कर्णालीमा अक्सिजन अभाव
सुर्खेत : कर्णालीमा अक्सिजन अभाव सुरु भएको छ। यही कारण अस्पतालहरूले कोरोना संक्रमितको उपचारमा कठिनाइ भइरहेको बताएका छन्। तर, अक्सिजन उत्पादनका लागि प्लान्ट सञ्चालन गर्न भने बेवास्ता गरेको पाइएको छ। धेरै जिल्लामा मेसिन पुगे पनि विद्युत्, जनशक्ति अभाव र ठेकेदारको लापरबाहीका कारण जडान गरिएको छैन।
डोल्पा, हुम्ला, मुगु, जाजरकोट, कालिकोट र दैलेखलगायत जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन गर्न बजेट उपलब्ध गराइएको छ। मुगुमा मेसिन पुगेको एक साता नाघ्यो तर हालसम्म जडान भएको छैन। ‘कोरोना भाइरसका संक्रमित थपिन थाले’, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका कोरोना फोकल पर्शन ज्ञानसिंह बुढाले भने, ‘अक्सिजन अभावमा हामीले आईसीयू र भेन्टिलेटर पनि सञ्चालनमा ल्याउन सकेका छैनौं।’
डोल्पामा पनि मेसिन पुगेको दुई साता नाघ्यो। तर, मेसिन जडान नहुँदा अक्सिजन उत्पादन हुन सकेको छैन। ‘प्रदेश सरकारले प्राविधिक पठाउँछु भनेको छ तर आजसम्म आएका छैनन्’, डोल्पाका कोरोना फोकल पर्शन टेकबहादुर गुरुङले भने, ‘अब सरकारले प्राविधिक पठाएपछि त मेसिन जोड्ने होला।’
अक्सिजन अभावमा जटिल प्रकारका संक्रमितलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता छ। स्थानीयले अक्सिजन दिनुपर्ने संक्रमितलाई हेलिकप्टर नै चार्टर्ड गर्नुपर्ने बाध्यता छ। अक्सिजन प्लान्ट सञ्चालन भए जिल्लामै उपचार सम्भव हुन्थ्यो। कालिकोटमा भवन अभाव देखाउँदै प्लान्ट जडानमा आनाकानी गरिएको छ। कोरोना फोकल पर्शन कटकबहादुर बमले भने, ‘अब अस्पतालमै मिनी प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेका छौं।’ हुम्लामा पनि समस्या छ। यसअघिको ६० युनिटको अक्सिजन प्लान्ट बिग्रिएको छ। प्लान्ट बिग्रिएपछि ४० युनिटको अर्काे प्लान्ट खरिद गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए। हुम्लामा विद्युत अभावको समस्या छ। दैलेख र जाजरकोटमा भने अक्सिजन उत्पादन गर्ने मेसिन नै पुगेको छैन। ठेकेदार कम्पनीले जेठ १५ सम्म प्लान्ट जडान गर्न नसकिने बताएको जाजरकोटका कोरोना फोकल पर्शन कृष्ण खत्रीले जनाए।
प्रदेश अस्पताल सुर्खेतले अक्सिजन अभाव देखाउँदै संक्रमितलाई अस्पतालमा नपठाउन अपिल गरेको छ। सम्बन्धित स्थानमा उपचार सम्भव नभएपछि मात्र बिरामी रेफर गर्न अस्पतालले आग्रह गरेको छ। ‘यहाँ उत्पादन हुने अक्सिजनले पुग्दैन’, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘अक्सिजनले नधान्ने भएपछि बिरामी लिएर मात्र के गर्नु ? अन्यत्र उपचार हुन नसकेको अवस्थामा मात्र यहाँ पठाउन भनेका छौं।’ प्रदेश अस्पतालले अक्सिजन अभावमा शुक्रबार संक्रमितलाई भर्ना गर्न नसकिने सूचना प्रकाशन गरेको थियो। शनिबार भने अन्यत्र उपचार सम्भव नहुने बिरामीलाई भने भर्ना लिइने सूचना निकालेको छ।