साइकोसिस : समस्या र समाधान
बोलीचालीको भाषामा साइकोसिसलाई पागलपन तथा साइकोसिसका बिरामीलाई पागल तथा बौलाहा भन्ने गरिन्छ। वास्तवमा साइकोसिस भन्नाले कडा खालका विभिन्न मानसिक रोगहरूको समूह बुझिन्छ। पहिला मानसिक रोगलाई न्युरोसिस (कम कडा खालका मानसिक रोग) तथा साइकोसिस (कडा खालका मानसिक रोग) गरी दुई भागमा वर्गीकरण गरिएको थियो। हाल चिकित्साशास्त्रमा न्युरोसिस र साइकोसिसका विभिन्न प्रकारहरू छुट्याइएको भएता पनि सर्वसाधारण पाठकका लागि सजिलो होस् भन्ने हेतुले यहाँ साइकोसिस शब्द प्रयोग गरिएको हो।
उपचारको अभाव र मानसिक रोगको बारेमा व्याप्त भ्रमका कारण उपचार अभावमै यसका बिरामी अझै पनि घरमा साङ्लोले बाँधिन र थुनिन विवश छन्। कतिपय सडकमा नाङ्गै भौतारिएका छन्, पोकापोकी बोकेर कराउँदै हिँडिरहेका छन्।
तर कडा खालको मानसिक रोगहरूलाई पागलपन भन्नु तथा यस रोगका बिरामीलाई पागल तथा बौलाहा शब्दले सम्बोधन गर्नु कदापि ठिक होइन। वास्तवमा पागलपन होइन, साइकोसिस। साइकोसिसका अनेक लक्षणहरू हुन सक्छन्। सामान्यतया साइकोसिसबाट पीडित व्यक्तिहरूले सामाजिक परिप्रेक्षमा अमिल्दो व्यवहार गर्ने, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी सन्तुलन ठम्याउन नसक्ने हुन्छन्। यस समूहअन्तर्गत विभिन्न खालका कडा मानसिक रोगहरू पर्दछन्। त्यसैले यस्ता रोगहरूको लक्षणअनुसार उपचार पनि फरक फरक हुन सक्दछ।
डिप्रेसिभ साइकोसिस
डिप्रेसन बढ्दै गएर पनि साइकोसिस हुनसक्छ। यसलाई डिप्रेसिभ साइकोसिस भनिन्छ। डिप्रेसनको चरमसीमामा उदास हुने लक्षणहरू सँगसँगै साइकोसिसका लक्षणहरू पनि भेटिन सक्छन्। स्वजनहरू मरिसके या आफ्नो शरीरका भागहरू कुहिएर झरिसकेजस्ता कुराकानी यस्ता व्यक्तिले गर्न सक्छन्। उपचार नगरेमा यो अवस्था कति लम्बिन्छ भन्न सकिन्नँ। संक्रमण र आत्महत्याको सम्भावना यस प्रकारको साइकोसिसमा बढी हुने हुनाले यस रोग उचित औषधि उपचार आवश्यक छ। यस रोगको उपचारमा औषधिका साथ साइकोथेरापी तथा पारिवारिक र सामाजिक सहयोग महत्त्वपूर्ण हुन्छ।
सिजोफ्रेनिया
सिजोफ्रेनिया गम्भीर र जटिल मानसिक समस्या हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको लगभग १५ प्रतिशत व्यक्ति विभिन्न मानसिक समस्याहरूबाट पीडित भएकोमा एक प्रतिशत सिजोफ्रेनिया जस्तो गम्भीर मानसिक स्वास्थ्यबाट पीडित छन्। यो विशेषगरी मानिसको सोच्ने प्रक्रियामा आउने गम्भीर समस्या हो। जसले मानिसको जीवनमा विभिन्न भ्रमको सिर्जना गर्छ। वास्तविकतामा हुँदै नभएको कुरामा विश्वास गर्नु, अरूले नसुनेका र हुँदै नभएका आवाज सुन्नुजस्ता लक्षण यसमा देखा पर्छ।
