गुडबाइ ! राजेन्द्र सर !
नेपाली भाषा, साहित्यका बहुआयामिक व्यक्तित्व, बहुविधाका स्रष्टा एवं वरिष्ठ समालोचक, उच्च बौद्धिक एवं प्राज्ञिक व्यक्तित्व, प्राध्यापक राजेन्द्र सुवेदी हामीबिच हुनुहुन्न भन्दा पत्याउनै गाह्रो परेको छ। नपत्याउँदा पनि धरै छैन किनकि सत्य यही हो, अब उहाँ हामीबिच हुनुहुन्न। संसारभरि फैलिएको कोरोना महामारीले जेठ ३ गते उहाँलाई पनि कालकवलित बनायो। उहाँकै शब्द सापटी लिएर भन्दा हामी उहाँलाई पनि ‘गुडबाइ’ राजेन्द्र सर ! भन्न बाध्य भएका छौँ।
७६ वर्षको उमेर हुँदासम्म पनि केही समयअघि मात्र मधुमेयबाहेक कुनै रोगले चियाउन नसकेका उहाँ अन्त्यसम्म नै अत्यन्त सक्रिय जीवन बिताइरहनुभएको थियो। अग्लो कद, सलक्क परेको शरीर, ठाडो शिर अनि खरो भए पनि दयालु स्वभावका राजेन्द्र सरले यति छिटै संसार छोडेर जानुहुन्छ भन्ने कसैलाई लागेको थिएन। केही दिनअघि टेलिफोन सम्पर्क हुँदा ‘अलिकति अस्वस्थ छु टाउको साह्रै दुखिराछ’ भन्नुभएको थियो। त्यसपछि ह्याम्स अस्पतालबाट घर र फेरि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहेकै अवस्थामा अचानक उहाँले हामीलाई छाडेर जानुभयो। अब साहित्यिक कार्यक्रम, गोष्ठी, प्राध्यापन, अनुसन्धान, व्यस्थापकीय जिम्मेवारी, भेला आदिमा कतै उहाँलाई सशरीर देख्न पाइने छैन।
कहीँ वक्ता भएर उच्च स्वरमा बोलिरहेको, कुनै कृतिमाथि प्रखर रूपमा समीक्षात्मक मन्तव्य राखिरहेको, प्रमुख अतिथिका आसनबाट कसैलाई सम्मान–पुरस्कार दिइरहेको, कीर्तिपुर, रत्नराज्य वा कोटेश्वरमा विद्यार्थीलाई मख्ख पारेर पढाइरहेको वा घरको कोठामा छरपस्ट किताब फिजाएर कार्यपत्र वा कुनै पुस्तकको पाण्डुलिपि तयार गरिरहेको अवस्थामा पनि उहाँलाई देख्न पाइने छैन। यस्तै कसैको कृतिमाथि भूमिका लेखिरहेको वा कुनै कृतिको सम्पादन गरिरहेको वा कुनै पत्रिकाका लागि लेख लेखिरहेको वा विद्यावारिधि, एमफिल र स्नातकोत्तर तहहरूका शोधग्रन्थ र शोधपत्रको निर्देशन वा मूल्याङ्कन गरिरहेको पनि कतै केहीमा पनि अब भेटिने छैन।
राजेन्द्र सुवेदी नेपाली भाषासाहित्यका विशिष्ट प्रतिभा हुनुहुन्छ। शैक्षिक, प्राज्ञिक एवं प्रशासनिक क्षेत्रमा यति धेरै व्यस्त भएर पनि उहाँको कलम सिर्जना र समालोचना दुवै क्षेत्रमा समानान्तर रूपमा चलेको पाइन्छ। नेपाली बौद्घिक जगत्ले भने उहाँलाई समालोचक र निबन्धकारकै रूपमा बढी चिन्दछ।
कीर्तिशेष हुनुभएकाले भौतिक शरीर नरहे पनि नेपाली भाषा–साहित्य, संस्कृति र शैक्षिक–प्राज्ञिक क्षेत्रमा उहाँले दिनुभएको योगदान भने नमेटिने रूपमा छ। उहाँसँग मेरो जन्मथलोको निकटताका साथै नातागत सम्बन्ध पनि छ। म तेह्रथुम र उहाँ पाँचथरको, जिल्ला फरक भए पनि तमोर नदीको वारिपारिका आमनेसामनेका गाउँ हुन् हाम्रा। उहाँको ससुराली गाउँ र मेरो मावली गाउँ (पाँचथर सुभाङ) एउटै हो। उहाँले २०१४ सालमा प्रारम्भिक संस्कृत शिक्षा लिएका सिद्वा श्रीचम्पाका माधव भण्डारी जो ‘सानागुरु’ का नामले प्रसिद्ध हुनुहुन्थ्यो। उहाँका पनि आफन्त र मेरा पनि आफन्त अनि दुवैका गुरु (आमाका मामाका छोरा– मेरा मामा, मैले पनि पछि सानागुरुसँग प्रारम्भिक संस्कृत व्यारणको शिक्षा लिएँ) एउटै अनि उहाँका सानाबुबा वनारस पढ्दाका अभिभावक डा.डिल्लीराम तिम्सिना मेरा पनि वनारस बस्दाका मार्गदर्शक गुरु एउटै भएकाले पनि हाम्रो भावनात्मक सम्बन्ध थियो।
