म्यानमार निर्वाचन आयोगले विघटन गरिदियो आन सान सू चीको पार्टी
रंगुन: म्यानमारमा यहाँको सैन्य सरकारले गठन गरेको निर्वाचन आयोगले स्वतन्त्रतावादी नेत्री आन सान सू चीको पार्टी नेश्नल लीग फर डेमोक्रेसी एनएलडीलाई विघटन गरेको छ ।
गत वर्षको नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेको आरोप लगाउँदै आयोगले उक्त शक्तिशाली पार्टीलाई विघटन गरेको हो । म्यानमारका मिडियाका अनुसार उक्त आयोगको बैठक अन्य धेरै राजनीतिक दलहरुले वहिस्कार गरेका थिए ।
आयोगका प्रमुख आयुक्त थेयन सोका अनुसार एनएलडीले चुनावमा धाँधली गरेकाले उक्त पार्टीको दर्ता खारेज गरिएको हो । चुनावमा धाँधली गर्ने अन्य पक्षलाई पनि कारवाही गरिने सोले बताए ।
यस घटनाबारे एनएलडीका नेताहरुले भने हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको थियो । आन सान सू ची सहित थुप्रै नेतालाई सेनाले पक्राउ गरेपछि सैनिक सत्ता विरोधी आन्दोलन निरन्तर रुपमा चलिरहेको छ ।
आन्दोलन दबाउन सेना भने झन् आक्रामक रुपमा प्रस्तुत भएको छ । फेब्रुअरीदेखि हालसम्म सेनाको आक्रमणबाट ८०० भन्दा धेरै मारिएका छन् । यसबीचमा जातीय सशस्त्र समूहले समेत सुरक्षाकर्मीमाथिको आक्रमण तिब्र बनाएका छन् ।