जहाँ आकाशमा रकेट जुध्छन्
तेल अभिव, इजरायल
दोहोरो क्षेप्यास्त्र आक्रमणले संसारकै ध्यान खिचेको इजरायलको तेल अभिव सहरबाट अहिले म यो अनुभूति लेखिरहेकी छु। प्यालेस्टाइनतर्फबाट हानिने रकेट लञ्चरले कतिबेला क–कसलाई उडाउने हो भन्ने त्रास छ यहाँ। जब सरकारी साइरन बज्छ, बंकरतर्फ दगुर्नुपर्छ।
यो लेख्ने क्रममा पटक–पटक बंकरभित्र छिर्नु परेको छ। फर्किएर आई आतंकित वातावरणमा किस्ता–किस्तामा यसलाई पूरा गरेकी छु।
मध्यपूर्वको सुन्दर टापु इजरायल यतिबेला युद्धग्रस्त छ। जनजीवन भयभित छ। मे १० सोमबार सुरु भएको वर्षौंयताकै हिंसात्मक द्वन्द्व झन्पछि झन् बढ्दो स्थितिमा छ। जसले गर्दा असुरक्षित महसुस भइरहेको छ।
तर, इजरायल सरकारको सूचना र सुरक्षा प्रबन्ध मजबुत छ। नेपालका सम्पूर्ण शुभचिन्तक र आफन्तहरूलाई मेरो आग्रह छ– यो पढेर चिन्ता भने नलिनु होला। सकेसम्म हामी आफ्नो सुरक्षाको ख्याल राख्ने नै छौं।
सधैंजसो युद्ध झेलिरहेको इजरायलले सन् २०११ मा आइरन डोम विकास गरेको छ। यो यस्तो प्रविधि हो, जसको राडारले आफ्नो इलाकामा कुनै घातक मिसाइल वा बम–बारुद प्रवेश गर्न लागेको सूचना पाउँछ। प्रभावित हुन सक्ने इलाकामा साइरनको माध्यमबाट तत्काल सूचित गर्छ। र, अर्कातिरबाट आएका मिसाइल आकाशमै रोकी ध्वस्त पार्न छुट्टै विशेष प्रकारको हतियार पठाउँछ।
सुरक्षित स्थान सेल्टर रुममा जाने संकेत र साइरन युद्ध सुरु भएयता ६ हजारभन्दा बढी पटक बजिसकेको छ। साइरन बजेको नब्बे सेकेन्डभित्र सेल्टर रुम (बंकर) मा पुगिसक्नुपर्छ। यहाँका हरेक घरमा बीचमा वा हरेक फ्ल्याटमै व्यवस्थित तरिकाले सेल्टर निर्माण गरिएको हुन्छ। त्यो इलाका जस्तै गोलाबारुदबाट जोगाउने गरी सुरक्षित हुन्छ। यो यस्तो बंकर हो, जसलाई जीवन रक्षा कवचभन्दा फरक पर्दैन।
सहरमाथि जब बम एयर डिफेन्सले निस्क्रिय गर्छ, ठूलो आवाजले घरहरू थर्किन्छन्। त्यससँगै बंकरभित्र बसेका हाम्रो मुटु उसैगरी उफ्रन्छ। दिमाग शून्य हुन्छ। क्षणभरलाई परिवार र आफन्तका तस्बिरहरू फनफनी घुम्छन्। मनमनै ईश्वर पुकार्छौं।
बमको एक चोइटाले मात्रै छोए ‘अइया आमा’ भन्न पाइन्न। कथंकदाचित घरबाहिर परे हालत के हुन्छ, भन्न सकिन्न। विशेषगरी सीमा क्षेत्रमा काम गर्नेहरूलाई बढी तनाव हुन्छ। समाचारहरूमा हेर्न जति सजिलो छ, यहीं रही प्रत्यक्ष भोग्नु धेरै गुना फरक छ।
प्यालेस्टाइनतर्फबाट हुने सबैजसो रकेट आक्रमण यसरी आकाशमै नष्ट गर्न इजरायल सफल हुँदै आएको छ। सोमबार अपराहन्न भने हामी बसेको तेल अभिव सहरमा गाजातर्फबाट आएको शक्तिशाली बम खसेको छ। त्यसले एउटा भवनलाई क्षति पुर्याएको छ। त्यसले मानवीय क्षति भने भएन।
