घर भत्किँदा च्यापिएर मृत्यु
दैलेख : बिहीबार रातिदेखि परेको अबिरल वर्षाले घर भत्किँदा दैलेखमा एकजनाको ज्यान गएको छ । जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोटस्थित बालेसैनीकी ६२ वर्षीया वृद्धा लक्ष्मी थापाको मृत्यु भएको हो । वर्षात्ले घर भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।
अबिरल वर्षातले दुई तले मुण्डा घरको (माटोले छाएको घर) बरण्डा भत्काएको प्रहरीले जनाएको छ । लक्ष्मीका तीनजना नातीनतिना र छोरा भने सकुशल रहेको प्रहरी निरीक्षक सुनारले बताए । घरमा लक्ष्मीसहित तीन नातीनातिना र एक छोरा थिए ।
घर भत्किँदा च्यापिएर ज्यान गुमाएकी लक्ष्मी केहि दिनअघि देखिज्वरो आउनेलगायतका स्वास्थ्य समस्याले थलिएकी थिइन् । शुक्रबार बिहान स्थानीय एक मेडिकलमा सामान्य चेकजाँच र उपचार गरेर घर फर्किएकी थिइन् । मेडिकलबाट फर्किएर घरको बरण्डामा बसेकी लक्ष्मी एक्कासी घरको बरण्डा भत्किँदा च्यापिएकी थिइन् ।
दैलेखमा बिहीबा रातिदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण केहि सडकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।