अक्षय तृतीया : अपूर्व पुण्य कमाउने दिन
अपूर्व पुण्य प्राप्त गर्ने दिन अक्षय तृतीया। शिव–पार्वतीको विवाह भएको दिन। ईश्वरको आवेश अवतार परशुराम जयन्ती। त्रेतायुग आरम्भको दिन। हिन्दू धर्मसंस्कृतिको विशेष पर्व। वैशाख शुक्ल तृतीया तिथिमा पर्ने यो पर्वमा गरिएका हरेक पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुने जनविश्वास छ। यस दिन धेरथोर दिइएको दानले अक्षय फल प्राप्त हुने, ब्रह्मा, विष्णु, शिव प्रसन्न रहने हुन्छ।
तिलमिश्रित अन्न, जल, घडा दानले पितृ बढी खुसी रहन्छन्। दातालाई अक्षय पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ। जौको सातु अनि सर्वत पानीको विशेष महत्व रहेको यो दिन श्रीविष्णुको विशेष पूजा हुने गर्छ। अक्षय तृतीयाको महत्वका बारेमा मत्स्यपुराणमा धेरै चर्चा गरिएको छ। वैशाख मासका सबै दिन पावन छन्, विशेष दिनको रूपमा यसलाई लिइएको छ।
ईश्वरीय विधानमा सबै ऋतु समान छन्। तथापि शुष्ककण्ठ गृष्मको आरम्भ हुने बखत शरीरको तापमान सन्तुलन राख्न जौ, सातु सेवन गरेर शरीरलाई निरोगी राख्न यस पर्वले प्रेरित गर्दछ। उखरमाउलो गर्मी होस् वा अति चिसो वातावरण होस्, तनमन सन्तुलन हुन कठिन हुन्छ। वसन्त ऋतुमा पर्ने विभिन्न चाडपर्वले ती सबैको सन्तुलन ल्याउन सहयोग गर्छन्। ऋतुमध्ये वसन्त एवं शरदलाई काव्यकारले विशेष प्राथमिकता दिएका छन्। शरदको उल्लास पूmलहरूको सजावट र वसन्तको उल्लास पल्लवीको उद्गारले नवजीवन, नवीन उत्साह, नवीनतम उर्जाबाट मानवजीवन परिपूर्णतम बन्न प्रेरित गर्छन्। जीवनको उद्देश्य सिर्जना र संरक्षण पनि हो।
पूर्वीय दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानवजीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत छ। स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ। स्वस्थ र सन्तुलित सभ्य नागरिक समाजबाट देशप्रेम, ईश्वरीय चिन्तनसमेत हुनपुग्छ। अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भनी पूर्वीय दर्शनले परोपकारको अक्षुण्णतालाई संकेत गरेको छ। समयमा रहेका धार्मिक जनहरू, साधु, सन्त, वैरागी, तपस्वी, समाज हितकारी व्यक्तिदेखि सम्पूर्ण जीवात्मालाई आफ्नो सेवा, समय, श्रम र दानबाट खुसी गराउनु पर्ने कुरा दर्शनशास्त्रहरूले बताएका छन्। मानवजीवन भन्नु परोपकारका लागि हो।
दानमध्ये अन्न दान प्राण दानसरह हो। सबै प्राणी जल, अन्न र वायुमा निहित छन्। वातावरणको संरक्षण गरी जलदान, अन्नदान गर्न यस पर्वले जोड दिएको छ। नेपाल कृषिप्रधान मुलुक हो। प्रमुख बाली धान, गहुँ, मकैका अतिरिक्त जौ उत्पादन पनि हुने गर्छ। तिल, जौद्वारा भगवान्को पूजा हुने गर्छ। जौ, गहँुलाई शितलताको प्रतीक मानिन्छ। अस्पतालका बिरामीलाई जौ, चनाको सातु खान प्रेरित गरिन्छ। रोग निरोधक शक्ति भएको, पाचनमा सजिलो भएको, जौ, गहुँको खस्रो पदार्थबाट पेटमा रहेका विकारहरू सजिलै बाहिर निष्कासन हुने कारणले रेसायुक्त खानेकुरा खानाले शरीर स्वस्थ हुन्छ। शरीरभित्र मल रहन पाउँदैन। प्रदूषित वस्तुहरू तुरुन्तै बाहिर निष्कासन हुने पदार्थहरू दैनिकी जीवनमा प्रयोग गर्नुपर्ने हुन्छ। यस अर्थमा जौ, गहुँ, मकैका च्याख्ला, चना, भटमास आदि अन्नद्वारा शरीर निरोगी राख्न सकिन्छ।
सूर्यास्तपछि तेस्रो प्रहरमा धर्ती अवतरित परशुरामले धर्तीमा रहेका निरंकुश राजाहरूलाई वध गरेर धर्मको रक्षा गरे। एक्काइसपटक पृथ्वी परिक्रमा गरेर निरंकुशता समाप्त पारी वीर क्षत्रियहरूको तेजोबध गरिदिए।
अन्नको अतिरिक्त जीवनमा जलको अधिक महत्व छ। सम्पूर्ण सृष्टि जलमै भएको हो। संरक्षण पनि जलसहितको भूमिमा हुन्छ। जलबिना अन्नको पनि सिर्जना हुँदैन। जललाई जीवन भनिएको छ। जलदान भन्नु जीवनदान नै हो। अक्षय तृतीयाको दिन जल दानको संकेतले मानव जातिले हरदिन पानीलाई पवित्र राख्नुपर्ने बोध गराउँछ। जौको सातु, साथमा धर्मघट अर्थात् जलपूर्ण घडा, घ्यू, चिनी, मसला, तिलमिश्रित सर्वत र आकाशको प्रतीक छाता र धर्तीको प्रतीक जुत्ता दानले सम्पूर्ण जीवन र जीवन संरक्षण एवं यी वस्तुहरू अरूको हितमा प्रयोग गर्न संकेत प्राप्त हुन्छ। यो निस्वार्थ दान हो।
मनुस्मृति, विष्णुधर्मोत्तर ग्रन्थ, विष्णुपुराण, गीताजस्ता पावन ग्रन्थ एवं महाभारत आदि ग्रन्थहरूले जीवन दानका बारेमा विशद् चर्चा गरेका छन्। अक्षय तृतीयामा गरिएका दान, पुण्यले इहलौकिक जीवात्मा त खुसी हुन्छन् नै पारलौकिक पुण्यात्मा पितृहरू पनि खुसी हुन्छन्, तृप्त हुन्छन्। परशुराम अष्टचिरञ्जीवीमध्ये एक हुन्। वर्षवृद्धि हुने दिन जन्मोत्सव पर्वहरूमा आयु र आरोग्य वृद्धि गर्न अष्ट चिरञ्जीवीलाई विशेष आराधना गर्ने चलन छ। उनलाई छैठौं अवतारमा लिइएको छ। सूर्यास्तपछि तेस्रो प्रहरमा धर्ती अवतरित परशुरामले धर्तीमा रहेका निरंकुश राजाहरूलाई वध गरेर धर्मको रक्षा गरे। एक्काइसपटक पृथ्वी परिक्रमा गरेर निरंकुशता समाप्त पारी वीर क्षत्रियहरूको तेजोबध गरिदिए।
शस्त्रविद्यामा निपुण परशुरामबाट कर्ण, भीम आदिले शस्त्रविद्या सिकेका थिए भने त्रेतायुगमा श्रीविष्णुले मर्यादा स्थापित गराउने क्रममा सौम्यअवतार, रामअवतार लिइसकेको बुझेर रौद्ररुप परशुरामले आफ्नो शस्त्र विद्या छोडी सामान्य ऋषिको रूपमा स्थापित भए। हिउँदेबालीका रूपमा रहेको जौलाई भुटेर सातु बनाई नयाँ अन्नको रूपमा देवतालाई चढाउने, आफूले पनि ग्रहण गर्ने आदि कार्यले हालसम्म निरन्तरता पाएको छ। बिरामीहरू खासगरी उच्च रक्तचाप र मधुमेहका लागि जौ र यसका परिकार विशेष खानाका रूपमा लिइन्छ।