अस्पताल आफैं बिरामी
बर्दिबास : महोत्तरीमा बर्दिबास अस्पताल लेखिएको ठूलो भवन छ। यहाँ कोभिड–१९ इमर्जेन्सी अस्पताल पनि सञ्चालन गरिएको छ। कोरोना संक्रमित भएपछि बाँच्ने आशा लिएर गाउँगाउँका मानिस यहाँ पुग्छन्। तर औषधि, उपकरण र डाक्टरको अभावमा संक्रमित ज्यान गुमाउन बाध्य भएका तीतो यथार्थ यहाँ देख्न पाइन्छ।
महोत्तरी, सर्लाही र धनुषा गरी तीन जिल्लाका करिब तीन लाख मानिसले कोरोना महामारीमा बर्दिबास अस्पतालमा जीवन बचाउने आशा राख्छन्। बिडम्बना अस्पताल आफैं बिरामी छ। त्यही अस्पतालको बेडमा ७ जना कोरोना लक्षण देखिएका र संक्रमित भएका बिरामी छन्।
भेन्टिलेटर नहुँदा ज्यान गयो
बर्दिबास–१४ का ७२ वर्षीय रामअवतार महतोको भेन्टिलेटर अभावमा मंगलबार साँझ ज्यान गयो। श्वास फेर्न गाह्रो भएपछि चार दिनअघि उनका छोरा विकाउ महतोले हतारहतार बुवालाई बर्दिबास अस्पताल ल्याएका थिए। अक्सिजन लगाएर अस्पतालमा उनलाई भर्ना गरियो। ‘अस्पतालमा औषधि पाइएन। हामीले आफैं बाहिरबाट औषधि खरिद गर्यौं’, विकाउ भन्छन्, ‘डाक्टरले हाम्रो बिरामीलाई राम्रोसँग हेरचाह पनि गरेनन्।
हामीलाई भित्र अस्पतालमा पनि बस्न दिइएन।’ अस्पतालले वास्ता नगरेका कारण बुवा बितेका उनले गुनासो गरे। ‘अरू एक जना पनि त्यहीँ बितेका खबर छ,’ उनले भने, ‘हेर्नलाई मात्रै अस्पतालको ठूलो भवन छ। अस्पताललाई राम्रो डाक्टर चाहियो र भेन्टिलेटर पनि छिटा ल्याउनु पर्यो।’
बर्दिबास नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु यादवका अनुसार बर्दिबासमा कोरोना संक्रमणले तीन जानको मृत्यु भइसकेको छ। झन्डै दुई सय जना संक्रमित छन्।गाउँभरि कोरोना संक्रमण फैलिएपछि बर्दिबास–५ स्थित चेरु गाउँ एक सातादेखि सिल गरिएको छ।
औषधि खाएर कोरोना जित्ने आशा
महोत्तरीको गौशाला नगरपालिका ५ की ४७ वर्षीया विनिता देवी यादव चार दिनदेखि बर्दिबास अस्पतालमा भर्ना भएकी छन्। उनी कोरोना संक्रमित हुन्। विनितासँग औषधि किन्ने पैसासमेत छैन, अस्पतालमा औषधि पाइँदैन। खानेकुरा अभावमा उनका चार लालाबाला घरमा भोकै छन्। केही दिनपहिले खुट्टामा भएको बाथरोगको उपचार गराउन उनी काठमाडौं गएकी थिइन्। घर फर्र्किएपछि उनलाई ज्वरो आयो। प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भयो। १४ दिन त्यहीँ उपचार गराइन्। त्यहाँ पनि नि:शुल्क औषधि नपाइएको उनले गुनासो गरिन्। ‘९० हजार जतिको औषधि खर्च भयो,’ उनले भनिन्।
उनलाई प्रादेशिक अस्पतालले कोरोना नेगेटिभ नआउँदै घर पठाइदियो। घर आएपछि उनलाई श्वास फेर्न कठिन भयो। चार दिनदेखि उनी बर्दिबास सरकारी अस्पतालमा अक्सिजनको भरमा बाँचिरहेकी छन्। ‘औषधि किन्ने पैसा भए कोरोना जित्ने थिएँ’, उनले बिलौना गरिन्, ‘तर, औषधि किन्नै नसकेर मरिएलाजस्तो छ।’
