लमजुङ अस्पताल, भेन्टिलेटर छ, जनशक्ति छैन
बेंसीसहर : कोरोना संक्रमितको उपचारलाई लक्षित गर्दै एकवर्षदेखि पहल गरिएपनि जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन् । गत वैशाखमा जिल्ला अस्पताल लमजुङमा भेन्टिलेटरसहितको आइसीयू सञ्चालन डीसीसीएमसीले निर्णय गरी प्रदेश सरकारसँग पाँचवटा भेन्टिलेटरसहितको आइसीयू सञ्चालनका लागि सिफारिस गरेको थियो ।
जिल्लाबाट माग भएको चार महिनापछि भेन्टिलेटरका लागि उपकरण ल्याइयो । उपकरण ल्याएको ८ महिना बित्दा पनि जिल्ला अस्पतालको भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसीसीयू) सञ्चालनमा हुन सकेको छैन ।
कोरनाले महामारीको रुप लिएका बेला आवश्यक जनशक्ति नहुँदा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालनका गर्न नसकिएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट अघिल्लो आर्थिक वषमै बजेट प्राप्त भएपनि चालू आर्थिक वर्षको चार महिना पछि आवश्यक उपकरण आइपुगेको हो । भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि अघिल्लो वर्षकै बजेटबाट ढिला गरी उपकरण ल्याएको थियो । उपकरण ल्याइसकेको महिनौ बित्दा पनि आवश्यक जनशक्ति नहुँदा हालसम्म भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ ।
आइसीसीयू कक्ष सञ्चालनका निम्ती प्रदेश सरकारले गत आर्थिक वर्षमै एक करोड ६९ लाख १९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । ‘आइसीयू सञ्चालनका लागि छुट्टै तालिम प्राप्त जनशक्ति चाहिन्छ, त्यो जनशक्ति हाम्रो अस्पतालमा छैन’, अस्पतालका अध्यक्ष मदन रानाले भने, ‘प्रदेश सरकारले जनशक्ति मागेको धेरै भइसक्यो, कोही फेला नपर्दा समस्या भयो ।’ अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई असार महिनाभित्रै आईसीसीयू कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन ।
हाल दोस्रो चरणको कोरोना संक्रमणको जोखिम हुँदासम्म पनि भेन्टिलेटरसहितको आइसीयू सञ्चालन नहुँदा सरकारको काम कारबाहीप्रति नै सरोकारवालाले प्रश्न उठाउँदै आएका छन् । हाल उपकरण ल्याएसँगै सञ्चालनका लागि प्रदेश सरकारमार्फत जनशक्ति माग गरिए पनि हालसम्म जनशक्ति नआएको अस्पतालले जनाएको छ । ‘हामीले जनशक्ति धेरै भैसक्यो । पटक पटक प्रदेशसँग कुरा गरेका छौं, अहिलेसम्म पाएका छैनौ’, अस्पताल प्रमुख हेमन्त श्रेष्ठले भने, ‘आइसीयू सञ्चालन गर्न नसक्दा बिरामीलाई बाहिरी जिल्लामा रिफर गर्नुपरेको छ ।’
अस्पतालमा भेन्टिलेटरसहित पाँचवटा आइसीयू कक्ष सञ्चालन गर्ने तयारी गरिए पनि हाल दुईवटा भेन्टिलेटर मात्र जडान गरिएका छन् । कोरोना संक्रमणको धेरै जोखिम भएका बिरामीलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले लमजुङमा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ । गम्भीर प्रकृतिका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन् ।