नवलपरासीमा संक्रमित हुनेमा युवा बढी
परासी : पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेमा युवाहरुको संख्या धेरै छ । दोस्रो लहरमा फैलिएको संक्रमणको समयमा परीक्षण गर्दा २५ देखि ४० वर्ष उमेर समुहका युवाहरुमा बढी संक्रमण देखिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्ण प्रसाद पोखरेलले बताए ।
मृत्यु हुने उमेर समूह भने ४१ देखि ५० वर्षका बढी छन् । मृत्यु हुने पुरुषको संख्या महिलाको भन्दा तेब्बरको हाराहारीमा छ । वैशाखदेखि अहिलेसम्मको एक महिनाको अवधिमा ४४ पुरुष र १८ महिला गरी कुल ६२ जनाको मृत्यु भएको छ ।
जसमा २० देखि ९० वर्षसम्मका छन् । २० देखि कम उमेर समुहका कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म हरेक दिन जिल्लामा २ देखि ४ जनासम्मको मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख पोखरेलले बताए । होम आईसोलसनमा बसेकाहरु गंभिर अवस्थामा पुगेपछि मात्र अस्पताल आउने भएकाले पनि मृत्यु दर बढेको उनले जानकारी दिए ।
मृत्यु हुने उमेर समुहमा २० देखि ३० वर्षका ३ जना २१ देखि ४० वर्षका ९, ४१ देखि ५० वर्षका १५ जना छन् । त्यस्तै ५१ देखि ६० उमेरका १३, ६१ देखि ७० उमेरका १४, ७१ देखि ८० वर्षका ५ र ८१ देखि ९० उमेर समुहका ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या १२ सय ६२ रहेको छ ।