महामारीसँग नभागौं, लडौं
मुलुकको समग्र प्रणाली कोरोना भाइरस नियन्त्रण गर्दै संक्रमितको मृत्युदर घटाउने कसरतमा छ। दोस्रो चरणमा आएको कोरोनाको नयाँ ‘भेरियन्ट’ले संक्रमण र मृत्युदरलाई बढाउँदा महामारी नियन्त्रण चुनौतिपूर्ण बनेको छ। लगभग देशैभर निषेधाज्ञा छ, बाध्यताले सुनसान सडकमा निस्कनेहरू बाहेक शववाहन र एम्बुलेन्सका ‘साइरन’ मात्रै सडकमा सुनिन्छन्। संक्रमणले सहर मात्रै नभई गाउँका कुना–कुनासम्म आफूलाई फैलाउँदा यसबाट अब कुनै पनि समय जो कोहीलाई संक्रमण हुने निश्चित प्रायः छ। अब जोगाउने र जोगिने बाहेक हामीसँग विकल्प छैन। संक्रमित भएर उपचार गर्न जानुपरे अस्पतालका शैया नपाउने अवस्था छ।
विश्वमा यो मात्रै पहिलोपटक आएको नयाँ महामारी भने होइन। अघिल्ला पुस्ताले पनि धेरै महामारीसँग जुध्नु परेको थियो। नेपालमै विफर र हैजाको महामारी भोगेका बुढापाका हाम्रा समाजमा अझै छन्। इबोला, रुबेला र हैजाले विश्वका धेरै देशमा विभिन्न समय महामारीको रूप लिएर हजारौंको ज्यान लिएका उदाहरण छन्। समयसमयमा आफूलाई विकास गरेर फैलने रोग अझै छन्। घटनाक्रमलाई नियाल्दा विभिन्न समयमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने रोग र फैलने महामारीमा जुध्नुको विकल्प छैन। जनसंख्या वृद्धि, विश्वमा भइरहने विकास, परीक्षण र बिस्तारसँगै दूरगामी प्रभाव पार्ने महामारीले पनि आफूलाई क्रमशः विकास गर्दै लगेको पाइन्छ।
पहिले आउने महामारीको अध्ययन भएर खोप र औषधिको विकास भए। यसले ती महामारीबाट अहिले हामीलाई जोगाएको छ। नयाँ रोगका महामारीहरू क्रमशः आउँदैछ। यस घटनाबाट हामीलाई रोग र यसले गर्ने असर सकिने होइन, आउने र फैलने हो। समय अनुकूल आफूलाई सुरक्षित गर्नुपर्छ भन्ने पाठ सिकाएको छ। अहिले भोगिरहेको कोरोना भाइरसको संक्रमणलाई उदाहरणका रूपमा लिन सक्छौं। कोरोना भित्रिएकाले अब यसबाट बच्ने, भ्याक्सिन र औषधि बनाउने अनि शरीरमा रोगसँग लड्ने एन्टिबडी उत्पादन गर्नु नै अबको विकल्प हो।
रोगका असर र फैलने प्रकृति फरक हुनसक्छन्। नसर्नेभन्दा सर्ने रोग धेरै छन् र यसबाट जोगिने तरिका पनि फरक फरक। कोरोनाबाट पनि जोगिन स्वास्थ्य मापदण्ड बनेका छन्। यसलाई पालना गरे संक्रमणबाट डराउनु पर्दैन। तर, रोगलाई नबुझी ‘हाउगुजी’ ठान्दा रोगसँग जुधिरहेका संक्रमितलाई समाज, व्यक्ति र आफ्नै परिवारले गर्ने व्यवहारले महामारी नियन्त्रणमा चुनौति थप्दैछ। प्रदेश १ का दुई उदाहरण लिऊँ। झापामा शारीरिक अवस्था समेत कमजोर भएकी गर्भवती श्रीमतीलाई कोरोना पोजेटिभ देखिएपछि पति बेपता भए। संक्रमण थाहा पाएर घरबेटीले त डेराबाट निकालेका थिए नै, माइती जाँदा पनि त्यहाँका छिमेकीले गाउँ छिर्न दिएनन्।
सुनसरीको इटहरी ३ को एक बस्तीमा कोरोना संक्रमण फैलिएपछि एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मी पुग्दा गाउँलेको भागाभाग भयो। परीक्षण गरेर संक्रमित भए समाजले के भन्ला ? भन्ने डर त्यहाँ थियो। संक्रमण भए पनि लुकाएर बस्दा बस्तीमै महामारी फैलियो। यी घटनाले अझै पनि रोग र रोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको देखिँदैन। रोगका नयाँ रूप फैलिरहन्छ। कुनै सुषुप्त हुन्छन् त कुनैले समय समयमा महामारीको रूप पनि लिन्छन्।
कोरोना समाजमा भित्रिएको नयाँ रोग हो। स्वास्थ्य विज्ञहरूका अनुसार फरक रूपमा समय समयमा फैलने हुँदा यसबाट सुरक्षित भएर जोगिनु र जोगाउनुको विकल्प छैन। संक्रमण भए समयमा उपचार गर्ने, संक्रमितको स्वास्थ्य मापदण्ड अपनाउँदै स्याहार, सेवा र उपचार गर्नबाट अब कसैले भाग्नु हुँदैन। ‘म पनि कुनै समय संक्रमित हुन सक्छु’ भन्ने यथार्थ बुझेर अरूलाई आइपरेका अप्ठ्यारामा कम्तिमा सहज वातावरण बनाउनै पर्छ। सामूहिक प्रयासबाट मात्रै यस्ता महामारीलाई जित्न सकिन्छ।