अस्वाभाविक व्यवहार, डर, चिन्ता, शंकास्पद गतिविधि, मूर्तिझैं उभिइरहने, अकारण अस्थिरता पनि यसको लक्षण हो। अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने, कुनै धर्म, दर्शन वा विचार विशेषमा अत्यधिक अडान लिने, पूर्वाग्रही विचार बनाउनेजस्ता लक्षण पनि सिजोफ्रेनियाका रोगीमा देख्न सकिन्छ। यी लक्षण कमसेकम एक महिनासम्म रहिरहेमा सिजोफ्रेनिया भनिन्छ। साधारणतया यो समस्याको सुरुआत १५ देखि ३० वर्षको उमेर समूहमा बढी हुने गर्छ।
मेनिया (उन्माद)
मेनिकडिप्रेसन भावनात्मक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो। यसबाट पनि झन्डै एक प्रतिशत जनसंख्या जिन्दगीभर पीडित हुन्छन्। यस रोगका लक्षणहरू भिन्न समयमा फरक हुन सक्छन्। कहिले यसमा महिनौंसम्म डिप्रेसनका लक्षणहरू उपस्थित हुन्छन् त कहिले डिप्रेसनको ठिक उल्टो अर्थात् बढी बोलेको बोल्यै गर्ने, धाक धक्कु लगाउने, अनावश्यक रूपमा बढी आत्मबल हुने, भनेको कुरा नपुगेमा क्रोधित हुने, चञ्चलता बढी हुने, थोरै सुते पनि ताजगी महसुस हुनेजस्ता लक्षणहरूको उपस्थितिमा उक्त व्यक्तिलाई मेनिया भन्ने मानसिक रोग भएको भनिने र समग्र रूपमा उक्त व्यक्ति बाइपोलर डिसअर्डर नामक रोगबाट ग्रसित भएको भन्ने गरिन्छ। उचित औषधि उपचारले यस्ता लक्षणहरू नियन्त्रण गरी रोगी रोग लाग्नुपूर्वको अवस्थामा आउन सक्छ। तर यस रोगमा लक्षणहरू हटे पनि औषधि टुटाउँदा रोग बल्झिने सम्भावना रहिरहन्छ।
साइकोसिस र हिंसा
साइकोसिसबाट ग्रसित व्यक्तिहरू हिंस्रक हुन्छन् भन्ने भनाइ भए पनि यो पूर्णरूपमा सही होइन। साइकोसिसबाट ग्रस्तमध्ये वास्तवमा धेरैजसो हिंस्रक हुँदैनन्। हिंसक हुनेमध्ये पनि धेरैजसो अरूले जिस्क्याएको अवस्थामा मात्र उनीहरूलाई हानी पुर्याउन आएको भन्ने सोचेर यस्तो व्यवहार गर्न पुग्छन्। एउटा सानो समूह चाहिँ वैचारिक गडबडीका कारण बिनाकारण एक्कासि हिंस्रक हुनपुग्छ। समग्रमा भन्दा साइकोसिसबाट ग्रसित व्यक्तिहरूलाई एउटा सामान्य मान्छेजस्तै व्यवहार गरेमा एउटा मानसिक तबरले स्वस्थ व्यक्तिले भन्दा बढी हिंस्रक व्यवहार गर्दैन।
उपचार
साइकोसिसबाट ग्रसित व्यक्तिहरूलाई बाँधेर राख्ने चलन परापूर्वकालदेखिको हो। यसो गर्दा कतिपय व्यक्तिहरू केही समयपछि आफैं ठिक भएर आउँथे भने कतिलाई लामो समयसम्म या जीवनभर त्यसरी नै राखिन्थ्यो। कतिचाहिँ बाँधेको अवस्थामा विभिन्न संक्रामक रोगको शिकार भएर या भोकाएर मर्दथे। कतिपय ठाउँमा झारफुक, धामीझाँक्री तथा जडीबुटीको प्रयोगले उपचार गरिन्थ्यो। तर अधिकांश यस्ता रोगीहरूको हालत एकदमै दयनीय हुन्थ्यो।