मेरा गुरुपुस्ताका व्यक्ति भए पनि म २०४१ सालमा स्नातकोत्तर तह पढ्न कीर्तिपुर आउँदा उहाँ इलाम क्याम्पसमा क्याम्पस प्रमुख भएर जानुभएकाले उहाँसँग पढ्ने अवसर भने मलाई प्राप्त भएन। पछि २०५२ सालमा रत्नराज्यमा हामीले स्नातकोत्तर कक्षा खोलेपछि उहाँले निकै समय त्यहाँ पढाएर सहयोग गर्नुभयो। उहाँको प्रभावकारी शिक्षण कलाबाट भने म सुपरिचित छु। उहाँ पाँचथरको अमरपुर आङ्बुङ्, हालको याङ्रूप गाउँपालिकाको पानीसारा चाँपाबोटेमा पिता पद्मप्रसाद सुवेदी र माता राधिका सुवेदीका ज्येष्ठ सुपुत्रका रूपमा २००२ साउन १९ गते जन्मनुभएको हो। उहाँले प्रारम्भिक शिक्षा पिताजीबाट ९ वर्षकै उमेरमा चण्डी, रुद्री, वेद, ज्योतिष र कर्मकाण्ड पढी लिनुभएको थियो। यसपछि सानागुरुसँग संस्कृत व्याकरण र २०१६ मा केही समय गाउँकै आदर्श प्रेम मिडिल स्कुल र पछि सानागुरुले बाहिर गएर पढ्ने सल्लाह दिएपछि कालिङ्पोङको कुमुदिनी होम्सबाट २०२३ सालमा कक्षा एघार र सोहीबेला पश्चिम बङ्गालको संस्कृत शिक्षा परिषद्बाट पनि प्रमाण पत्र तह उत्तीर्ण गर्नुभयो।
त्यतिबेला सुवेदीले त्यहाँ रहँदा कर्मकाण्डीय पेसा र ट्युसन पढाएर खर्च धानेको पाइन्छ। यसपछि उहाँले वनारसबाट २०२७ सालमा डा. तिम्सिनाको अभिभावकत्वमा रहेर स्नातक र २०३० सालमा त्रिविबाट नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभयो। विद्यावारिधि गर्ने धोको भने उहाँको पूरा भएन तर उहाँले थुप्रै विद्यार्थीलाई शोधनिर्देशक भएर विद्यावारिधि गराउनुभयो। स्नातकोत्तर तह उत्तीर्ण गरेपछि २०३१ असोजमा इलामको महेन्द्ररत्न क्याम्पसमा सहायक प्राध्यापक पदमा नियुक्ति पाउनुभयो। २०३५ सालसम्म त्यहाँ अध्यापन गराएर त्रिचन्द्र क्याम्पस काठमाडौंमा सरुवा भई एक वर्ष अध्यापन गर्नुभयो। त्यसपछि २०६८ साल अर्थात् निवृत्त नहुँदासम्म निरन्तर नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत रही नेपाली विषयको पठनपाठन र उन्नयनका निम्ति समर्पित रहनुभयो।
सुवेदी विभागीय प्रमुख (२०६४–६८) भएको बेला नेपाली विषयमा एमफिल कार्यक्रम सुरु भयो भने विषय समितिको अध्यक्ष भएर कार्य गर्दा पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण र नेपाली विषयको स्तरोन्नतिका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नुभयो। यस क्रममा उहाँले इलाम र कोटेश्वर क्याम्पसमा क्याम्पस प्रमुख भई शैक्षिक प्रशासन पनि सञ्चालन गर्नुभयो। उहाँले रत्न राज्यलक्ष्मी क्याम्पसमा २०५२ सालमा सुरु भएको नेपाली स्नातकोत्तर कार्यक्रमलाई सफल बनाउन केही वर्ष प्राध्यापन गरेर सहयोग गर्नुभयो। यसअघि २०१९ सालमा गाउँकै सिंहदेवी प्राथमिक विद्यालयमा केही समय स्वयंसेवक शिक्षकका रूपमा र त्यसपछि पञ्चमी विद्यालयमा प्राथमिक शिक्षकका रूपमा नियुक्त भएर काम गर्नुभयो। वनारसबाट स्नातक गरेर फर्केपछि फेरि २०२७ सालमा केही समय ताप्लेजुङ सिनामस्थित मावली गाउँको विद्यालयमा शिक्षण गर्नुभयो। उहाँले २०५४–५५ मा गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक भएर पनि कार्य गर्नुभयो। यसरी उहाँको निकै लामो शैक्षिक, प्राज्ञिक एवं प्रशासनिक योगदान नेपाली जगत्ले पाएको छ।
