्द्रनगरले संक्रमितको उपचारका लागि आफ्नै कोरोना अस्पताल संचालनमा ल्याएको छ। तर यहाँ आवश्यक स्वास्थ्यकर्मी छैनन्। उपप्रमुख मोहनमाया ढकाल भन्छिन्,‘हामीले दुईजना चिकित्सक त नियुक्त गरेका छौं, तर संक्रमितको अवस्था हेर्दा यसले नपुग्ने अवस्था छ। चिकित्सकको अभाव टार्न हामीले प्रदेश अस्पतालका चिकित्सकसँग आवश्यक समन्वय गरिरहेका छौं, स्वास्थ्यकर्मी पनि करारमा व्यवस्थापन गर्ने योजना छ।’
सुर्खेतकै गुर्भाकोट नगरपालिकाको आइसोलेसन सेन्टरमा पनि अक्सिजन र स्वास्थ्यकर्मी अभाव छ। त्यहाँ मेहलकुना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको समन्वयमा आइसोलेसन सञ्चालन गरिएको छ।
यस्तै सल्यानको वनगाडकुपिण्डे नगरपालिकाको आइसोलेसन सेन्टरमा पनि स्वास्थ्यकर्मीको अभाव छ। त्यहाँ तत्कालका लागि स्वास्थ्य शाखाका कर्मचारी र देवस्थल स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खटाइएको छ।
कर्णालीका अधिकांश स्थानीय तहहरु कोरोना महामारीको समयमा स्वास्थ्यकर्मी र अक्सिजनको अभाव झेल्न बाध्य छन्। यसले महामारी नियन्त्रण र संक्रमितको उपचारमा जटिलता भएको जनप्रतिनिधिहरुको गुनासो छ। यसको व्यवस्थापन गरिदिन उनीहरुले प्रदेश र संघीय सरकारसँग आग्रहसमेत गरेका छन्।