सोनाबतीको अवस्था गम्भीर
मनोजकुमार चौधरी महोत्तरीको औरही—४ श्रीपुरमा स्वास्थ्यकर्मी छन्। उनको आमा ४५ वर्षीय सोनाबती देवीलाई ७, ८ दिनदेखि ज्वरो आएको छ। उनलाई सुरुमा जलेश्वर अस्पताल लगियो। त्यहाँ एउटै डाक्टरले कोभिड–१९ का बिरामीलाई पनि उपचार गर्ने र सामान्य बिरामीलाई पनि हेर्ने देखेपछि उनी आमालाई लिएर बर्दिबास सरकारी अस्पताल आए। बिरामी अक्सिजन नपाएर बाहिर छट्पटाइरहेका थिए। एक घण्टापछि मात्रै डाक्टर आएर अक्सिजन लगाइदिए। ‘डाक्टरले उहाँको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ। कोरोना जाँचका लागि स्वाब लिइएको छ’, उनले भने, ‘अवस्था जटिल छ। डाक्टरले भेन्टिलेटर खोज्नुपर्छ भन्नुभएको छ। यहाँ सुविधा छैन। हेरौं अब के हुन्छ ?’
औषधि अभावमा समस्या
अस्पतालमा जनशक्ति, उपकरण र औषधि अभावमा कोरोना संक्रमितलाई उपचारमा समस्या भइरहेको बर्दिबास सरकारी अस्पतालका मेडिकल अधिकृत होमेन्द्र साहले बताए। ‘पाँच दिनअघि बर्दिबास नगरपालिकालाई औषधि बारे माग फारम भरेर पठाएका थियौं। २५ प्रकारभन्दा बढीको औषधि अहिलेसम्म आइपुगेको छैन,’ उनले भने।
अस्पतालमा औषधि नभएकाले बिरामीको कुरुवा औषधि खोज्दै भौतारिने गर्छन्। तबसम्म बिरामीको स्वास्थ्य अवस्था बिग्रिने गर्छ। तुरुन्तै दिनुपर्ने औषधि अस्पतालमा नभएको उनले बताए। ‘हाम्रो हस्पिटल भनेको कोभिड–१९ का बिरामीलाई निको पार्ने हस्पिटल होइन। बिरामीले बेड नपाएसम्मका लागि अक्सिजन दिएर बाहिर रेफर गर्न मात्रै राख्ने हो’, उनले भने।
अस्पतालको स्टोरमा १०–४ सम्म मात्रै कर्मचारी बस्ने गर्छन्। जसका कारण राति उपचारमा औषधि ल्याउन समस्या हुने उनले बताए। ‘हस्पिटल चलाउन प्रशासन, स्टोर प्रमुख, डाक्टर, उपकरण, ल्याबका प्रमुख, स्विपरलगायत २४ घण्टा बस्नुपर्छ। तर, त्यो यहाँ छैन’, उनले भने। गत वर्ष स्वास्थ्यकर्मीले कोरोना महामारीमा काम गर्दाको करिव १२ लाख रुपैयाँ जोखिम भत्ता पनि नगरपालिकाले नदिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
औषधि अभाव थाहा छैन : मेयर कार्की
यता बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले हस्पिटलमा औषधि अभाव रहेको कुरा आफूलाई अस्पतालबाट जानकारीमा नआएको दाबी गरेका छन्। ‘दिनको तीन पटक म अस्पतालका सम्बन्धित मान्छेलाई फोन गर्छु। तर, औषधि अभाव रहेको कुरा आएको छैन।’ आवश्यक उपकारण खरिद गर्ने बताउँदै मेयर कार्की भन्छन्, ‘उपकरण खरिद गर्छौं। तर, जनशक्ति नपाएर समस्या छ।’ अस्पतालमा केही कुराको अभाव रहन नदिने उनले बताए।