महामारीसँगै भोकमरीको पीर

महामारीसँगै भोकमरीको पीर

सुर्खेत : कोरोना महामारीसँगै विपन्न परिवारमा भोकमरी बल्झिने चिन्ता बढेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुर्खेतलगायतका जिल्लामा वैशाख दोस्रो सातादेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण मुख्यगरी दैनिकरुपमा ज्याला मजदुरी गर्ने परिवार समस्यामा परेका हुन् । 

निषेधाज्ञाले दैनिक मजदुरी गरेर छाक टार्दै आएकाहरुले काम गर्न पाएका छैनन् । विपन्न परिवारको आम्दानी गुमेपछि उनीहरुलाई छाक कसरी टार्ने भन्ने पिरलो बढेको हो । मुख्यगरी बाढी र पहिरोका कारण विस्थापित, आगलागीपीडित र भारतबाट रोजगारी गुमाएर गाउँ फिर्ता भएका परिवारलाई पेट कसरी भर्ने भन्ने चिन्ता छ । अघिल्लो वर्षजस्तो यसपाली स्थानीय तह र सामाजिक संस्थाहरुले राहत वितरण नगरेपछि विपन्न परिवारमा भोकमरीको चिन्ता छाएको हो ।

‘निषेधाज्ञाले काम गर्न पाइएको छैनं, गिट्टी कुटेर गुजरा चलाएका छौं’ सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाटस्थित विस्थापित शिविरकी कौशिला नेपालीले भनिन, ‘खेती गरौं भने जग्गा छैन,गिट्टी बिक्री हुँदैन । राहत बाँड्न पनि कोही आएनन्, अब त रोगलेभन्दा पनि भोकले मर्ने अवस्था आयो ।’बाढीका कारण घरबारविहीन भएपछि उनी गिट्टी कुटेर छाक टार्थिन् । तर कोरोना त्रासपछि निषेधाज्ञा लागू भएपछि कुटेको गिट्टी बिक्री भएको छैन । आम्दानी नै नभएपछि उनीसहित अन्य विस्थापित परिवारलाई पनि छाक टार्ने पिरलो बढेको छ ।

सोही ठाउँका रुपलाल विकको पीडा पनि उस्तै छ । ‘कोरोनालेभन्दा हामीलाईभोकमरीको डर भयो’ उनले भने, ‘गिट्टी र बालुवा बिक्री भएको छैन, अरु काम पाउने अवस्था नभएपछि अब हातमुख कसरी जोर्ने ?’ कर्णालीका दुर्गम जिल्लामा अधिकांश परिवारलाई स्थानीय उत्पादनले वर्षभरी खान पुग्दैन । यसकारण अधिकांश परिवारका सदस्यहरु मजदुरीका लागि भारतजान्छन् । तर भारतमा कोरोना महामारी फैलिएपछि अधिकांश कर्णालीबासी गाउँ फर्किएका छन् । भारतमा रोजगारी गुमाएर फिर्ता भएको र गाउँमा उत्पादन पनि राम्रो नहुने भएपछि धेरै परिवारमा यही महामारीमा भोकमरीको अवस्था आउने खतरा बढेको छ ।

भोकमरीको चपेटामा सबैभन्दा बढी दैनिक मजदुरी गर्ने परिवार, विस्थापित, विपन्न र राउटे समुदाय पर्ने देखिन्छ । कोरोनाका कारण यार्सा संकलन गर्न नपाउने भएपछि हिमाली जिल्लाका बासिन्दाले पनि आम्दानी गुमाउने अवस्था आएको छ ।आम्दानी गुमेपछि छाक टार्न मुश्किल हुने स्थानीयको चिन्ता छ । सामान्य अवस्थामा पनि कर्णालीका६ जिल्ला खाद्यान्नमा परनिर्भर छन् । ‘कोरोनाको त्रासमा धेरै नागरिक गाउँ फर्किका छन्, चीनका नाकाहरु बन्द हुँदा माथिल्लो डोल्पा र हुम्लामा पनि खाद्यान्न ढुवानी भएको छैन’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्र भन्छन्, ‘यहीकारण पनि खाद्यान्न संकट पर्ने सम्भावना छ ।’उनका अनुसार हिमाली जिल्लाबाट कोरोना त्राससँगै खाद्यान्न अभाव हुनेभएपछि खाद्यान्नको दोब्बर माग आएको छ ।

यसपालीको महामारीमा स्थानीय तहसँग भने राहत वितरणको कार्यक्रम छैन । ‘नागरिकलाई कसरी रोगबाट जोगाउने भन्ने चिन्ता छ, यसपटक हामीसँग राहत वितरणको कुनै कार्यक्रम छैन’ सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भने,‘भोकमरीको समस्या आए प्रदेश सरकारसँग गुहार माग्नुपर्ला ।’

वीरेन्द्रनगर नगरपालिकाले पनि यसपाली राहतको कार्यक्रम ल्याएको छैन । उपप्रमुख मोहनमाया ढकालले विपन्न परिवारलाई पेट भर्न समस्या भएमा राहतका कार्यक्रम ल्याउन सकिने बताइन् । प्रदेश सरकारले भने कोरोनाका कारण भोकमरी पर्ने स्थानमा खाद्यान्न ढुवानी गरिने जनाएको छ । ‘खान नपाएर कोही पनि मर्ने अवस्था आउँदैन’ उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री नन्दसिंह बुढाले भने, ‘खाद्यान्न संकट पर्ने स्थानमा प्रदेश सरकारले तत्काल ढुवानीको व्यवस्था गर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.