गाउँमा स्वास्थ्यकर्मी जाँदा भागाभाग

गाउँमा स्वास्थ्यकर्मी जाँदा भागाभाग

इटहरी : स्थानीयको एन्टिजेन परीक्षण गर्न इटहरी–३ को सुनौलो बस्ती पुगेको टोली त्यतिबेला अचम्मित भयो, जतिबेला स्थानीय भागाभाग गर्न थाले। 

इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल र प्रहरीसहितको टोली मंगलबार दिउँसो १२ बजे पुग्दा कोही घरबाट बाहिरै निस्केनन्, कोही खोला पारि भागे। टोलीले तीन घण्टा लगाएर एन्टिजेन परीक्षणका लागि मुस्किलले ९ जनालाई भेला गर्‍यो। इटहरी अस्पतालका कर्मचारी विशाल दाहालले भने, ‘कोही भाग्ने, कोही त मलाई केही भएको छैन भनेर तर्कने, परीक्षण गराउनै नचाहने।’

परीक्षणका क्रममा ८ जनामा कोरोना पोजेटिभ पाइयो। अक्सिजन नै दिनुपर्ने अवस्थाका दुई जनालाई इटहरी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा ल्याएर राखिएको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए। अहिले उक्त बस्ती सिल गरिएको छ।

उता इनरुवा–२ मा घरमै औषधि सेवन गर्दै बसेका एक ३० वर्षीय युवाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भयो। स्थानीयका अनुसार उनी बसेको टोलबस्तीको घरैपिच्छे मानिसमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। तर, उनीहरू परीक्षण गराउनुको साटो घरमै औषधि खाएर बसिरहेका छन्। 

‘समयमा ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्टको अभावमा कोरोना र अन्य बिरामी छुट्याउन नसक्दा ज्यान गुमाउनेहरूको संख्या इनरुवामा बढिरहेको छ,’ संक्रमणको अवस्था पत्ता लगाउन अनिवार्य मास टेस्टिङमा जानुपर्ने बताउँदै स्थानीय राजेन्द्र पोख्रेलले भने, ‘यसै साता आधा दर्जनभन्दा बढी मानिसको मृत्यु भयो, तर कारण खुल्न सकेन।’

इटहरी र इनरुवाका यी दुई प्रतिनिधि घटनाहरू हुन्। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर पनि पीसीआर जाँच नगराई बस्ने प्रवृत्तिले धेरै बिरामीहरूलाई मृत्युको मुखसम्म पुर्‍याउँदैछ। 

सर्वसाधारणहरू अनावश्यक झन्झटमा पर्ने डरले कोरोना जाँच नगराइ बसेका छन्।  ‘घरैपिच्छे बिरामी छन्, तर अगाडि आउन र जँचाउन कोही मान्दैनन्,’ एक सय २० घर भएको सुनौलो बस्तीको उदाहरण दिँदै धमलाले भने, ‘पुलिस लगाएर बल्ल–बल्ल ९ जनाको जाँच गर्दा लगभग सबैलाई कोरोना देखियो। अझै पनि जँचाउन मान्दैनन्।’ उनका अनुसार बस्तीका धेरै मानिस जोखिममा छन्।

अटेरी त कतिसम्म भने सोमबार नै उपमहानगर र अस्पतालको टोली त्यहाँ पुगेको थियो। नमुनाका रूपमा चार जनालाई पीसीआरका लागि आउन भने पनि मंगलबार कोही पुगेन। त्यसलगत्तै स्वास्थ्यकर्मी सहितको टोली बस्तीमा पुगेको थियो।  ‘बिरामी छु भनेर भन्न र जाँच गर्न कोही पनि तयार नभएको पाइयो,’ उपमेयर लक्ष्मी गौतमले भनिन्, ‘अझै पनि मानिसमा जँचाउनुपर्छ भन्ने चेतना नभएको पाइयो।’ 

बस्तीका झण्डै सबै घर परिवारमा कोरोना संक्रमण फैलिएको आशंका वडाध्यक्ष बालकृष्ण विष्टको छ। उनले भने, ‘संक्रमण नजाँच्दा र लुकाउँदा सबैलाई सरिसक्यो होला।’ सहर बजारमा निषेधाज्ञा जारी भएकाले मानिसको आवत–जावत लगभग ठप्प छ। सुनसरीका सबैजसो स्थानीय तहका कार्यालय, बैंक, वित्तीय संस्था, यातायात बन्द छन्। 

सञ्चालन भएकामा पनि स्वास्थ्य सावधानी अपनाइएको छ। तर, गाउँ समाजका यस्ता बस्तीमा अझै पनि भौतिक दूरी पालना गरीएको पाइँदैन। साना–साना घरहरू भएका विपन्न समुदायका बस्तीहरूमा चेतना नहुँदा र लापरवाही गर्दा कोरोना भित्रभित्रै सल्किरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.