आफैंमा छ प्रतिरक्षा प्रणाली र एन्टीबडी
![आफैंमा छ प्रतिरक्षा प्रणाली र एन्टीबडी](https://annapurnapost.prixacdn.net/media/albums/antibody_20210516055330_GOlKTAlcGK.jpg)
कोरोना भाइरसको महामारीले गत वर्षदेखि नै विश्वलाई आक्रान्त पार्दै आइरहेको छ। यो दोस्रो लहरको नयाँ भाइरसले नेपाल र नेपालीलाई नपत्याउने तरिकाले आक्रमण गर्दैछ। कोरोना भाइरस विरुद्धको खोप लगाएका मानिस भने अलिकति ढुक्क भएका छन् मनोवैज्ञानिक रूपमा। जसले दुई डोज लगाए उनीहरूलाई धेरै मानसिक आत्मबल मिलेको छ। जसले एक डोज मात्र लगाउने अवसर पाए र दोस्रो डोजको प्रतीक्षामा छन् उनीहरूलाई पनि केही हदसम्म आफू सुरक्षित छु भन्ने आत्मबल मिलेको छ।
आफ्नो डाक्टर आफैं बन्नुपर्ने परिस्थिति भएकाले पूर्णतः समझ र विवेकको प्रयोग गरी आफैंले प्रतिरक्षा प्रणालीको विकास र एन्टीबडी उत्पन्न गर्ने काम गरौं। जीवन रहे अरू रमाइलो गर्ने अवसर फेरि आउँछ किनकि उही परिस्थति सधैं रहँदैन।
त्यसो त, दुवै डोज लगाउने, एक डोज मात्र लगाउने, के युवा, के वृद्घ सबैमा दोस्रो लहरको भाइरसले छोडेको छैन भन्ने समाचार पनि आइरहेकै छन्। धेरै चिन्ता लिनु पर्दैन जसले एकपटक पनि खोप लिने अवसर पाउनुभएको छैन। खोपको काम हो हाम्रो शरीरको प्रतिरक्षा प्रणालीको विकास गर्नु र एन्टीबडी प्राप्त गर्नु अर्थात् रोगसँग, भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृिद्घ गर्नु। के खोपले मात्र यो सम्भव भएको हो या यो क्षमता र गुण हामीहरूसँगै छ ? अहिले नयाँ खोप नआउँदासम्म र भाइरस फैलिरहेको अवस्थामा हामीले नै आफूलाई कसरी स्वस्थ महसुस गर्ने, आत्मबलको विकास गर्ने ? यी सबै जान्नु र व्यवहारमा उतार्नु जरुरी छ। अहिलेको महामारीको परिस्थितिमा हामी कसरी सहज बन्ने केही सूत्रहरू अपनाऔं।
मानसिक स्थितिलाई शान्त राख्न जरुरी
अहिलेको परिस्थितिमा शारीरिक स्वास्थ्यभन्दा पनि मानसिक स्वास्थ्य अर्थात् मानसिक शान्तिको खाँचो छ। किनकि कोरोनाको भाइरस र बिरामीले भन्दा बढी कोरोनासम्बन्धी समाचारले स्वस्थ व्यक्तिलाई पनि मनोवैज्ञानिकरूपमा आक्रान्त पारेको भेटिन्छ। मानसिकरूपमा टर्चर भइरहेको छ समाचार, सामाजिक सञ्जालका संक्रमितहरूको फोटो, आफन्तजनका मृत्युका समाचार र फोटाहरू, अस्पताल र अक्सिजन अभावका समाचार आदिले गर्दा स्वस्थ व्यक्तिलाई पनि भय सृजना भएको छ। मलाई केही भइहाल्यो भने अस्पतालमा बेड छैन, अक्सिजन छैन रे आदि इत्यादि समाचारले न त संक्रमित भइसकेकालाई राहत मिल्छ न त स्वस्थ व्यक्तिलाई मानसिक शान्ति नै। शारीरिकरूपमा बलवान् स्वस्थ देखिने हाम्रै साथीभाइ आफन्तहरू पनि मानसिकरूपमा आत्मबल गुमाएर अस्पताल भर्ना भइरहेका घटना आँखा अगाडि आइसकेका छन्। त्यसैले खोपबाट प्राप्त हुने एन्टीबडी हामी आफैं कसरी उत्पादन गर्न सक्छौं त्यसलाई ध्यान दिऊँ। यसका लागि सरल र अप्ठ्यारा विधिको प्रयोग गरौं–
मित्रसँगको भलाकुसारी
कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बस्नुभएकी आमालाई उहाँको साथी गीता आन्टीबाट एक्कासि फोन आयो। आमाको फोन मेरै हातमा थियो, ह्यान्ड्सफ्री मै राखेर आमाको बिस्तारामा फालिदिएँ। रसिला आज कहाँबाट तिम्रो याद आयो भन्या ? तिमीलाई याद छ स्कूलको वार्षिकोत्सवमा नृत्य गर्दा तिम्रो कानको झुम्का भुइँमा खसेको अनि तिमीले बिस्र्यौ कि त्यो टिप्न नथाल्नु, केही खसे पनि आफ्नो स्टेप खुरुखुरू गर्नु भनेर नृत्य शिक्षकले सिकाए पनि तिमी भने भुइँमा खसेको झुम्का टिप्न थाल्यौ। अनि हाम्रो स्टेप नै बिग्रियो सबै गलल हाँसे। आफ्नो जीवन कोरोनाले नै लैजाने भो भनेर हतासिएकी हामी परिवारका सदस्यले भन्दा सम्झाउँदा पनि नमानेकी मेरी आमा एक्कासि खित्का छोडेर हाँसेको देखेपछि भाइ र म एकअर्कामा मुखामुख गर्दागर्दै खित्का फुस्क्यो हाम्रो पनि।
आन्टीले बाख्रा चराउन जाँदा आफूहरू गट्टा खेलेर बसेको र बाख्राहरू मान्छेको खेतीमा पसेर बाली खान थालेपछि घर धनीले आएर गाली गरेकोदेखि, कक्षामा शिक्षकले पढाइराखेको बेलामा एउटाले अर्काको पिठ्युँमा कागजको पुच्छर बनाएर झुन्डयाएको सबै कुरा गर्न भ्याउनुभयो। आमा नरोकिई हाँस्दै हुनुहुन्थ्यो। अझै, बेलाबेलामा भन्नुहुन्थ्यो– कति हसाउँछेस् गीता ! म त रेस्टमा छु, कमजोर छु। गीता आन्टी झन् कराउन थाल्नुभयो– तैंले स्कूलमा हामी कसैले भनेको मान्थिस् र अहिले म तैंले भनेको मानूँ ? कसले भन्यो तँ कमजोर भनेर ? धेरै सोच्ने होइन सुरक्षाका मापदण्डहरू अपनाएर मनलाई शान्त राखेर बस्ने।
आन्टीले फोन राख्नु भयो तर आमाको हाँसो रोकिएको थिएन। आँखाबाट आँसु आउने गरी हाँस्नुभयो करिब १५ मिनेटको संवादको बिचमा। भोलिपल्टदेखि आमाको स्वास्थ्यमा जादुमय परिवर्तन देखिन थाल्यो। आमाले आफैंलाई स्वस्थ, पूरै ठिक भएको महसुस गर्न थाल्नुभयो। हो, यही भलाकुसारी। यस्तै अपनत्वले हाम्रो एन्टीबडी बन्छ। जब साथीभाइ र आफन्तको फोन आउँछ नजानिँदो तरिकाले मुहारमा हाँसो फुस्किन्छ, खुसीले मन विचारभन्दा पर पुगिन्छ तब एन्टीबडी बन्छ। संगीत बजाउने, जाने पनि नजाने पनि संगीतको लयमा झुम्ने, नृत्य गर्ने यसले बन्छ एन्टीबडी। कोही चिन्तामा छ, उसलाई केही हुन्न। यो कुनै ठुलो समस्या र लक्षण होइन भनेर ढाडस दिने हो भने त्यसबाट बन्छ एन्टीबडी।
केही पर्यो भने मलाई याद गर्नूजस्ता शब्दहरू, घरमा परिवारका सदस्यबिच हाँसो र ठट्टा, जोक भन्ने, कथा भन्ने, कविता वाचन गर्ने, स्वर बिग्रोस् तर सबैलाई हाँसो प्रदान गरोस्। बच्चाबच्चीसँग खेल्ने, जिस्किने, बोटविरुवासँग कुरा गर्ने, प्रकृतिसँग तादात्म्य बढाउने यस्तै सानातिना प्राकृतिक क्रियाकलापले एन्टीबडी बन्छ जसको असर खोपको भन्दा चाँडो हुन्छ सकारात्मक प्रभाव पार्न। चिकित्सकीय अनुसन्धानले समेत यसलाई पुष्टि गरिसकेको छ। हामी सहजै अनुमान गर्न सक्छौं यस्तो व्यवहारले कसलाई चिन्ताग्रस्त बनाउँछ र ?
