मजदुरलाई किस्ताको चिन्ता

मजदुरलाई किस्ताको चिन्ता

इटहरी : कोरोनाको महामारीका बिचमा लघुवित्तले ऋणीलाई संस्थागत क्षमताअनुसार १० प्रतिशतसम्म ब्याजमा छुट दिने निर्णय गरेको छ। देशैभरि भइरहेका निषेधाज्ञाको कारणले गर्दा नेपाल लघुवित्त बैंकर्स संघले यस्तो निर्णय गर्‍यो।

तर निर्णयको चार दिनअघि निषेधाज्ञाकै समयमा सोमबार सुनसरीमा एक ऋणी महिला लघुवित्तका कर्मचारीहरूबाट कुटिइन्।  दुहबीस्थित फरवर्ड लघुवित्तका कर्मचारीले देवानगञ्ज गाउँपालिका—६ की फूलकुमारी मेहतामाथि हातपात गरे। किस्ता नतिरेको भन्दै आफूमाथि हातपात गरिएको ती महिलाको आरोप थियो। देवानगन्ज प्रहरीले पनि कुटपिट भएको तर पछि दुवै पक्ष मिलेर गएको जानकारी दियो।

घाइते महिलाको उपचार गरिदिएर ऋणको भाका बढाइदिने सहमतिपछि विषय साम्य भयो। तर कोरोना महामारीका बीचमा लकडाउनले गर्दा कमाइ गर्न नसक्ने धेरै मजदुर, किसानहरू अहिले लघुवित्तको किस्ता तिर्ने तनावमा छन्। संघ तथा सरकारको निर्णय तथा आग्रहलाई समेत बेवास्ता गर्दै ‘टार्गेट’ पूरा गर्न किस्ता उठाउन आउने कर्मचारीहरूको त्रासमा छन् मजदुरहरू।

निषेधाज्ञाका कारण सुनसान बनेको इटहरी बजारभन्दा तीन किलोमिटर दक्षिणमा पर्ने इटहरी— १४ स्थित नरभसा चोकको चौतारोमा आजभोलि फुर्सदमा देखिन्छन् स्थानीय भागवत पासवान।  सधैं बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सहरबजारमा हुने निर्माणका काममा व्यस्त रहने पासवान अहिले कामविहीन छन्। ‘कोरोनाले गर्दा काम बन्द भइरहेका छन्,’ उनी भन्छन्, ‘साइटहरू (निर्माणका कामहरू) घटेको घटै छ, अब दुई चार दिनपछि घरमै बस्नुपर्छ होला।’ सुनसरी प्रशासनले जेठ १ गतेदेखि १५ दिन अझ कडा निषेधाज्ञाको घोषणा गरिसकेको छ। निषेधाज्ञाको पूर्वसन्ध्यामा पासवानसँगै हो मा हो मिलाउँदै थिए गणेश चौधरी। ‘आजकल मजदुर पनि लाउँदैन, भोलि पर्सिदेखि त झन् कडा गर्ने भनेको छ,’ उनी भन्छन्, ‘अब कसरी खाने हो, राहत पनि दिने हो कि होइन।’

कोरोनाको अघिल्लो लहरमा आइसोलेसन र राहतको लागि खटिएका स्थानीय तह तथा संघसंस्थाहरू यो पटक त्यति सक्रिय छैनन्। भएकाहरू पनि आफ्ना नजिकका बिरामीहरूको लागि अक्सिजनको जोहो गर्न लागिपरेका छन्।  त्यसो त निषेधाज्ञा पनि मजदुर मैत्री छ यो पटक। ‘पोहोर निकै कडा गरेको थियो, यो पटक काम गर्न दिएको छ,’ चौधरी भन्छन्, ‘तर पनि बाटोमा पुलिसले केरकार गर्छ, फेरि काम भइरहेको छिमेकमा धेरैलाई कोरोना लागेकोले हामीलाई पनि नआउनु भनेको छ।’

एकातिर कोरोनाको डर, अर्कोतिर खाने चिन्ता। त्योसँगै मजदुरहरूलाई अर्को डर छ, लघुवित्तको किस्ता र ब्याजको। जीवन विकास समाज लघुबित्त र सेवा सहकारीको सदस्य रहेका पासवानले दुवै संस्थासँग ऋण लिएका छन्। लघुवित्तसँग दुई वर्षअघि घर बनाउने भनेर दुई लाख रुपैयाँ ऋण लिएका थिए। मासिक किस्ता १३ हजार रुपैयाँ तिर्नुपर्छ। तर त्यति पैसाले घर त बनेन नै, अहिले किस्ता र ब्याजको लागि काम गर्नु उनको दैनिकी बनेको छ। 

मजदुरी गर्ने श्रीमती, वेल्डिङको काम गर्ने छोरासँगै १२ घण्टा काममा जोतिने पासवानलाई लकडाउनमा किस्ता कसरी तिर्ने भन्ने चिन्ता छ। हुन त अहिले सहकारी बन्द छ। लघुवित्त पनि बन्द होला। तर उनलाई किस्ता लिन आइहाले के गर्ने भन्ने अन्योल छ। ‘किनेर खाने पैसा छैन, अबको १० दिनपछि घरमा चामल, दाल सकिँदैछ, किस्ता कसरी तिर्ने ?’ उनी भन्छन्, ‘फेरि समूहका अरू सदस्यहरूले पनि तिर्नुपर्छ, हामीले मात्र तिरेको किस्ता लिँदैन।’

लघुवित्तले सामूहिक जमानीमा ऋण दिन्छ। समूहका सबैले किस्ता तिर्नुपर्छ। एकजनाले तिरेन भने अरूको किस्ता पनि मान्य हुँदैन।

अघिल्लो वर्ष ६ महिना लकडाउन अवधिभर किस्ता तिर्नु परेन उनीहरूले। तर ६ महिनापछि एकमुष्ठ ब्याजसहित तिर्नुपर्‍यो।  किस्ता नसके पनि ब्याज तिर्न भनेको छ लघुवित्तले। तातो घाममा बनिरहेको घरको लागि बालुवा चाल्दै गरेकी मीनावतीले भनिन्, ‘१३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ मासिक, ब्याज मात्र भए पनि तिर्नु भन्छन्, त्यो पनि अब गाह्रो हुने अवस्था आइसक्यो।’

उनले फरवर्ड लघुवित्तसँग घर बनाउन भनेर दुई लाख रुपैयाँ लिएकी थिइन्। किस्ता तिर्ने १५ गतेको दिन नआइदिए हुन्थ्यो भन्ने लागिरहेको छ उनलाई। उनीसँगै मजदुरी गरिरहेकी अर्की एक महिलाले पनि छिमेकी लघुवित्तसँग लिएको ऋणको किस्ता १० हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। घर बनाउँदा लिएको ऋण तिर्न अरूको घर बनाइरहेका छन् उनीहरू। ‘यति काम गर्दा त बल्लबल्ल ऋण तिर्न पुग्थ्यो, अब त खान लाउन नै गाह्रो होला जस्तो छ,’ मीनावती भन्छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.