तर समयसँगै अनेकथरिका औषधि उत्पादन गर्न थालियो। झन्डै आधा शताब्दी अगाडिदेखि यस रोगको उपचारका लागि आधुनिक प्रभावशाली औषधिहरूको प्रयोग गर्न थालियो। यस्ता औषधिहरूले साइकोसिसका रोगीहरूका लागि निकै उपयोगी सावित गरेका छन्। त्यसैले रोगको ठिक पहिचान गरी उचित साइकोटिक औषधिहरूको प्रयोग गर्ने हो भने प्रायःजसो रोगीहरूको लक्षण बिल्कुल हराएर जान्छन्। झन्डै ९० प्रतिशत यस्ता बिरामीहरूले औषधिको प्रयोगले लाभ हाँसिल गर्छन् भने १० प्रतिशतमा भने उपचारले खास असर ल्याउँदैन।
साइकोसिस दोहारिन सक्छ
छोटो समयका लागि मात्र हुने साइकोसिहरू दोहोरिने दर न्युन छ। तर, लामो अवधिसम्म (छ महिनाभन्दा बढी) भएका साइकोसिसहरू चाहिँ औषधि छोडेमा बल्झने सम्भावना हुन्छ। एकपटक साइकोसिस भएर ठिक भएको व्यक्तिको रोग बल्झिने सम्भावना केही हदसम्म भए तापनि उनीहरू धेरै अवस्थाहरूमा आफ्नो जिम्मेवारी बहन गर्दै सामान्य जिन्दगी बिताउन सफल हुन्छन्। भएका पनि छन्। त्यसैले एकपटक साइकोसिसबाट ग्रस्त भएपछि ठिक हुँदैन भन्ने धारणालाई बिल्कुल गलत हो, तर बल्झिँदैन भन्ने अवस्थामा चाहिँ छैन। औषधिको साथसाथै साइकोथेरापी, न्यानो पारिवारिक वातावरण, उपयुक्त व्यक्तिगत स्वतन्त्रता तथा आपसी विश्वासले रोग बल्झाउने सम्भावनालाई कम गर्छन् भन्ने थुप्रै अनुसन्धानले देखाएका छन्।
पुछारमा
नेपाली समाजमा साइकोसिसका बिरामीहरूलाई अहिले पनि दूरदूर दृष्टिले हेर्ने गरिन्छ। बौलाहा, पागल भन्ने गरिन्छ जुन शब्दको प्रयोग सही होइन। यस्तो सम्बोधनले रोगी र परिवारलाई उल्टो असर पर्छ। अशिक्षित मानिसहरूले मात्र होइन कि सहरबजारका कतिपय शिक्षित मानिसहरूले समेत भूतप्रेत, पूर्वजन्मको पाप, गण्डा–ताविज, टुनामुना, डायनी बोक्सी तथा गह्रहरूको नकारात्मक प्रभावलाई यस रोगको कारक मान्ने गर्छन्। देवीदेवताहरूको अभिसाप ठान्ने गर्छन्। त्यसैले अहिले पनि यहाँका अधिकांश मानिसले धामीझाँक्री, तन्त्रमन्त्र तथा धर्मको आधारमा यस रोगको उपचार गर्ने प्रयत्न गर्छन्।
नेपालमा साइकोसिसका बिरामी कति छन् भने आँकलन गर्न अझै सकिएको छैन। उपचारको अभाव र मानसिक रोगको बारेमा व्याप्त भ्रमका कारण उपचार अभावमै यसका बिरामी अझै पनि घरमा साङ्लोले बाँधिन र थुनिन विवश छन्। कतिपय सडकमा नाङ्गै भौतारिएका छन्, पोकापोकी बोकेर कराउँदै हिँडिरहेका छन्। तर सरकार र सम्बन्धित निकायको यसतर्फ ध्यान गएको छैन। यो निकै चिन्ताको विषय हो। त्यसैले स्थानीय निकाय, प्रदेश सरकार तथा संघीय सरकारको यसतर्फ ध्यान जाओस्। पागलपन, पागल वा बौलाहा शब्द नै नेपाली मनमस्तिष्क तथा शब्दकोशबाट हटोस्।
(लेखक साइकोथेरापिष्ट हुन्।)