राजेन्द्र सुवेदी नेपाली भाषासाहित्यका विशिष्ट प्रतिभा हुनुहुन्छ। शैक्षिक, प्राज्ञिक एवं प्रशासनिक क्षेत्रमा यति धेरै व्यस्त भएर पनि उहाँको कलम सिर्जना र समालोचना दुवै क्षेत्रमा समानान्तर रूपमा चलेको पाइन्छ। बौद्धिक जगत्ले भने उहाँलाई समालोचक र निबन्धकारकै रूपमा बढी चिन्दछ। प्रगतिशील विचार र चिन्तन बोकेका सुवेदीका विविध विधाका गरी चार दर्जनजति कृति प्रकाशित छन्। प्रकाशनका हिसाबले उहाँको सिर्जन यात्राको प्रारम्भ भने कथाबाट भएको पाइन्छ। रमेश शुभेच्छुका अनुसार कालिङ्पोङको मञ्जरी पत्रिकामा २०२४ सालमा छापिएको ‘हातेब्याग’ कथा उहाँको पहिलो प्रकाशित रचना हो। यसपछि उहाँको यो आख्यान यात्रा सुद्युम्न (२०३१) र स्वप्न संसार (२०३४) उपन्यासमा विस्तारित भयो र पूर्णविराम पनि लाग्यो।
प्रकाशनका हिसाबले उहाँको दोस्रो विधा कविता हो। २०२५ सालमा वनारसमा रहँदा मञ्जरीमा प्रकाशित ‘जीवन के हो ?’ कविताबाट उहाँको कविता यात्रा र २०२६ सालमा वनारसबाटै प्रकाशित समर्पण पत्रिकामा छापिएको ‘युवकको उद्देश्य’ निबन्धबाट निबन्ध यात्रा तथा २०२९ सालमा गोरखापत्रमा प्रकाशित ‘कथाकार भिक्षुको धरातल’ समीक्षाबाट समालोचना यात्रा अगाडि बढेको पाइन्छ। उहाँको कविता यात्रा बृहत् रूप महाकाव्यसम्म विस्तारित छ। सुवेदीको निबन्धकार व्यक्तित्वसँग नेपाली साहित्य जगत् बढी परिचित रहे पनि उहाँको कवित्व पनि निबन्धजस्तै सशक्त छ। उहाँले कविताका फुटकर रूपदेखि महाकाव्यसम्मको सिर्जन यात्रा गर्नुभएको छ। उहाँका आत्मनिर्माण (२०७०) र आरोहण (२०७४ संयुक्त) महाकाव्य प्रकाशित छन्। त्यस्तै उहाँका सयौंको सङ्ख्यामा फुटकर कविताहरू पत्रपत्रिका र सङ्कलनहरूमा छन्। सुवेदी शास्त्रीय छन्दमा सुललित कलासहित उच्च वैचारिक कविता लेख्ने कवि हुनुहुन्छ।
निबन्ध उहाँको दोस्रो मुख्य साधनाको विधा हो। उहाँका खाली सिसी पुराना कागज (२०४८), मेरो यात्रा मेरै परिवेशभित्र (२०५३), अब मेरो क्यासेट बन्द हुन्छ (२०५६), गुडबाई छोडिजानेहरूलाई (२०६५), म हुँ औंला नकाटिएको एकलव्य (२०६५), निबन्ध किसोर (२०६९), सम्राटको सीमाभित्र र बाहिरका भानुभक्त (२०७१), तीर्थ पर्यटन (२०७१), जीवन : गोप्य सिलबन्दी खाम (२०७१) गरी नौओटा सङ्ग्रहमा विस्तारित छ। नेपाली निबन्ध परम्परामा उहाँका संस्मरणात्मक, हास्यव्यङ्ग्यात्मक र चिन्तनप्रधान निबन्धहरू उत्कृष्ट र उल्लेख्य मानिन्छन्।
