वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढ्दै

वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढ्दै

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा डिजिटल कारोबार बढिरहेको छ। तर सहकारी क्षेत्रमा डिजिटल कारोबार अझै सुरु हुन सकेको छैन।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआरकोडबाट दिनप्रतिदिन डिजिटल कारोबार भइरहेको छ। तर सहकारी क्षेत्रले निर्वाधरूपमा प्रविधि प्रयोग गर्न पाएका छैनन्। केही सहकारीले जबर्जस्ती डिजिटल कारोबार सुरु गरे पनि सदस्यले निकै कम मात्रै डिजिटल कारोबार गरेको पाइएको छ। 

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिना अवधिमा तीन गुणा बढीले मोबाइल बैंकिङमार्फत डिजिटल कारोबार गरेका छन्। साउनमा १८ अर्ब ३९ करोड रुपैयाँ मोबाइल बैंकिङमार्फत कारोबार भएकोमा चैत्रमा ४८ अर्ब ६५ करोडको कारोबार भएको छ। 

साउनमा १ खर्ब ५६ अर्ब आईपीएसमार्फत कारोबार भएकोमा चैत्रमा २ खर्ब ११ अर्बको कारोबार भएको छ। साउनमा ७ अर्ब ५७ करोड वालेटबाट कारोबार भएकोमा चैत्रमा ११ अर्ब कारोबार भएको छ। इन्टरनेट बैंकिङबाट साउनमा ३ अर्ब कारोबार भएकोमा चैत्रमा १० अर्ब २१ करोड कारोबार भएको छ। क्यूआरकोड साउनमा उल्लेख्य कारोबार भए पनि चैत्रमा ह्वात्तै घटेको छ। साउनमा २ अर्बको कारोबार हुँदा चैत्रमा ७२ करोडको मात्रै कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा क्यूआरकोड नयाँ प्रविधि मानिन्छ। 

तर सहकारीमा कति कारोबार भयो भन्ने यकिन तथ्यांक छैन। सहकारीको नियामक निकायले प्रविधि प्रयोगमा प्रोत्साहन गरेको पाइँदैन। विभागले प्रविधि प्रयोग गर्न कुनै संरचना नबनाएकाले सहकारीले अरू कम्पनीसँग सम्झौता गरी डिजिटल कारोबार सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्था ऐनले सहकारी चिन्दैन। यता विभागले सहकारीको क्षमता बढाउन ध्यान नदिएको सहकारीकर्मीको गुनासो छ। विभागका रजिस्ट्रार लीलाप्रसाद शर्माले सहकारीमा डिजिटल कारोबार प्रयोगमा विभागको ध्यान पुगेको बताए। 

सहकारीमा प्रविधिको प्रयोग बढाउन अन्तर सहकारी कारोबार कार्यविधिले सघाउने उनले बताए। कार्यविधिको मस्यौदा तयार भए पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृति भएको छैन। डिजिटल कारोबार, प्रविधिको प्रयोग, नियमन र सुधारलगायतका क्षेत्रमा सरकारले चासो नदिएकाले सहकारी क्षेत्र कमजोर हुनुका साथै विकृति पनि बढेको छ। सहकारीलाई आउने आर्थिक वर्षमा चेक क्लिरियन्सको सुविधा दिने तयारी भएको रजिस्ट्रार शर्मा बताउँछन्। कानुनी अस्पष्टताका बाबजुद पनि पछिल्लो समयमा सहकारीले प्रविधि प्रयोगलाई जोड दिन थालेको पाइएको छ। डिजिटल कारोबार गर्न सहकारी उत्साहित देखिए पनि कतिपयले फेसनको रूपमा लिइरहेका छन्।  केही सहकारीले एटीएम, मोबाइल बैंकिङ, क्यूआरकोडलगायत डिजिटल कारोबार सुरु गरे पनि ती संस्थाका सदस्यले प्रविधि प्रयोगमा उत्साह देखाएका छैनन्। 

इन्फो डेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले डिजिटल कारोबारमा सहकारीको चासो बढ्न नसकेको बताउँछन्। मोबाइल बैंकिङ, एटीएमलगायत प्रविधि प्रयोग गर्ने सहकारीको केही संख्या बढे पनि सदस्य र सहकारीको संख्याको अनुपातमा सहकारीमा डिजिटल कारोबार हुन सकेको छैन।  सहकारी अब डिजिटल डिपेनिङमा जानुपर्ने भए पनि त्यसतर्फ उनीहरूको रुचि नभएको उनले बताए। ‘सबै सदस्यलाई सिकाउँदै प्रविधि प्रयोगमा अभ्यस्त बनाउनुपर्छ’ उनले भने,‘ गुणस्तरीय सेवा दिन सहकारीले प्रविधि प्रयोगमा कञ्जुस्याइँ गर्न हुन्न।’ कतिले सदस्यलाई प्रविधिमैत्री सेवा दिनेभन्दा पनि फेसनको रूपमा मोबाइल बैंकिङ र एटीएमलाई लिएको उनले बताए। 

देशभर एटीएम  प्रयोग गर्ने सहकारी दुई सयभन्दा बढी भएको बताइन्छ। त्यस्तै मोबाइल बैंकिङ प्रयोग गर्ने त्योभन्दा बढी छन्। देशभर ३० हजार सहकारी छन्। सहकारी क्षेत्रमा प्रविधि प्रयोग निकै कम छ।  राष्ट्रिय सहकारी महासंघले सहकारीलाई प्रविधिसँग जोड्दै डिजिटल कारोबार बढाउने प्रयत्न गरे पनि गाइडलाइन बनाउन सकेको छैन। सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धरले सामान्य अवस्थामा दैनिक एक करोड कारोबार हुँदै आएकोमा निषेधाज्ञाका क्रममा डिजिटलमार्फत दैनिक तीन लाख कारोबार भइरहेको बताए।  ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध सञ्चालक मधुसूदन पाठकले दैनिक ४०–५० लाखसम्म डिजिटल कारोबार हुने गरेको बताए। संस्थाका २ हजार २ सय सदस्यले डिजिटल कारोबार गर्छन्। त्यस्तै नेचुरल बचत तथा ऋण सहकारी संस्थाबाट  दैनिक दुई हजार जनाले ५० लाखसम्म डिजिटल कारोबार गर्ने गरेको प्रमुख कार्यकारी अधिकृत विकल्प पाठकले बताए। 

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पछि बैंक तथा वित्तीय संस्थामा डिजिटल कारोबार उल्लेख्य बढेको छ। साथसाथै निषेधाज्ञापछि सहकारीले पनि डिजिटल कारोबारमा चासो देखाउन थालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.