डर र सावधानी
महामारीमा मन बेचैनी हुनु स्वाभाविक हो तर डराउनुभन्दा सावधानी र सजकतालाई मनन गर्ने हो भने सकारात्मक ऊर्जाको विकास हुन्छ। सावधानी डर होइन, यसलाई सबैले बुझ्नुपर्छ। सावधान गराउनु पनि डर देखाउनु होइन। तर, हाम्रो अभिव्यक्ति र बुझाइले आफैंलाई डर र त्रासमा धकेलिरहेका हुन्छौं हामी। धैर्यता र समझको अर्थ आत्मविश्वास गुमाउनु पनि होइन। सावधानी समाचार सुन्नमा भन्दा बढी आफ्नो खानपान, पौष्टिक खानपानमा ध्यान दिनुमा छ।
स्वास्थ्य मापदण्ड अनुसार नियम पालना गर्ने, नियमित व्यायाम, प्राणायाम गर्ने, आफ्नै घर कम्पाउण्ड वरिपरि, कौसीतिर भ्रमण गर्ने गर्नुपर्छ। घरबाहिर सकभर ननिस्कने, निस्कनुपर्ने अत्यावश्यक काम परेमा दुईवटा मास्क लगाएर निस्किनुपर्छ। बाहिरबाट आफन्त, साथीभाइ या घरमा सहयोग गर्ने र मालीलाई समेत केही समय छुट्टि दिने, घरमा नआइदिन अनुरोध गर्ने। बाहिर जाँदा या कार्यालयको अत्यावश्यक काममा बैठक गर्नु परे पनि एकअर्काको बिचमा दुई मिटरको दूरी कायम राख्नुपर्छ। सहनै नसक्ने ज्वरो आयो, टाउको दुख्यो, रुघाखोकीले सतायो, घाँटी दुख्यो, शरीरमा असहजता भयो र अक्सिजनको कमी महसुस भएमा मात्र अस्पताल गएर जाँच गराउनुपर्छ।
आजकल प्रायजसो सबैको घरमा अक्सिमिटर हुन्छ त्यसले अक्सिजनको नाप लिनुपर्छ। अलिकति असहजता महसुस भएमा घरभित्रै परिवारसँग पनि आइसोलेसन बस्ने, घरभित्रै पनि मास्क लगाउने गर्नाले संक्रमणबाट बच्न सकिन्छ। समाचार धेरै नहेर्ने, त्यसको सट्टामा टिभी, रेडियो या युट्यूबमार्फत हाँस्य कार्यक्रम, गीत, कविता, सिनेमा लगायतका सामग्रीहरू हेर्ने र मनलाई हँसाउने, आनन्द राख्ने गर्न सक्नु नै सावधानी र संयमताका उदाहरण हुन्। यो महामारीमा न विज्ञानले सकेको छ, न चिकित्सक त न सरकार त्यसैले हामी एकअर्काले आफैंलाई स्वस्थ र सचेत बन्ने बनाउने काम गरौं। ध्यान गरौं, योग गरौं, सन्तहरूका प्रवचन सुनौं। जसरी मनलाई शान्ति, प्रेम र आनन्द मिल्छ त्यसमा समय दिउँ। आपतमा परेकालाई सूचना दिएर हुन्छ या सहयोग गरेर परोपकार र मानवीयताको उदाहरण प्रस्तुत गरौं।
स्मरण गरौं, लामो र गहिरो श्वासको काम गर्दा अक्सिजनको मात्रा शरीरलाई प्राप्त हुन्छ। बगैँचामा काम गर्दा पनि लामो गहिरो श्वासको प्रयोगले अक्सिमिटरको काम गर्न सक्छ। यो समय नै आफ्नो डाक्टर आफैं बन्नुपर्ने परिस्थिति भएकाले पूर्णतः समझ र विवेकको प्रयोग गरी आफैंले प्रतिरक्षा प्रणालीको विकास र एन्टीबडी उत्पन्न गर्ने काम गरौं। जीवन रहे अरू रमाइलो गर्ने अवसर फेरि आउँछ किनकि उही परिस्थति सधैं रहँदैन, यो परिस्थिति पनि बितेरै जानेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)