महामारीमा सामूहिक प्रतिवद्धता

महामारीमा सामूहिक प्रतिवद्धता

जुका परेर र झाडापखालाबाट हाम्रै समाजमा धेरैले ज्यान गुमाए। पछिल्लो समय झाडापखालाबाट फाट्टफुट्टबाहेक जुका परेर मृत्यु भएको भन्ने खबर सुनिँदैन। विभिन्न सरुवा रोगबाट बच्न परिवार, समाज, जिल्ला हुँदै देशभर सरसफाईका सामूहिक अभियान सञ्चालन हुँदा र चेतना फैलाउँदा यस्ता महामारी क्रमशः नियन्त्रणमा आए। विश्वमै फैलिएका विभिन्न चरणका महामारीको पनि खोप बन्यो। सबै जुटेर नियन्त्रणमा हातेमालो गरे र पुर्खाले पुस्ता जोगाए।

अहिले कोरोना महामारीसँग लडिरहेका छौँ। महामारी नियन्त्रणका लागि विश्वव्यापी नियम (लकडाउन, निषेधाज्ञा र सामाजिक दुरी) पालना गरिरहेका छौं। यो नियम पनि महामारी नियन्त्रणमा एउटा विकल्प हो तर अन्तिम भने होइन। महामारी नियन्त्रणको महत्वपूर्ण विकल्प भनेकै आआफ्ना स्थानबाट गरिने सामूहिक प्रतिवद्धता हो। ‘यो महामारी नियन्त्रण गर्न सघाउनु मेरो पनि महत्वपूर्ण भूमिका छ’ भन्ने कुरा सबैले आआफ्ना क्षेत्रबाट बुझे र व्यवहारमा लागू गरे नियन्त्रण ‘आकाशको फल’ अवश्य होइन।

कोरोना संक्रमणको पहिलो लहर चलिरहँदा धेरैको ध्यान इटालीमा सोझिएको थियो। जहाँ कोरोना महामारीको संकटमा नागरिक अतालिएका थिए, मृत्युको मुखमा हजारौं पुगे। महामारी नियन्त्रण सरकारको वशमा थिएन। आर्थिक रूपमा विश्वमै शक्तिशाली मानिएका देशहरूलाई पनि महामारी नियन्त्रणमा पसिना आयो। एक देशबाट अर्को देशमा सल्किएर विश्वव्यापी बनेको महामारी नियन्त्रणमा एक देशको साथ अर्को देशलाई भयो। दुरीका हिसाबमा टाढा रहेको चीनले इटालीसम्म चिकित्सकसहित स्वास्थ्य सामग्री पठायो र साथ दियो। महामारीमा देशका नेता देखेर जनता एक भए। इटालीवासीले नियन्त्रणपछि केही समय आरामको श्वास फेरे। सामूहिक अभियान र प्रतिवद्धताको यो एउटा उदाहरण हो।

अहिले नेपाल स्वास्थ्य संकटमा गुज्रिएको छ। छिमेकी मुलुक भारत आफंै कोरोनाको दोस्रो चरणले थलिएको छ, चीन सहयोग दिन र महामारी छेक्नमै व्यस्त छ। यसै समयमा राजनीतिक गतिरोध चुलिँदा नेपालले महामारीको क्षति दोस्रो लहरमा बढी बेहोर्नु पर्‍यो। यो सबैले नबुझेको र नभोगेको विषय छैन अहिले। यो विषयमा चिन्तन गर्ने समय घर्किएको छ, अब सोझै युद्धमैदानमा होमिएर स्वास्थ्य संकट व्यवस्थापनको विकल्प पनि अब छैन। महामारी नियन्त्रणमा सबैले सामाजिक दुरी कायम राखे पनि नियन्त्रणमा हातेमालो र सामूहिक प्रतिवद्धता आवस्यक छ। नेपाले इटालीको जस्तो अवस्था भोग्नु हुँदैन।

संकट व्यवस्थापनमा के गर्न सकिन्छ ? सुझाव र सल्लाह लिन हामीसँग पर्याप्त सबै क्षेत्रका विज्ञ छन्। दिन, रात र परिवार नभनी स्वास्थ्य समेत जोखिममा राखी उपचारमा खटिने स्वास्थ्यकर्मी छन्। शवलाई अन्तिम सलामी दिने र सरकारको नियम पालना गराउने सुरक्षाकर्मी छन्। अप्ठ्यारोमा हात समाउने छिमेकी देखेर सहारा बनेका दाता र देश छन्। लकडाउन र निषेधाज्ञालाई मुख्यरूपमा पालना गर्नुपर्ने नागरिक छन् र सही सूचना दिने सञ्चार क्षेत्र पनि। राजनीतिक दलहरूको शक्तिमोह र स्वार्थको खेती पनि एकपटकलाई लगभग मैजारो भएको छ। अब मात्रै बाँकी छ : महामारी नियन्त्रणमा सबैको सामूहिक प्रतिबद्धताको।

जुनै दलले सत्ताको नेतृत्व गरे पनि उसको मुख्य जिम्मेवारीमा नागरिकको सुरक्षा पनि पर्छ। अहिले योबाहेक अन्य कुराको चिन्ता लिने समय पनि होइन। दलका प्रमुख नेता मिले गाउँ र टोलका कार्यकर्तासम्मले अँगालो हाल्ने मुलुक हाम्रो हो। त्यसैले अब पार्टी स्वार्थको होइन, स्वास्थ्य संकट व्यवस्थापनमा सामूहिक प्रतिबद्धताको अँगालो हालौं। संकट व्यवस्थापनको प्रतिबद्धता माथिल्लो तहबाट सुरु भए महामारीभन्दा चाँडो फैलिएर समाजमा पुर्‍याउन सकिन्छ। गल्तीमा आफ्नो कान समाउन कसैले लजाउनु हुँदैन। अहिलेसम्म गरेका गल्तीबाट पाठ सिकेर आजै सबैले आआफ्नो क्षेत्रबाट महामारी नियन्त्रणमा प्रतिबद्धता जनाउँ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.