महामारीमा मानवता
कोही आफन्त, छिमेकी वा साथीभाइ बिरामी परे फलफूल बोकेर हेर्न जाने र ढाडस दिने संस्कार नेपाली समाजमा छ। बिरामीका घरमा मात्रै होइन, अस्पतालसम्म पुगेर चासो राख्ने र निधन भए घाटसम्म जाने अनि अन्तिम संस्कारमा सहजै सहभागी हुने परम्परा पनि छ। गाह्रो सारो परे देशविदेशका नेपाली सबै जुटेर समाधान गर्दा नेपालीको एकता विश्वमा उदाहरणीय छ। ‘नेपाली हो गर्छ’ भन्ने भनाइ हामीले स्थापित गरेका संस्कार, एकता र परम्पराको फल पनि हो।
पछिल्लो समय कोरोना महामारीमा हाम्रा संस्कार, संस्कृति र परम्परालाई खुम्च्याउनु परेको छ। मान्छेसँग मान्छे टाढा बस्नुपर्ने अवस्था कोभिडको महामारीले ल्याएको छ। आफन्त, साथीभाइ बिरामी पर्दासमेत निधारमा हात राखेर र नाडी छामेर सान्त्वना दिन त परको कुरा, बिरामी परे खबर सुनेर मात्रै बस्नु पर्ने बाध्यता छ। यसले जो कोहीको मन कटक्क काट्छ नै। कोभिडबाट परिवारका सदस्य गुमाए अँगालो हालेर रुन र बिदा गर्न पनि पाइँदैन। यस्तो अवस्थामा छरछिमेकले पनि टाढाबाट हेरेर चित्त बुझाउनु परेको छ। कतै शव उठाउने समेत मान्छे नहुँदा परिवारमा शोक माथि पीडा थपिँदो छ।
कोभिडले समस्या मात्रै ल्याएको छैन। हरेक समस्याको समाधान हुन्छ र समयअनुकूल चल्नुपर्छ भन्ने पाठ पनि हामीलाई सिकाउँदैछ। गर्ने चाहना भए उपाय निस्कन्छ भन्ने उदाहरण महामारीमा पनि खटिएर मानवता देखाउनेले छर्लंग पारेका छन्। ३८ वर्षीय पुरुषको जनकपुरधाममा निधन भएर अलपत्र शवलाई जानकी चोकका चार युवाले व्यवस्थापन गरे। प्रमुख जिल्ला अधिकारी नै कोरोना परीक्षण नभएको भन्दै शव व्यस्थापन गर्नबाट पन्छिएपछि दाहसंस्कारमा अन्तिम श्रद्धाञ्जलीसमेत दिएका ती युवाले नेपालीको मन र संस्कारलाई जीवितै राखेका छन्। महामारीमा संकट परेको मानवतालाई पुनः जोगाएका छन्। उनीहरूको साहस र मनलाई हामीले सम्मान गर्नै पर्छ।
महामारीले कोलाहल अवस्थाको सृजना गर्दैछ। अस्पतालमा पुगेका बिरामीले भित्रको बेड भरिँदा बेडमा भएकाको मृत्यु वा डिस्चार्ज पर्खनुपर्ने अवस्था छ। सडकमा भोकाहरूको संख्या बढ्दो छ। हरेक कुराको व्यवस्थापन चुनौतीपूर्ण बन्दै जाँदा व्यवस्थापनको जिम्मेवारी काँधमा बोकेकाले थाम्न र थेग्न छाडेका छन्। महामारी नियन्त्रणमा अब सामूहिक प्रतिवद्धता र एकता खड्किएको छ। सबैले आफूले सकेको गर्नुपर्ने दिन आएको छ। हामी कसरी जोगिन्छौं भन्ने भावना लिएर महामारीले सृजना गरेका चुनौती सबैले चिर्नुको विकल्प पनि छैन।
चिकित्सकले गर्ने उपचार पद्धतिबाहेक अन्य पनि धेरै समस्या छन्। भोकालाई भोजन, गाउँ, घर र टोलमा छट्पटाएका बिरामीलाई अस्पताल र उपचार सेवासम्म पु¥याएर महामारीको युद्धमा योद्धा थपिनु छ। विभिन्न जिल्ला र सहरमा मनकारी युवा र संस्था पनि भोकालाई भोजन, समस्यामा परेकाको उद्धार र मृतकको अन्तेष्टिमा सहारा बनेका छन्। तर, अझै पर्याप्त भने छैन। उनीहरूको अभियानलाई साथ दिनेको खाँचो छ। बिनास्वार्थ सेवामा खटिनेको अभाव खड्किँदो छ। महामारीमा सामाजिक काम गरेजस्तो गर्ने र एक थान फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट्याउने खालका समाजसेवी पनि हाम्रो समाजमा धेरै छन्। यसले पीडामा परेकालाई राहत होइन, आहत थपेको छ।
‘मानव सेवा नै धर्म हो’ भन्ने भनाइ यो समय शब्दमा सीमित हुनुहँुदैन। ‘सेवा गरे मेवा पाइन्छ’ भन्ने उखान त्यसै प्रचलित छैन। तर, स्वार्थको सेवा नभई समयको आवश्यकतालाई महसुस गरेर आफैंलाई सुरक्षित राख्दै महामारीको युद्धमा सबैले होमिन आवश्यक छ। राजनीतिक दलले विभिन्न जनवर्गीय संगठन बनाएर युवालाई समेटेका छन्। आन्दोलनमा अघि सारेर ढुंगा हान्न मात्रै होइन, यो समयमा अप्ठ्यारोमा परेकाको सेवामा खटाउनु पनि पर्छ। घामपानी नभनी खटिएका स्वाथ्यकर्मी र सुरक्षाकर्मीको जनशक्ति कम छ। उनलाई साथ दिन र महामारीमा एकजुट भएर यसलाई नियन्त्रण गर्न सबैले आआफ्ना स्थानबाट जुटौं। एक दिन सबैको मुहारमा खुसी छाउने छ।