इजरायलमा नेपाली
वैदेशिक रोजगारका लागि मध्यपूर्वको इजरायल निकै सुरक्षित र आकर्षक देश हो। विभिन्न बाध्यता परिस्थितिवस यहाँ आइपुगेका नेपाली श्रमिकहरू यतिबेला करिब १८ देखि १९ सयको हाराहारी रहेको अनुमान छ। ६ सयको हाराहारीमा विद्यार्थी, कृषिलगायत विषय अध्ययनका सिलसिलाम यहाँ रहेको तेल अभिवस्थित नेपाली राजदूतावासले जनाएको छ।
अहिलेको यो विषम परिस्थितिमा अरूलाई झैं हामीलाई पनि मानसिक तनाव भएको छ। नेपाली दूतावासले सूचना जारी गरी सबै नेपालीलाई सचेत रहन आह्वान गर्दै आएको छ। कुनै पनि अवस्थामा समस्या परे राजदूतावासमा सम्पर्क गर्न पनि भनेको छ। शनिबार सहरमा सर्वत्र आक्रमण भयो। रमातगान भन्ने सहरमा करिब ५२ वर्षका एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो।
इजरायलमा सुरक्षा, पाउने सुविधा, स्वास्थ्यबिमालगायत अन्य थुप्रै कुरा छन्। जसले रोजगारका निम्ति आकर्षित गर्छ। यहाँ तर जब¬–जब यस्ता द्वन्द्व चर्कन्छन्, तब–तब बेकार आइयो भन्ने पनि लाग्छ। चिन्ता अवश्यै हुन्छ। तनावको झिल्कोले छुन्छ–छुन्छ।
यहाँका विद्यालय, कलेजहरू बन्द छन्। सुपरमार्केटहरू भने खुला छन्। किनमेल गर्न मनभरि त्रास लिएर निस्कनुपर्छ। हरेकको मुहारमा डर झल्किन्छ। आँखामा अनौठो अशान्ति देखिन्छ। तनावबीच बाँचेका कैयौं वृद्ध–वृद्धा सेल्टर रुममै सुत्न बाध्य छन्। गएको साता आफ्ना रोजगारदातालाई साथ लिई सेल्टर रुम पुग्न ढिला हुँदा एक भारतीय कामदार महिलाको मृत्यु भयो।
द्वन्द्वको मूल कारण
जेरुसेलम यहुदी, मुस्लिम र क्रिश्चियनको आस्थाको थल हो। यहाँ हरेक वर्ष रमादानका बेला प्रार्थना गर्न मुस्लिम समुदाय आउने गर्छन्। यस वर्ष पनि हजारौंका संख्यामा आएका थिए। तर, प्यालेस्टाइनबाट आएकालाई भित्र पस्न दिइएन। धरपकड भयो। त्यस क्रममा एक जनाको मृत्युसमेत हुन पुग्यो।
‘हामीले प्रार्थना गर्न प्रवेश दिँदै नदिएको होइन। दिएको हो। व्यवस्थित भने गरेका थियौं’, यसबारे इजरायलका अधिकारीको प्रतिक्रिया थियो, ‘तर, उनीहरूले जेरुसलेमलाई नै निशाना बनाए। हाम्रो पवित्र आस्थाको केन्द्रमाथि ठूलो ठेस पुर्याए। हामी चुप रहन सक्दैनौं।’
जेरुसेलममा प्रवेश रोकिएको घटनालाई प्यालेस्टाइनले भने प्रतिशोधका रूपमा लियो। हमास समूहले लगत्तै रकेट प्रहार थाल्यो। प्यालेस्टाइनको गाजा क्षेत्रबाट आस्कलोन, अज्दोत, तेल अभिवतर्फ आक्रमण सुरु भयो। त्यो अरिंगालको गोलामा हात हाल्नुसरह थियो।
