रोनाल्डोको कप्तानीमा पोर्चुगिज टिम
लिस्बन : अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि साबिक विजेता पोर्चुगलले राष्ट्रिय टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक फरनान्डो सान्तोसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका हुन्।
रोनाल्डोसँगै स्ट्राइकरमा जाओ फेलिक्स, बर्नार्डो सिल्भा, डिएगो जोटा, आन्द्रे सिल्भालगायत छन्। सन् २०१६ मा फ्रान्सलाई हराउँदै युरो च्याम्पियन बन्दा रोनाल्डोले चोटका कारण फाइनल खेल पूरै समय खेल्न पाएका थिएनन्।
उनले पूरै समय खेल खेल्न नसके पनि पोर्चुगलले अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो। पोर्चुगलका लागि १०३ गोल गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न ६ गोलले मात्र टाढा छन्। इराकका अली देइले १०९ गोल गरेका छन्।
यस्तै मिडफिल्डरमा ब्रुनो फर्नान्डेज, रुबेन नेभेस, जाओ माउटिन्हो, रेनाटो सान्चेजलगायत छन्। रक्षकमा भेट्रान पेपेसहित हालै म्यानचेस्टर सिटीबाट इङ्लिस प्रिमियर लिग विजेता टोलीका रुबेन डियास र जाओ कान्सेलोसहित जोस फोन्ट, राफेल गुरेइरोलगायत छन्। गोलरक्षकमा पाँच वर्षअघि युरोकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका रुई प्याट्रिसियो, एन्टोनी लोपेज र रुइ सिल्भा छन्।
युरो कपमा पोर्चुगल यसपटक कठिन समूहमा परेको छ। समूह एचमा पोर्चुगलसँगै साबिक उपविजेता फ्रान्स, जर्मनी र हंगेरी छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ। यस पटकको युरोकप युरोपका विभिन्न ११ सहरमा आयोजना हुँदैछ।