गाउँमा कोरोना : संक्रमित निको, परिवारमा ‘ट्रान्सफर’
बागलुङ : जिल्लाको ग्रामीण क्षेत्रमा अहिले कोरोना संक्रमण भयावह हुन थालेको छ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट देखा परेसँगै बढ्न थालेको संक्रमण दर अहिले गाउँ गाउँमा उच्च देखिएको हो।
बागलुङ नगरपालिका (बानपा) सहित अधिकांश पालिकाका गाउँ टोलमा अहिले कोरोना संक्रमित बढेका छन्। बानपाको मालिका, सिम, भान्सा, कालिमाटी, बाटुले, सिगाना, तित्याङ, बलेवा, काठेखोलाको पाला, धम्जा, तंग्राम, बिहुँ, लेखानीमा कोरोनाको संक्रमण दर उल्लेख्य देखिएको छ। यसैगरी, ताराखोलाका सबै वडा, बडिगाड, ढोरपाटन नगरपालिकाको पनि कोरोना संक्रमण भएको पाइएको छ।
कोरोना संक्रमण पश्चात उपचारका क्रममा धौलागिरी अस्पताल, पोखरा लगायतमा मृत्यु हुनेमा पनि एकाध बाहेक सबैजसो ग्रामीण क्षेत्रका छन्। पछिल्लो एक महिनाको अन्तरालमा गाउँघरमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिएको काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमलाल बिकले बताए। ‘कोरोना बेस्सरी फैलिन थालेको, गाउँमा मानिसहरु बिरामी पर्न थालेको धेरै लामो समय भएको छैन, वैशाखमा बिहेवारी धेरै भयो, भीडभाड हुने गतिविधिमा सबै गाउँले सरिक भए,’ उनले भने, ‘त्यसबाटै सर्बत्र कोरोना संक्रमण फैलिन थाल्यो।’
अहिले गलकोट नगरपालिकाको वडा नम्बर २ नरेठाटीमा मात्रै ४२ जना सक्रिय संक्रमित छन् भने काठेखोलाको धम्जामा पनि ३० भन्दा बढी संक्रमित छन्। एकै वडामा दर्जनौको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो साताको संक्रमण दर हेर्दा संक्रमण डरलाग्दो रूपमा फैलिएको स्वयंसेवी नर्स नितु खड्काले बताइन्। ‘हामी कोरोना संक्रमितको अवस्था बुझ्न र उनीहरुलाई स्वास्थ्य परामर्श र औषधि प्रदान गर्ने अभियान लिएर बानपाका केही गाउँका संक्रमित र काठेखोलाका सक्रिय संक्रमितहरुलाई भेट्न पुग्दा संक्रमित पुष्टि भएकाहरु क्रमश: निको हुने चरणमा पुगेको पायौँ,’ उनले भनिन्, ‘तर संक्रमित भएकाहरु सुरक्षित भएर आइसोलेशनमा नबस्दा परिवारका अन्य सदस्यहरुमा सरेको देखियो, अहिले अधिकांश संक्रमित परिवारका अन्य सदस्य लक्षणसहित बिरामी अवस्थामा छन्।’
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षित आइसोलेशनमा नबस्दा भएको बताए। ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरबाही कारक छ,’ उनले भने, ‘खाना एकै ठाउँमा बसेर खाने र सौचालय पनि एउटै प्रयोग गर्ने समस्याले पनि संक्रमण बढेको देखिन्छ, एउटै परिवारमा एक जनालाई भएपछि पूरै परिवार आइसोलेशनमा बस्नु पर्दछ, यसमा सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ।’
परिवारका एक सदस्य संक्रमित भएर उनीहरु घुलमिल हुने भएकाले १० दिनसम्म परिवारका सबै सदस्य होम आइसोलेशनमै बस्नुपर्नेमा गुरौंले जोड दिए। संक्रमित र पीसीआर दिएकाहरु पनि डुल्ने घुम्ने, संक्रमित नभएकाहरु पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेर हिँड्दा समस्या बढ्दै गएको उनको भनाई छ।