जवाफमा इजरायलले पनि हवाई र सैन्य कारबाही सुरु गर्यो। हमासका मुख्य अड्डा र लडाकु रहेको भन्दै गाजाका अग्ला दुई भवन ध्वस्त बनाइदियो। त्यहाँ महत्वपूर्ण सामग्रीहरू नस्ट गर्न सफल भएको इजरायलका स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। भवन ध्वस्त गर्नुअघि सर्वसाधारणलाई भने त्यहाँबाट हट्न सूचित गरिएको थियो।
अहिलेसम्म प्यालेस्टाइनबाट तीन हजार एक सयभन्दा बढी रकेट प्रहार भइसकेको इजरायलले जनाएको छ। इजरायलको तर्फबाट ७ हजारभन्दा माथि रकेट आक्रमण भएको छ। इजरायलले आइतबार राति गाजामाथि १० मिनेटसम्म हवाई कारबाही गरेको थियो। प्रतिवादमा सोमबार बिहानदेखि गाजातर्फबाट निरन्तर आक्रमण भइरहेको छ। आफ्ना सत्तरी प्रतिशत जनताको जीवनरक्षा गर्ने हेतु यो कारबाही गरेको उनीहरूको दाबी छ।
प्यालेस्टाइनले रेडलाइन नाघेको भन्दै रिसाएका यहुदीहरूले गत शुक्रबार राति १ सय ६० सैनिक जहाजसहित गाजा क्षेत्र प्रवेश गरी कारबाही गरेका थिए। जमिन मुनिबाट इजरायल प्रवेश गर्न अनेक सुरुङ बनाएको सुराक पाएपछि ती सबै ध्वस्त गर्ने योजना इजरायलको छ। धेरैजसोलाई ध्वस्त पारी हमास संगठनका नेताहरूलाई मार्न सफल भएको स्थानीय समाचारहरूमा जनाइएको छ।
२२ हजार १४५ वर्ग किलोमिटरमा फैलिएको सानो तरुल जस्तै सुन्दर इजरायल टापु उन्नतिको चरमा शिखरमा छ। टापु यो मुलुकको पश्चिममा मिश्र, पूर्वमा जोर्डन, उत्तरपूर्वमा लेबनान र दक्षिणी भाग लालसागरसम्म छ। सिरियाले उत्तर पूर्वबाट घेरेको छ। करिब ९० लाख जनसंख्या सधैं अशान्ति, हिंसा र द्वन्द्व भने भोगिरहेका छन्।
वर्तमान घटनाको प्रभाव इजरायलको आन्तरिक जीवनमा समेत परेको छ। इजरायलका धेरै सहरमा यहुदी र अरबिक सुमधुर भाइचारा सम्बन्ध बनाएर बसेका छन्। उनीहरूमा प्रगाढ सम्बन्ध छ। तर, अहिलेको अवस्थाले ती सुन्दर सम्बन्ध बिगार्दै लगेको पाइन्छ।
यसका बाबजुद कति त अझै उस्तै मिलेर बसेका छन्। धेरैजसो भड्किएका छन्। उनीहरूबीच आपसमा झडप बढेका छन्। एक–अर्काका गाडी जलाइदिने गरेका घटना पनि सुनिन्छन्। कतिपय ठाउँमा त घरमै पसेर कुटपिट गर्ने क्रियाकलाप भइरहेको छ। सर्वसाधारणका लागि यो सबैभन्दा डरमर्दो अवस्था हो।
सन् २०१४ मा पनि ५ साता द्वन्द्व चर्किएको थियो। त्यसबेला भन्दा अहिले धेरै अनियन्त्रित हुँदै गएको छ। जिन्दगी हत्केलामा, मृत्यु टाउकामाथि बोकेर हिँड्नु पर्दा बरु खोलेफाँडो खाएर स्वदेशमै बसेको भए हुन्थ्यो भन्ने लाग्छ।
सुनिन्छ– अब छिट्टै वार्ताको वातावरण बन्दैछ। आशा छ, चाँडै अवस्था सामान्य हुनेछ।