समीक्षात्मक कृतितर्फ उहाँका विषय गहन सतह चिन्तन (२०३८), स्रष्टासृष्टि द्रष्टादृष्टि (२०४३), समवर्ती साहित्यकार र झपटबहादुर राणा (२०४८), केही समीक्षण, केही विश्लेषण (२०४९), नेपाली उपन्यास परम्परा र प्रवृत्ति (२०५३), सृजन विधाका परिधिमा पारिजात (२०५३), सृजन विधाका परिधिभित्र ध्रुवचन्द्र गौतम (२०५४), सृजनात्मक लेखन : सिद्धान्त र विश्लेषण (२०५७), नेपाली समालोचना परम्परा र प्रवृत्ति (२०६१), काव्य निबन्ध केन्द्रका देवकोटा (२०६६), चलचित्र सिद्धान्त र नेपाली चलचित्र (२०६९), समसामयिक नेपाली उपन्यासको अध्ययन (२०६९), सांस्कृतिक अध्ययन र नेपाली साहित्य (२०७२), समसामयिक नेपाली उपन्यासका प्रवृत्ति (२०७२)जस्ता महत्त्वपूर्ण समीक्षात्मक कृतिहरू प्रकाशित छन्। सुवेदीको समीक्षा यात्रा सिर्जनयात्रासँगै निरन्तर प्रतिस्पर्धी बनेर अगाडि बढेको पाइन्छ।
राजेन्द्र सुवेदीको अन्वेषक र सम्पादक व्यक्तित्व पनि प्रखर छ। उहाँका सम्पादित कृतिहरूमा समसामयिक साझा कथा (सहसम्पादन, २०४१), गौतमका प्रतिनिधि कथा (२०४१), दाडिमको रुखनेर (देवकोटाका निबन्ध, २०४१), स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (देवकोटाका समीक्षा, २०४३), नेपाली हास्यव्यङ्ग्य निबन्ध (सहसम्पादन, २०४६), स्नातकोत्तर नेपाली निबन्ध (२०५१), डिल्लीराम तिम्सिना स्मृति ग्रन्थ (२०५४), चालिसको दशकका नेपाली कविता (सह. २०५१), सूक्तिसिन्धु (पुनः सम्पादन, २०५५), रामायण सम्मेलन (२०५७), सुवेदी वंशावली (२०६३), प्रियदर्शिका (पुनः सम्पादन, २०६३), नेपाली निबन्ध र अन्य विधा (भाग दुई, २०६७), रत्न बृहत् नेपाली समालोचना (सहसम्पादन, २०६९), जुगल सैद्धान्तिक नेपाली समालोचना (२०७१), डा. वासुदेव त्रिपाठी : स्रष्टा एक द्रष्टा अनेक (सहसम्पादन, २०७०) र समालोचकका आँखामा हरिहर खनाल (सहसम्पादन, २०७०), समालोचना वृत्तमा खेमनाथ दाहाल (२०७२), सङ्गीत चन्द्रोदय (२०७२), स्रष्टा होम : द्रष्टा अनेक (२०७२) आदि छन्। यी सम्पादित कृतिहरू केही पाठ्य सामग्रीसँग, केही विधाविशेषसँग र केही व्यक्ति विशेषसँग सम्बन्धित छन्।
प्रतिष्ठित प्राध्यापक, कुशल व्यवस्थापक एवं विशिष्ट निबन्धकार र मूर्धन्य समालोचक सुवेदीले साहित्यका विविध विधामा कलम चलाउनु भयो तर उहाँको मुख्य साधनाको क्षेत्र भने समालोचना र निबन्ध नै रह्यो। वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको उहाँका बारेमा मूल्याङ्कन यस्तो छ, ‘...उहाँको निबन्धकारिता आत्मपरक र प्राञ्जल गद्यशैलीका सँगसँगै आत्मव्यङ्ग्यकारिता पनि सूक्ष्म व्यङ्ग्य उपहासको ऊर्जाबाट पनि परिचालित छ भने उहाँ आफ्नै पहिचान र नवशैली भएका निबन्धकारका रूपमा स्थापित हुनुहुन्छ।’ ‘...परिणाम र गुणस्तर दुवै दृष्टिले उहाँ नेपाली साहित्यका आधिकारिक र प्रामाणिक रूपमा प्रतिष्ठित वरिष्ठ समालोचक हुनुहुन्छ। समालोचकीय तथ्याङ्कन र व्याख्याविश्लेषणका साथै मूल्यनिर्णयको प्रामाणिकता र विश्वसनीयता उहाँका समालोचकीय प्राप्ति हुन्।’ (‘शुभेच्छु’– राजेन्द्र सुवेदीका आयाम, २०७२)।
अन्त्यमा ‘राजेन्द्र सर ! तपाईँले नेपाली भाषा साहित्यमा दिनुभएको योगदान सधैँ चिरस्मरणीय रहने छ’ भन्दै कीर्तिशेष आदरणीय गुरु राजेन्द्र सुवेदीप्रति हार्दिक श्रद्धाञ्जलिस्वरूप यो संक्षिप्त लेख समर्पण गर्दछु।