बिरामीलाई अस्पताल पुर्याएर फर्कदै गरेको गाउँपालिकाको गाडीमाथि तोडफोड
बेनी : कोरोना संक्रमितलाई यातायात सेवा दिँदै आएको म्याग्दीको मंगला गाउँपालिकाको जीप शनिबार राति तोडफोड भएको छ । बेनीबाट बाबियाचौरतर्फ जाँदै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जीप मंगला गाउँपालिका–२ सिमलचौरमा राति १२ बजे तोडफोड भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडी तोडफोड गर्ने सिमलचौरका ३५ वर्षीय रमेश बानिया र २६ वर्षीय जीवन बानियालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । उनीहरुले गाडी तोडफोड गरेर चालक रामु गिरीलाई कुटपिट गरेका थिए। मदिरा सेवन गरेका बानियाद्वयले गुडीरहेको गाडी रोकेर आक्रमण गरेका थिए।
उनीहरुले गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोका र चालक गिरी बिरामीलाई बेनी अस्पतालमा छोडेर बाबियाचौरतर्फ फर्कदै गरेको अवस्थामा आक्रमण र तोडफोड गरेका हुन् । चालकलाई सामान्य चोटपटक लागेको छ । तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ । बीचको सिटको एकवटा झ्यालको सिसा फुटेको छ ।
गाउँपालिकाका पदाधीकारी र कर्मचारी चढ्दै आएको सो गाडी दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि संक्रमितलाई स्वास्थ्य संस्था र अस्पताल पुर्याउने काममा प्रयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए ।